चुनौती विश्लेषण गरेर सुरक्षामा खट्न निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चुनौतीको विश्लेषण गरेर सुरक्षामा खटिन मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
काठमाडौँको स्वयम्भूमा आज आयोजित ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्स’को समापन समारोहमा उहाँले व्यवसायिक क्षमता प्रदर्शन गर्नसमेत आग्रह गरे । उनले देशभर खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई देश र जनताको सेवा, सुरक्षा, सहयोग एवं आपतविपद्मा परेकाहरुको उद्धार कार्यमा व्यावसायिक ढङ्गले क्रियाशील रहनसमेत निर्देशन दिए ।
सो अवसरमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जनलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्स अवार्ड’ प्रदान गरिएको थियो । यस्तै सशस्त्र प्रहरी उपरीक्षक किरण ढुङ्गानालाई ‘बेस्ट रिसर्च अवार्ड’ प्रदान गरिएको थियो ।
कार्यक्रममा एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण गरिएको थियो । गतसाल असोजबाट शुरु भएको १६ महिने उक्त कोर्सको आज समापन गरिएको छ ।