विश्वकै दोस्रो अग्लो बञ्जीको सफल परिक्षण, संचालक राजुले गरे पहिलो जम्प (भिडियो सहित)
पर्वत– अग्ला र लामा झोलुङ्गे पुलका जिल्ला भनेर चिनिने पर्वत र बागलुङको बीचमा बग्ने कालीगण्डकी नदीमाथि बनेको बञ्जी जम्पको सफल परिक्षण भएको छ ।
पर्वतको सदरमुकाम कुस्मा बजारदेखि बागलुङ नगरपालिकाको बलेवा जोड्ने उक्त पुलमाथि निर्माण भएको ‘द क्लिफ बञ्जी’ विश्वकै दोस्रो अग्लो बञ्जी जम्प हो ।
द क्लिफ नेपाल प्रालिले २० करोडको लागतमा निर्माण गरेको उक्त बञ्जीको श्रीपञ्चमीको शुभसाइत पारेर सफल परिक्षण गरिएको हो । विश्वकै लामो झोलुङ्गे पुलमा निर्माण भएको बञ्जीमा प्रभु बैंकको समेत ऋण सहयोग रहेको छ ।
एशियाकै नमुना पुलमा गनिएको कालिगण्डकी नदिको खोँचमा बनेको उक्त झोलुङ्गे पुलको लम्बाई ५२५ मिटर रहेको छ भने खोलादेखि पुलको उचाई २२८ मिटर (७४८फुट) रहेको छ । पोखरा देखि ५५ कि.मी.को दुरीमा पर्ने कुस्माको उक्त पुलको डिजाइन भने आर. एण्ड डी. सेन्टर प्रालिका आर.के. मल्लिकले गरेका हुन् ।

हाल विश्वकै अग्लो बञ्जी मकाउमा ७६४ फिट उचाईमा रहेको छ । त्यसैगरी, स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा रहेको बञ्जी हालसम्म दोस्रो अग्लो बञ्जीको रुपमा रहे पनि कुस्मामा बनेको बञ्जी ७४८ फिट उचाइमा बनेसँगै स्वीट्जरल्याण्डको बञ्जी विश्वको तेस्रो अग्लो बञ्जीमा परेको छ ।
कुस्मा बागलुङमा रहेको ‘द क्लिफ बञ्जी जम्प’ भने प्राकृतिक पुलमा निर्माण भएको विश्वकै अग्लो बञ्जी भएको संचालक अध्यक्ष राजु कार्कीको दाबी छ । बञ्जीमा यसअघि ड्रम पठाएर परीक्षण गरिँदै आएकोमा बिहीबार मानिसले नै पहिलो पटक परीक्षण गरेका हुन् । बञ्जीका सञ्चालक अध्यक्ष राजु कार्कीले बञ्जीको शुभारम्भ गरेका थिए ।

२०७३ सालदेखि निर्माण कार्य शुरु भएको उक्त बञ्जीमा सञ्चालक अध्यक्ष राजु कार्की सहित युवराज जोशी, नेत्र प्रसाद पराजुली र फ्लोरेन्स कार्कीको संयुक्त लगानी रहेको छ ।
पहिलो जम्प गरेका कार्कीले आफ्नो अनुभव सुनाउँदै भने, ‘यो भन्दा अगाडी पनि धेरै पटक बञ्जी जम्प गरीसकेको छु मैले । तर यहाँको बञ्जीमा हुने फ्रि फल केही लामो भएकाले निकै आनन्ददायक छ । ६ सेकेण्डको फ्रि फल रहेको छ जसले आकाशमा उडेको आभास दिलाउँछ । दायाँ र बायाँ हरिया डाडा, तल कालिगण्डकी अनि सामुन्ने हिमाल हेर्दै जम् गर्दा भिन्दै अनुभुति भयो ।’ उनले भने, ‘कुस्मा बञ्जी स्वीङ र स्काई साइक्लिङका लागि विश्वकै सबैभन्दा ऊचाईमा अवस्थित बञ्जी हो ।’

अध्यक्ष कार्कीले बञ्जी जम्पका लागि आउने पर्यटकहरुलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘लभ कुस्मा’ रिसोर्ट सञ्चालनका लागि निर्माण कार्य भइरहेको बताए । रिर्सोटमा सबैजसो कोठाहरु टेन्टबाट बनाइँदैछ । २१ वटा सफारी टेन्टमा ७० जनाको क्षमता रहने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण