कम्युनिस्ट संस्कृति : सामूहिक निर्णय र सबै पार्टी मातहत
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समस्या समाधान (पार्टीभित्रको अन्तरविरोध) को उत्तम विकल्प होइन । चुनाव अगाडि हामीले सार्वजनिक गरेको प्रतिबद्धता, त्यस आधारमा हामीले मागेको मत र हामीले प्राप्त गरेको जनमतका आधारमा राजीनामाको विषयलाई पहिलो बनाएर बहस गर्नु पनि बेठीक हुन्छ तर प्रधानमन्त्री पार्टी नीति र विधिमा चल्नुपर्छ । प्रधानमन्त्री स्वयंले ‘म बिरामी भएँ, दौडधुप गर्न पनि सकेको छैन, मेरो कारणले देश र पार्टीलाई बन्धक बनाउनु राम्रो होइन, हाम्रो पार्टीमा प्रधानमन्त्री हुने नेता अरू एकसे एक हुनुहुन्छ’ भनेर बाटो खोलिदिने कुरो अर्कै हो । हाम्रो धरातललाई नियाल्दा विषय परिपक्व भएको छैन । त्यसैले त यसरी बाटो खोलिदिने ढङ्गले सोच्ने ठाउँमा पुग्न हामीलाई अझै कति समय लाग्ने हो, थाहा छैन । प्रधानमन्त्रीज्यू ! म माफी चाहन्छु किनकी तपाईँको इच्छा र महत्त्वकांक्षासँग मेल नखाने विषय मैले अभिव्यक्त गरेँ ।
प्रधानमन्त्री पार्टी सदस्य पनि हो तर पार्टी सदस्य एक्लै केही पनि होइन । नेकपामा उहाँ जस्तै झण्डै ८ लाख पार्टी सदस्य छन् । पार्टी अध्यक्ष वा प्रधानमन्त्री अथवा उपाध्यक्ष, महासचिव वा सदस्य पार्टीभित्रको कार्यविभाजन हो, न कि पद विभाजन । प्रधानमन्त्रीको जिम्मेवारी संवेदनशील हुन्छ र अपेक्षा पनि यही अनुसारको हुन्छ । तर अपेक्षाअनुसार संवेदनशील नभएर कतिपय सन्दर्भमा संवेदनशील विषयमा पनि बरालिँदा आलोचना अलि बढी नै हुने गरेको हो । उहाँको काम गर्ने तरिका मनमौजी खालको देखिँदैछ । उहाँका अभिव्यक्तिले धेरै मान्छे (पार्टीभित्र र बाहिरका पनि) बिच्केका छन् । उहाँले गरेका पछिल्ला नियुक्तिसहितका केही निर्णयहरु विवादित, एकलकाँटे र गुट गनाउने खालका छन् । आफ्नो बारेमा गीत गाउने, पूजापाठ गर्ने र चाकडी बजाउनेहरुको मात्र घेरामा रमाउने प्रधानमन्त्रीको कार्यशैली र ‘यो नै सही छ’ भनेर बेतुकको दाबीमा अडान लिने प्रवृत्ति पार्टीभित्रको मुख्य समस्या हो ।
समस्याको अर्को पाटो प्रधानमन्त्री बाहेकका अरु नेताहरु पनि कम सामन्ती संस्कृतिका छैनन् ।
तिनले पनि देश, वर्ग, कार्यकर्ता र जनतालाई केन्द्रमा राखेर काम गरेको कमै देखिन्छ । निजी स्वार्थमा डुबेर विगत बिताएका नेताहरुको अनुहारमा इमानदारिता कम छ । पटक पटक परीक्षण भइसकेका, खास परिणाम दिन नसकेका र फेरि त्यही पदका लागि मरिहत्ते गर्ने कार्यशैलीले पनि समस्या समाधान हुने स्थिति देखिँदैन । त्यसकारण समस्या एक ठाउँमा मात्र छैन ।
सच्चिने साँचोमा सबै प्रवेश गर्ने आँट नेकपाको आजको आवश्यकता हो । पार्टीको संस्थागत र नीतिगत निर्देशनमा तिनै तहका सरकार चल्ने हो भने अहिले देखिएको समस्या समाधान हुन समय लाग्दैन । सरकारले गरेका कामका आधारमा पार्टीको छवि राम्रो हुने हो । यसको जस नेता, कार्यकर्ता र मतदाता जनतामा जान्छ । यस अर्थमा सरकारका कामबारे पार्टी कमिटी (सबै तहका मुख्यतः केन्द्र, प्रदेश र पालिका) भित्र खुलेर छलफल गर्ने, गलत निर्णय सच्याउने, कमीहरुलाई पूर्णता दिने र सरकारका कामलाई पार्टीका सबै संरचना हुँदै नेता, कार्यकर्ता र जनस्तर गई पार्टीको भूमिकालाई जिम्मेवार बनाउन सकिन्छ । यस कार्यले समस्या समाधानको केन्द्र बनाउन सक्छ । हाम्रो अथवा पार्टी र नेताप्रतिको आलोचना पनि घट्दै जान्छ । पार्टीको लोकप्रियता पुरानै ठाउँमा फर्कन्छ ।
हाम्रो साझा बुझाइ के बन्नुपर्छ भने ‘हामीलाई (सांसद) पार्टी (सामूहिक निर्णय) ले टिकट दिएको हो । पार्टी प्रतिनिधिका रुपमा जनताले निर्वाचित गराएका हुन् र पार्टीले पाएको जनमतको आधारमा प्रधानमन्त्री वा मन्त्री बनेका हौँ’ भन्ने तथ्य सबैले आत्मसात गर्नुपर्छ । साथै ‘यो पार्टी बन्नका लागि वा हामी पार्टीका नेता (नीति र विधि) हुने हैसियत निर्माणका लागि हजरौँ कार्यकर्ता र जनताको रगत र पसिना बगेको छ’ भन्ने अर्को तथ्यलाई पनि कसैले कुनै क्षण भुल्नु हुँदैन ।
कुनै विदेशीले हाम्रो देशको कार्यकारी प्रमुखलाई हटाउने र अर्को नियुक्त गर्ने कोसिस गर्छ भने त्यसका विरुद्ध एउटा पार्टी मात्र होइन, सबै पार्टीहरु र देश पूरै एकताबद्ध भएर लड्ने वातावरण बनाउने जिम्मेवारी पनि नेकपाकै हो । तर यो विषयलाई प्रधानमन्त्रीले जसरी सार्वजनिक गर्नुभयो, त्यो तरिका गलत भयो । त्यस तरिकाले समस्या समाधान बोक्न सक्दैन । विदेशीले वा विदेशीको योजनामा पार्टीका कुनै खास नेता, नेकपाको तर्फबाट लोकप्रिय जनमतको नेतृत्व गर्दै बनेको प्रधानमन्त्री हटाउने खेलमा लागेको हो भने तथ्यको आधारमा यसलाई पार्टी स्थायी समितिको बैठकको मुद्दा बनाएर त्यसको उपचार निर्ममतापूर्वक खोज्नुपर्छ । यो तरिका नै सही हुन्छ । सन्दर्भ पनि यस्तो छ कि स्थायी समितिको बैठक चलिरहेको छ ।
कुनै पनि नेता विशेष, प्रधानमन्त्री समेतले ‘मैलै प्राप्त गरेको जिम्मेवारी आफ्नो पैतृक सम्पत्ति ठान्ने, व्यक्तिगत क्षमताले प्राप्त गरेको पद भन्ने र जनताले दिएको मतलाई पनि निजी लोकप्रीयता भनेर बुझ्ने हो भने वा म नै सर्वेसर्वा, म पार्टीभन्दा माथि, मलाई पार्टी विधानले बाँध्न सक्दैन, मलाई पार्टीको संस्थागत निर्णयले केही गर्न सक्दैन वा मिल्दैन भन्दा समस्या आउँछ । यसर्थ मैले भनेको नै सिद्धान्त, निर्णय र विधि हो’ भन्ने ठान्ने सनातनी मनोरोगबाट मुक्त हुनुपर्छ । मनोरोगबाट मुक्त नहुने जुनसुकै मर्यादाको नेतालाई पनि नेकपाले आफ्नो विधान अनुरुप कार्वाही गर्न वा प्रधानमन्त्री र मन्त्रीको जिम्मेवारीबाट फिर्ता बोलाउन सक्छ । त्यस प्रक्रियालाई ‘म मान्दिनँ’ भन्न कसैले पाउँदैन र सक्दैन पनि । किनकि पार्टी र पार्टी विधानभन्दा माथि कोही पार्टी सदस्य हुन सक्दैन ।
बिना नीति, विधि र निर्णयमा चल्ने राजनीतिक पार्टी त्यसमा पनि कम्युनिस्ट पार्टी हुनु र नहुनुको केही अर्थ हुँदैन । निजी स्वार्थमा लिप्त हुने हो भने पञ्चायतका प्रतिनिधि वा पञ्च र हामीमा के फरक भयो र ? निजी स्वार्थको भ¥याङ कुनै पनि राजनीतिक संस्था नबन्नुपर्ने हो । अझ कम्युनिस्ट पार्टी त निजी स्वार्थविरुद्ध जन्मिएको सामूहिक स्वार्थको अभिव्यक्ति भएकाले यसलाई कसी लगाउनै नपर्ने हो । यसरी हेर्दा कम्युनिस्ट पार्टी वा कम्युनिस्ट हुनुको अर्थ, मर्म र उद्देश्य निकै फराकिलो छ ।
त्यसकारण वर्गीय जगमा खुट्टा टेक्ने, सामूहिक नेतृत्वमा योजना निर्माण र कार्यान्वयन गर्ने, व्यक्ति स्वार्थभन्दा सामूहिक वा वर्गीय स्वार्थलाई प्राथमिकता दिने, सम्पत्ति र पदका लागि ¥याल नचुहाउनु नै कम्युनिस्ट हुनुको अर्थ हो । के नेकपाको नेतृत्वको पहिलो पुस्ताले यसरी सोच्ने हैसियत राख्छ ? यसरी सोच्ने र व्यवहार प्रदर्शन गर्न सक्ने हो भने मात्र तपाईंहरु नेता हुन बन्न सक्नुहुन्छ । अन्यथा तपाईंहरुले बाटो छोडिदिनुपर्छ । हाम्रो असक्षमताले कार्यकर्ता र मतदाता जनतालाई निराशा त बनाएकै छ साथै वाम सरकारले पनि देशलाई नयाँ दिशा र नयाँ जीवन दिन सकेन भन्ने नकारात्मक सन्देश समेत बाक्लो गरी गइसक्यो । यी दुई विषयले नेकपालाई मात्र होइन, नेपाली वाम आन्दोलनलाई समेत उठ्न नसक्ने गरी बदनाम गर्ने खतरा बढ्दो गतिमा छ । नेताहरुको निजी स्वार्थका लागि लडाइँ र असक्षमहरुले पद ओगट्ने गलत कार्य तरिकासँग बाँँकी पार्टी पङ्क्ति र मतदाता जनता किन सती जाने ? भन्ने प्रश्न उठिसक्यो ।
समय छ तर थोरै । पार्टीका भित्री छलफलका मोर्चाबाट कोही नभागौँ र कसैले पनि निजी दुनो नसोझ्याऔँ । खुलेर छलफल गर्ने र सामूहिक निर्णय गर्ने संस्कृतिमा रमाउने हाम्रो पहिचान हो । यसलाई जिउँदो, जाग्दो अथवा मर्न नदिँदासम्म हाम्रो यात्रा धिमा नै भए पनि उकालो चढ्ने छ । जहाँ सामूहिक स्वार्थ पूरा हुने सम्भावना जीवित हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण