शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल

बिहीबार, २५ असार २०७७, १३ : ५१
बिहीबार, २५ असार २०७७

चितवन । चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका बिरामीको डायलासिस समेत गर्न शुरु गरेको छ । नेपाल सरकारले कोभिड–१९ को उपचारका लागि पहिलो र दोस्रो तहका बिरामीको उपचार गर्न भरतपुर अस्पताल र यसको मातहतमा रहेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई तोकेको छ । 

भरतपुर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा.सन्तोष गुरुङका अनुसार एक जना सङ्क्रमितको डायलासिस अस्पतालले गरिरहेको छ । ती बिरामी हेटौंडा उपमहानगरपालिका–५ का ३३ वर्षीय पुरुष हुन् । साउदीबाट फर्किएका उनको तेस्रोपटक आज भरतपुर अस्पतालमा डायलासिस गरिएको छ । गुरुङका अनुसार यसअघि असार १८ र १९ गते उनको भरतपुर अस्पतालमा डायलासिस गरिएको थियो । 

साउदीमा करिब २० पटक उनको डायलासिस भईसकेको उनले जानकारी दिए । अस्पतालले अन्य बिरामीका लागि दुई दिन डायलासिस नगर्ने गरी व्यवस्थापन मिलाएर डायलासिस गरिरहेको उनको भनाइ छ । बुधबार राति १२ बजेबाट डायलासिस कक्ष अन्य बिरामीका लागि बन्द गरिएको छ । ती बिरामीको डायलासिस गरिएपछि त्यहाँको पूर्णरुपमा निर्मलीकरण थालिएको छ । 

शुक्रबार बिहान ६ वजेबाट अन्य बिरामीको डायलासिस शुरु गरिने उनले जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीका अनुसार डायलासिस गर्ने प्राविधिकहरुले विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको निर्देशिकालाई पूर्णरुपमा पालना गरी उच्च सतर्कताका साथ काम गरिरहेका छन् ।

हाल अस्पतालमा हरेक साता, सातामा दुई पटक र महिनाको एक पटक डायलासिस गर्ने १०६ जना बिरामी रहेका छन् । उनले अस्पतालमा उपचार गर्न आउने सङ्क्रमितलाई देखिएका सबै खालका रोगको उपचार गर्न भरतपुर अस्पताल सक्षम भएकै कारण छिमेकी जिल्लाबाट पनि बिरामी आउने गरेको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले पहिलो र दोस्रो तहका बिरामी हेर्ने जिम्मा भरतपुर अस्पताललाई दिइएको भए पनि तेस्रो तहका बिरामी पनि हेर्न बाध्य भएको बताए । जिल्लाका अन्य अस्पतालमा सङ्क्रमण देखिएर जटिल भएका बिरामी पनि भरतपुर पठाइने गरेको उनले बताए ।

यहाँका दुई मेडिकल कलेजलाई पनि कोभिड उपचारमा सहभागी गराएमा बिरामी थप भएको अवस्थामा उपचारमा सहजता हुने उनको भनाइ छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल भरतपुर अस्पतालमा ३७ जना कोरोना सङ्क्रमितले उपचार गराइ रहेका छन् । यसै अस्पतालमा ३८ जना उपचारपछि निको भएर फर्किएको उनले जानकारी दिए । दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप