सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – फ्लोरेन्स नाइटिंगेलको जन्म, चीनमा ८ रेक्टर स्केलको भूकम्प

मङ्गलबार, ३० वैशाख २०७७, ०८ : १४
मङ्गलबार, ३० वैशाख २०७७

आज १२ मे । अन्तर्राष्ट्रिय नर्सिङ डेका रुपमा संसारभर मनाइन्छ । फ्लोरेन्स नाइटिंगेलको जन्म जयन्तीको सम्झनामा आजैका दिनलाई नर्सिङ डेका रुपमा मनाउन थालिएको हो । नाइटिंगेलको जन्म १२ मे, सन् १८२० र मृत्यु १३ अगस्ट सन् १९१० मा भएको थियो ।

इङल्यान्डकी सामाजिक सुधारक नाइटिंगेल नै आधुनिक नर्सिङकी प्रणेता हुन् । उनले आफूले प्रशिक्षण दिएका केही नर्सको नेतृत्व गर्दै क्रिमिया युद्धमा घाइते सैनिकको उपचार गरेकी थिइन् । त्यसपछि चर्चामा आएकी नाइटिंगेलले नै नर्सिङ पेशालाई प्रतिष्ठित बनाइन् । उनी भिक्टोरियन संस्कृतिकी एक आदर्श पनि थिइन् । घाइते सैनिकको उपचारमा रातको समय टुकी बोकेर अहोरात्र खटिएकाले उनलाई ‘लेडी विथ द ल्याम्प’ पनि भनियो ।  तर क्रिमियाली युद्धमा नाइटिंगेलको उपलब्धिलाई धेरै बढाइचढाइ गरिएको उनका आलोचकहरु बताउँछन् । तर महिलाका लागि नर्सिङ पेशाको आधुनिकीकरण गर्ने मामिलामा उनले महत्त्वपूर्ण भूमिका निभाएको विषयमा सहमत छन् । सन् १८६० मा लण्डनस्थित सेन्ट थोमस अस्पतालमा नर्सिङ स्कुल खोलेर उनले व्यवसायीक नर्सिङको जग बसालेकी थिइन् । यो विश्वकै पहिलो धर्म निरपेक्ष नर्सिङ स्कुल थियो ।

चीनको सिचुवानमा ८ रेक्टर स्केलको भूकम्प, नेपालमा समेत धक्का महसुस

सन् २००८ मा आजकै दिन चीनको सिचुवानमा ८ रेक्टर स्केलको भूकम्प जाँदा ८७ हजार ५ सय ८७ जनाले ज्यान गुमाए । चीनको साङ्घाई र बेइजिङसहित मकाउ, भियतनाम, थाइल्यान्ड, ताइवान, मंगोलिया, बंगलादेश, नेपाल, भारत, पाकिस्तान र रुससम्म धक्का महसुस गरियो ।

भूकम्पको केन्द्र सिचुवानको प्रान्तीय राजधानी छेन्दुबाट ८० किलोमिटर पश्चिम–उत्तरपश्चिममा थियो । यस भूकम्पपछि झन्डै २ लाखपटक पहिरो गयो भने खोला थुनिएर  ८ भन्दा धेरै पोखरी बने ।

भूकम्पका कारण ३ लाख ७४ हजारभन्दा धेरै घाइते भए । कम्तिमा ४८ लाख जनसंख्या घरबारविहीन भयो । भूकम्प प्रभावित क्षेत्रमा झन्डै १ करोड ५० लाख जनसंख्याको बसोवास थियो । शक्तिशाली भूकम्पपछि ७२ घण्टाभित्रै ४ देखि ६ दशमलव १ रेक्टरस्केलका ६४ भन्दा बढी पराकम्प रेकर्ड गरियो । चिनियाँ सरकारको आधिकारीक गणनाअनुसार ६ नोभेम्बर, २००८ सम्म ४२ हजार ७ सय १९ वटा साना ठूला पराकम्प गए । जसमध्ये सबैभन्दा ठूलो पराकम्प ६ दशमलव ४ रेक्टरस्केलको थियो ।

क्षतिको हिसाबले सन् १९७६ को ताङसान भूकम्पपछि यो चीनमा गएको सबैभन्दा विध्वंशकारी भूकम्प थियो, ७ दशमलव ६ रेक्टरस्केलको ताङसान भूकम्पमा कम्तिमा २ लाख ४० हजारले ज्यान गुमाएका थिए ।

नोभेम्बर २००८ मा चीनको केन्द्रीय सरकारले भूकम्पबाट क्षति पुगेका क्षेत्रको पुनर्निर्माणका लागि तीन वर्षभित्र १ ट्रिलियन युआन खर्चने घोषणा ग¥यो ।

अन्य घटनाक्रम

सन् १९२५– उज्वेकिस्तान र किर्गिजस्तान स्वायत्त सोभियत गणराज्य बने ।

सन् १९४२– एक हजार ५ सय यहूदी ग्यास चेम्बरमा मारिए ।

सन् २००३– साउदीको रियादमा अल कायदाको हमलामा २६ जनाको मृत्यु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप