पौने दुई लाख केजी रक्तचन्दन भारत फिर्ता लैजान स्वीकृति
काठमाडौं । सरकारले लामो समयदेखि सड्ने अवस्थामा पुगेको करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिएको छ । सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम सो स्वीकृति दिएको हो ।
सो निर्णय गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक गरेको निर्णयअनुसार जम्मा एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिइएको हो ।
सो रक्तचन्दन विभिन्न समयमा अवैधरुपमा चीन लैजान खोज्दा बरामद भएको हो । बरामद रक्तचन्दन १२ वर्षदेखि बबरमहलस्थित वन विभाग, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा कडा सुरक्षाका साथ राखिएको छ । सबैभन्दा बढी परिमाण वन विभाग परिसरमा रहेको छ ।
वन तथा भू–संरक्षण विभागका अनुसार उक्त काठ भारतका आन्ध्र प्रदेश, कर्नाटक र तामिलनाडु राज्यबाट नेपालका विभिन्न सीमा नाका हुँदै चीनतर्फ तस्करी हुने क्रममा बरामद गरिएको हो ।
नेपाल सन् १९७५ जुन १८ मा साइटिसको पक्ष राष्ट्र बनेको हो । महासन्धिको व्यवस्थाविपरीत नेपाल प्रवेश गरेका रक्तचन्दन बरामद गरिएको थियो । ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७३’ ले बरामद रक्तचन्दनको सहज व्यवस्थापन गर्ने कानूनी बाटो खोलेको हो ।
ऐनबमोजिमको कार्यविधि पूरा नभई पैठारी भएको कारणले जफत भएको सङ्कटापन्न वनस्पति जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउन सकिने व्यवस्था छ ।
फिर्ता गर्दा लाग्ने खर्च त्यसरी फिर्ता लैजाने मुलुकले व्यहोर्नुपर्छ । नेपालबाट निर्णय भएको मितिले ९० दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वनस्पति वा सोको नमूना फिर्ता लैजानुपर्ने कानूनी व्यवस्था छ ।
कुनैबेला चीनतिर अवैधरुपमा लैजाँदै गरेको अवस्थामा दिनहुँ जस्तै रक्तचन्दन बरामद हुने गथ्र्यो । यसमा कडाइ गरिएपछि हाल भने रक्तचन्दनको तस्करी बन्द भएको छ । विसं २०६२ देखि २०७१ को अवधिमा मुलुकका विभिन्न स्थानबाट दुई लाख केजीभन्दा बढी रक्तचन्दन काठ बरामद गरिएको थियो ।
विभागका अनुसार नेपालमा पहिलोपटक २०६२ फागुन २ गते सिन्धुपाल्चोकमा रक्तचन्दन काठ बरामद गरिएको थियो । यसैगरी पछिल्लोपटक २०७१ साल भदौ २१ गते रसुवामा ६४ किलोग्राम रक्तचन्दन बरामद भएको विभागको अभिलेखमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन चुलियो, ऐन जारी गर्न माग
-
सांसद घर्तीमगरको प्रश्न : निजामतीमा उदासिन सरकारलाई भूमि विधेयक ल्याउन किन हतार भयो ?
-
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश
-
जेनजी पुस्तालाई वर्षमान पुनका तीन सुझाव
-
जयपुरस्थित क्रिकेट स्टेडियमलाई बमले उडाउने धम्की
-
जेठ १ अर्थात् ऐतिहासिक विद्यार्थी एकता दिवस