बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै

विज्ञ भन्छन्– फ्लू र कोरोना परीक्षणलाई सगसँगै लैजानुपर्छ
बुधबार, १४ साउन २०७७, ०९ : ४८
बुधबार, १४ साउन २०७७

काठमाडौं । नेपालमा लक्षणसहितका कोरोना संक्रमित बढ्न थालेका छन् । हालसम्म फेलापरेका कोरोना संक्रमितमध्ये ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको थिएन । तर पछिल्लो समयमा लक्षणसहितका संक्रमित देखापर्न थालेका छन् ।

लक्षणविहीन कोरोना संक्रमितभन्दा लक्षणसहितका संक्रमितबाट अन्य मानिसलाई संक्रमण सर्ने सम्भावना बढी रहन्छ ।

लक्षणसहितका कोरोना संक्रमितले धेरैलाई संक्रमण सार्न सक्ने क्षमता राख्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनका अनुसार, लक्षणविहीन कोरोना संक्रमितले अरुलाई सार्ने अवस्था २.२ प्रतिशत रहन्छ भने लक्षणसहितका संक्रमितमा त्यो अवस्था  १५.४ प्रतिशत रहने विभिन्न अनुसन्धानमा उल्लेख गरिएको छ ।

लक्षणसहितका कोरोना संक्रमितहरुले परीक्षणको दायरामा आउनुभन्दा अगाडि थाहा नपाएरै परिवारका सदस्य तथा समुदायमा घुलमिल हुँदा, खोक्दा, चर्कोचर्को स्वरमा बोल्दा, हाँच्छिउ गर्दा अरुमा संक्रमण सर्ने डा. पुन बताउँछन् ।

सरकारले विगतका दिनहरूमा भरतबाट स्वदेश फर्किएका युवालाई क्वारेन्टिनमा १४ दिनसम्म राखी कोरोना परीक्षण गरेरमात्रै घर पठाउने गरेको थियो ।

रोजगारीको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा गएर नेपाल फर्किएका कोरोना संक्रमित धेरैजसो युवा भएकाले लक्षणविहीन भएको स्वास्थ्य वैज्ञानिक डाक्टर समिरमणि दीक्षित बताउँछन् ।

भारत तथा अन्य मुुलुकबाट स्वदेश आएकाहरूबाट घरपरिवार तथा समुदायमा दीर्घरोगी, वृद्धवृद्धामा संक्रमण हुने क्रम बढे्सँगै लक्षणसहितका बिरामी बढेको हुन सक्ने उनको भनाइ छ । लक्षणसहितका संक्रमित बढ्दै गएमा मृत्यु हुनेको संख्या पनि बढ्न सक्छ ।

धेरैजसो कोरोना संक्रमित लक्षणविहीन भइरहेको अवस्थामा पछिल्ला दिन स्थानीय तहहरूमा लक्षणसहितका बिरामी भेटिएकाले नेपालमा पनि कोरोनाको जीनमा परिवर्तन भएको हुन सक्ने विज्ञ बताउँछन् ।

भाइरसले आफुलाई वातावरण अनुकूल हुने क्षमताको विकास गर्दै जान सक्छ । यद्यपी यो कुरा भने अनुसन्धानबाट मात्रै पुष्टि गर्न सकिने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

ज्वरो, खोकी, श्वास–प्रश्वासमा कठिनाइ आदि समस्या भएका बिरामी बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह–प्रवक्ता समीरकुमार अधिकारीले बताए । ‘स्थानीय तह तथा प्रदेशबाट लक्षणसहितका संक्रमित बढेको थाहा पाएका छौं,’ उनले भने, ‘लक्षणसहितका संक्रमित कति प्रतिशतले वृद्धि भए भन्ने कुरा एक÷दुई दिनमा थाहा हुन्छ ।’

फ्लू र कोरोनाको लक्षण उस्तै

नेपालमा प्रायःजसो वर्षको दुईपटक साउन÷भदौ र फागुन÷चैत्र महिनामा फ्लूका बिरामी भेटिन्छन् । साउन सुरु भएसँगै डेंगु, स्क्रब टाइफसका बिरामीसमेत देखिन थालेका छन् ।

यी संक्रामक रोगसँगै विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको लक्षण पनि उस्तै उस्तै हुन्छ । ज्वरो, श्वास–प्रश्वासमा समस्या, रुघा, खोकी, शरीर दुख्ने आदि समस्या भएमा कोरोना संक्रमण भएको आशंका सबैले गर्छन् । यी लक्षण देखिएमा पीसीआर परीक्षण गरेर मात्रै कोरोना भए÷नभएको पत्ता लगाउन सकिन्छ ।

नेपालमा ९९.७ प्रतिशत लक्षणविहीन कोरोना संक्रमित देखिरहेको अवस्थामा मौसमी फ्लू सुरु हुन थालेसँगै लक्षणसहितका संक्रमित फेला परेकाले कोरोना परीक्षणसँगै  फ्लूको परीक्षणलाई पनि सँगसँगै लैजानुपर्ने सरुवा रोग विशेषज्ञ डा. पुन बताउँछन् ।

कोरोना भाइरस र फ्लू भाइरस लाग्दा देखिने लक्षण, सर्ने तरिका र बच्ने उपाय कोरोनासँग मिल्दोजुल्दो हुने उनको भनाइ छ ।  

लक्षणसहितका संक्रमितबाट झन् जोखिम

लक्षणसहितका कोरोना संक्रमितबाट अन्य व्यक्तिमा संक्रमण तीव्र रुपमा सर्न सक्छ । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत ४ जना कोराना संक्रमितमा कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा मंगलबार थप २३ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबारमात्रै उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

काठमाडौं उपत्यकामा ३ सय ६ जनामा कोरोना संक्रमण सक्रिय छ । कोरोना प्रभावित क्षेत्रबाट विभिन्न नाका हुँदै काठमाडौं उपत्यकामा रोजगारीको सिलसिलामा आउने क्रम जारी रहेको हुँदा उपत्यका झन् उच्च जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ ।

काठमाडौंमा भेटिएका संक्रमितमध्ये धेरैजसो उपत्यकामै रहँदै आएका थिए । विदेशबाट आएका र बाहिरी जिल्लाबाट आएको ट्राभल हिस्ट्री नभएकामा पनि संक्रमण भएकाले सबैले उच्च सतर्कता अपनाउनुको विकल्प नभएको वैज्ञानिक डाक्टर दीक्षित बताउँछन् ।

कोरोना प्रभावित क्षेत्रबाट उपत्यकामा रोजगारका लागि प्रवेश गर्नेहरु हिँडडुल तथा भेटघाटमा सक्रिय हुने भएकाले पूर्णरुपमा सावधानी अपनाउनुपर्ने सरुवा रोग विशेषज्ञ डा. पुनको भनाइ छ ।

जनताले घर बाहिर सडक, चोक, बजार, सवारीमा यात्रा गर्दा, कार्य क्षेत्रमा संक्रमणको जोखिम छ भन्ने थाहा पाएर पनि व्यवहारिक रुपमा सतर्कता नअपनाएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता अधिकारीको भनाइ छ । 

मास टेस्टिङलाई तीव्रता दिने तयारी

जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको बताइरहेका छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने समुदायस्तरमा कोरोना संक्रमण फैलिइनसकेको बताएको छ ।

समुदायस्तरमा फैलिएको आशंका गरिएका स्थानहरूमा सरकारले मास टेस्टिङलाई तीव्रता दिने मन्त्रालयका सह–प्रवक्ता अधिकारी बताउँछन् ।

केहीदिन अघि काठमाडांै उपत्यकामा ५ हजार जनामा मास टेस्टिङ गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भयो । सरकारले देशका विभिन्न स्थानमा मास टेस्टिङ गर्ने योजना बनाएको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा पहिचानका लागि मास टेस्टिङले केही हदसम्म सहयोग गरे पनि निर्धक्क हुन नसकिने स्वास्थ्य वैज्ञानिक डा. दीक्षित बताउँछन् । कुनै स्थानमा मास टेस्टिङ गरेर आएको नतिजा सधै त्यही रहन नसक्ने उनको भनाइ छ ।

सरकारले देशका विभिन्न स्थानमा ५० हजार जनाको मास टेस्टिङ गर्ने जनाएको थियो । तर परीक्षणको दायरा घटाएर देशका विभिन्न स्थानमा ५० हजार जनामा मास टेस्टिङ गरेरमात्र कोरोना संक्रमणको अवस्था थाहा पाउन नसकिने डा. दीक्षित ठान्छन् । उपत्यका लगायत भारतीय नाका क्षेत्रमा दैनिक रुपमा १० हजारभन्दा बढीमा कोरोना परीक्षण गर्नुपर्ने उनी बताउँछन् ।

उपत्यका प्रवेश गर्ने नाकामा स्वाब संकलन

मन्त्रालयका सह–प्रवक्ता अधिकारीका अनुसार उपत्यका प्रवेश गर्ने नाका थानकोट, फर्पिङ र साँगाबाट उपत्यकामा प्रवेश गर्नेहरुको स्वाब संकलन भइरहेको छ । कोरोना समुदायस्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन मन्त्रालयले काम गरिरहेको अधिकारीको दावी छ ।

उपत्यका लगायत कुनै खास क्षेत्रमा संक्रमितको संख्या अस्वाभाविक रुपमा बढ्न थालेमा मन्त्रालयले ‘¥यापिड रेस्पोन्स प्लान’ का आधारमा अघि बढ्ने तयारी गरिसकेको छ ।

मंगलबार उपत्यकामा संक्रमितको संख्या बढे झै आगामी दिनमा पनि संक्रमितको संख्या बढ्दै गएमा यातायात, हिँड्डुलका जस्ता कार्यलाई परिमार्जन गर्नुपर्ने अवस्था पनि आउन सक्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप