शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा पर्यटक आकर्षित गर्न सङ्गीत सन्ध्या,अव्यवस्थित पसलटहरा हटाइँदै

बुधबार, ०१ माघ २०७६, २० : १८
बुधबार, ०१ माघ २०७६

काठमाडौं । नेपाल भ्रमण वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषले नाद सङ्गीत पाठशालासँगको सहकार्यमा मासिक रूपमा सङ्गीत सन्ध्या आयोजना गर्न थालेको छ । 

माघे सङ्क्रान्तिदेखि प्रत्येक महीनाको १ गते बेलुकी विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षित गर्न सङ्गीत सन्ध्या आयोजना गरेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।

सङ्गीत सन्ध्यामा भजन, भक्तिसङ्गीतका माध्यमबाट पर्यटन प्रवद्र्धन गरिने जनाइएको छ । 
 
सङ्गीतसन्ध्या नाद सङ्गीत पाठशाला परिसरमा आयोजना गरिने जनाइएको छ । सङ्गीत सन्ध्याका माध्यमबाट नेपालको मौलिक संस्कृति यहाँ पर्यटकलाई जानकारी गराउने कोषको लक्ष्य छ । 

 अव्यवस्थित पसलटहरा हटाइँदै     
 
कोषले पशुपति क्षेत्रका विभिन्न स्थानमा स्वीकृति बेगर राखिएका फूललगायतका पसल हटाउने भएको छ । 

कोषले आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र पशुपति क्षेत्रका वनकाली, भकुण्डोल, मृगस्थली, कैलाशडाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसल सात दिनभित्र हटाउन आह्वान गरेको हो ।
  
सात दिनभित्र नहटाए कानून बमोजिम कोषले नै हटाउन शुरु गर्ने सूचनामा उल्लेख छ । स्वीकृति नलिइ राखिएका पसलले पशुपति क्षेत्र आउने पर्यटकलाई असहज भएको, पवित्र धार्मिकस्थलको सौन्दर्यमा कमी आएकाले हटाउन निर्देश गरिएको जनाइएको छ । 

पञ्चदेव पछाडिका २६ पसलमात्र कोषको स्वीकृतिमा सञ्चालनमा छ । पशुपति क्षेत्रमा करीब २०० पसल टहरा बनाएर सञ्चालन गरिएकोले तीर्थयात्री एवं पर्यटकलाई हिँडडुलमा असहज हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप