बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

लिवर्टी ईनर्जी कम्पनीको साधारण शेयर (आइपीओ) बिक्री भोलीबाट

मङ्गलबार, ०२ भदौ २०७७, १९ : २४
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौं । यस लिवर्टी इनर्जी कम्पनीको सर्वसाधारणहरुको लागि बढिमा दुई लाख कित्तासम्म दरखास्त दिन सकिने गरी ३५ लाख ६४ हजार नौं सय ३० कित्ता साधारण शेयरको निस्काशन तथा बिक्री भदौ ३ गते बुधबार देखि खुल्ला गर्ने भएको छ । 

यस साधारण शेयरको धितोपत्र निस्काशन तथा बिक्री प्रवन्धक एनआइबीएलएस क्यापिटल रहेको छ । यस कम्पनीको हाल अधिकृत पुँजी एक अर्व ५० करोड र चुक्ता पुँजी एक अर्व १२ करोड ५० लाख रहेकोमा अधिकृत पुँजीको २५% का दरले हुन आउने ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरेपश्चात कम्पनीको चुक्तापुँजी एक अर्व ५० करोड हुनेछ । 

यस कम्पनीले हाल निर्माण गरिरहेको २५मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाइप राख्ने काम सम्पन्न भएको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८% सम्पन्न भई आगामी कार्तिक मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

विश्वव्यापी रुपमा कोरोनाभाइरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केहि उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाई भएकोले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने गत चैत मसान्तमा विद्युत उत्पादन सम्भव नभई आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी कार्तिक मसान्तसम्म थप गरिने कम्पनीले जनाएको छ ।

यस आयोजनाको पानीको श्र्रोत दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाई लगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको छ । साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावरहाउससँगै रहेको सव–स्टेशनमा उत्पादित विद्युत जोडिने भएकोले प्रशारण नोक्सानी नहुने लगायतका कारणले यस आयोजना आकर्षक रहेको छ । 

यस कम्पनीले उल्लेखित आयोजना बाहेक बाग्लुङ जिल्लामा २४.६ मे.वा. क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्भेक्षण अनुमति पत्र प्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप