शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू

मङ्गलबार, ०४ चैत २०७६, ११ : ५४
मङ्गलबार, ०४ चैत २०७६

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापन गर्न निर्देशन दिएको छ । 

समितिले कार्ययोजना लागु गरेका सामुदायिक वन उपभोक्ता समितिलाई मापदण्डमै रहेर व्यवस्थापन गर्न निर्देशन दिएको हो । 

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयको सहकार्यमा कैलाली र कञ्चनपुरका वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु गरेका सामुदायिक वन अनुगमन गर्दै अर्थ समितिले मापदण्ड मिचेका गुनासोहरु आइरहेकाले त्यस्तो गुनासो नआउने गरी काम गर्न निर्देशन दिएको हो । 

अर्थ समितिले दुईदिन लगाएर  कैलाली कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएका सामुदायिक वनहरुको स्थलगत अनुगमन गरेपछि त्यस्तो निर्देशन दिएको सभापति हर्कबहादुर कुवँरले बताए ।
 कुवँरले वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएका सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको अवधारणा अनुसार काम भइरहेको  बताए । अनुगमनका क्रममा केही वनमा व्यवस्थापनको कमजोरी देखिएको बताउँदै उनले  भने, ‘धेरैजसो वनमा वैज्ञानिक वनको अवधारणा अनुसार संरक्षण भइरहेको पाइएको छ ।’

वैज्ञानिक वन व्यवस्थापनको अवधारणा अनुसार अघिल्ला वर्षहरुमा कटानी गरिएका प्लटहरु पुनर्उत्पादन भएको छ । ‘वनमा सफाइ गरेको वनमा राम्रोसँग नयाँ विरुवा आएको छ,’ सभापति कुँवरले भने, ‘नयाँ विरुवा आएको ठाउँमा विरुवा हुर्किनका लागि काटछाँट गर्नुपर्ने देखिएको छ । अधिकांश वनमा मापदण्ड अनुसार काटानी भएर नयाँ विरुवा हुर्किरहेका छन् ।’

उपभोक्ता समितिले वनको आम्दानीबाट बाटो, पुल, स्कुल, खानेपानी, आयआर्जन लगायत विकास निर्माणका क्षेत्रमा लगानी गरेको उपभोक्ताहरुले जनाएका छन् । वैज्ञानिक वन व्यवस्थापनको बारेमा स्थानीय उपभोक्ता जानकार रहेकोले वनको संरक्षण र सम्बद्र्धनमा टेवा पुगेको उनले बताए ।

संघीय सरकारको नीति अनुरुप लागु भएको वैज्ञानिक वन व्यवस्थापनको अवधारणालाई प्रदेश सरकारले सघाउने समितिले जनाएको छ । अनुगमनमा गएका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा सदस्य प्रदेश सांसद् महेशदत्त जोशीले वर्षौदेखि संरक्षण गर्दै आएको वनमा रुखहरु उमेर पुगेर धोद्रिदै गएका रुखहरु निकाल्नुको विकल्प नरहेको बताए । उनले वनमै काठ कुहिन दिनु भन्दा निकालेर प्रयोग गर्नु राम्रो रहेको बताए । उनले पुराना रुख निकाल्दा नयाँ बोट आउने ठाउँ खुल्ने भएकाले वैज्ञानिक वनको अवधारणा ठीक रहेको बताए ।

डिभिजन वन कार्यालय कैलालीका अनुसार कैलाली जिल्लामा ६२ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापना कार्ययोजना लागु भएको छ । प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टका अनुसार सामुदायिक वनलाई ८ प्लटमा विभाजन गरी प्रत्येक प्लटलाई १० सेक्सनमा बाँडेर व्यवस्थापन गरिन्छ ।

उनले हरेक प्लटमा क्षेत्रफल र रुख संख्याको आधारमा काटिने रुखको संख्या निकाल्ने गरेको र माउ रुखलाई छोडेर रुख काट्ने गरेको बताए । उनले यसरी काटिएको सेक्सनमा नयाँ विरुवा आउनका लागि वातावरण तयार हुने गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप