सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

घरमै बालिकामाथि चितुवाको आक्रमण

मङ्गलबार, ०४ चैत २०७६, ०८ : २७
मङ्गलबार, ०४ चैत २०७६

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरेको सो कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । 

घरमै रहेका बुबाआमाले होहल्ला गरेपछि चितुवा भागेको थियो । “छोरीलाई बाहिर राखेर एकैछिन घरभित्र पस्दा चितुवाले आक्रमण गर्न भ्याएको रहेछ”, प्रहरी निरीक्षक रेग्मीले भने, “होहल्लापछि थप घटना हुन पाएन ।”

आक्रमणबाट बालिकाको पेटमा सामान्य चोट लागेको छ । उनलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

गत फागुन २८ गते मात्रै चितुवाको आक्रमणबाट  बन्दीपुर गाउँपालिका–५ याम्पामा सात वर्षीय अनुप नेपाली घाइते भएका थिए ।

जिल्ला चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ । 

बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाको आक्रमण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिने प्रयास पनि गरेको छ । हालसम्म जिल्लामा सात  चितुवा नियन्त्रणमा लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप