शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सापटी मागेर राउटेलाई भत्ता

शुक्रबार, २६ वैशाख २०७७, १४ : ०७
शुक्रबार, २६ वैशाख २०७७

सर्खेत । कोभिड–१९को जोखिम हुन नदिन जारी बन्दाबन्दीले समस्या भोगिरहेका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।  गाउँपालिकाले स्थानीय व्यवसायीबाट सापटी मागेर भत्ता वितरण गरेको हो । 

जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरु हाल यहाँको भेरीगङ्गा नगरपालिकाको छिन्चु नजिक बसाइँ सरेका छन् । गुराँस गाउँपालिकाले बस्तीमै पुगेर १५२ जना राउटेलाई चैत महिनाको भत्ता वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले लकडाउनका कारण दैनिकी चलाउन समस्या भएको खबर पाएपछि रु चार लाख ५६ हजार सापटी मागेर भत्ता वितरण गरेको बताए । सरकारले लोपोन्मुख जाति राउटेको सामाजिक सुरक्षाका लागि प्रतिव्यक्ति मासिक रु तीन हजार भत्ता दिँदै आएको छ । काठका भाँडाकुँडा बिक्री गरेर गुजारा चलाउने यो समुदाय लकडाउनका कारण थप समस्यामा परेको थियो । 

लकडाउनकै अवधिमा भत्ता पाएपछि राउटेहरु खुशी भएका छन् । मुखिया सूर्यनारायण शाहीले गाउँ जान नपाएका कारण आफूहरुले बनाएको सामान बिक्री नभएको बताए । ‘सामान त्यत्तिकै थन्किएका छन्, परिवार ठूलो छ, रासन धेरै चाहिन्छ, गाउँपालिकाले भत्ता दिएपछि राहत मिल्यो, खुशी छौँ’ उनले भने । भेरीगङ्गा नगरपालिकाले कोरोना सङ्क्रमण रोकथामका लागि राउटेहरुलाई आउजाउमा कडाइ गरेपछि खाद्यान्नको समस्या भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप