संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रियाको औपचारिक सुरुआत हुन एक साताअघि ६ जना उम्मेदवार पहिलोपटक सार्वजनिक टेलिभिजन बहसमा सहभागी हुँदैछन् । विश्वव्यापी वित्तीय र विश्वासको सङ्कट सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घको भावी नेतृत्वबारे उम्मेदवारहरूको दृष्टिकोण प्रस्तुत गर्ने यो बहसलाई महत्त्वपूर्ण मानिएको छ ।
महासभाको सभाहलमा हुने ९० मिनेटको बहसमा उम्मेदवारहरूले कूटनीतिज्ञ, संयुक्त राष्ट्रसङ्घका कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिहरूका प्रश्नको उत्तर दिनेछन् । कार्यक्रम ब्लुमबर्गमार्फत प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।
महासचिव एन्टोनियो गुटेरेसको उत्तराधिकारी बन्ने दौडमा चिलीकी मिशेल बाचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, अर्जेन्टिनाका राफाएल ग्रोसी, कोस्टारिकाकी रेबेका ग्रिन्स्पान, गुयानाकी क्यारोलिन रोड्रिग्स–बिर्केट र सेनेगलका माकी साल प्रतिस्पर्धामा रहेका छन् ।
महासभाकी अध्यक्ष एनालेना बेयरबकले यो बहसले विश्वकै महत्त्वपूर्ण नेतृत्व पदका आकांक्षीहरूको नीति, प्राथमिकता र नेतृत्व दृष्टिकोण बुझ्ने दुर्लभ अवसर प्रदान गर्ने बताए । उनले बढ्दो ध्रुवीकरणको अवस्थामा संयुक्त राष्ट्रसङ्घलाई प्रभावकारी रूपमा नेतृत्व गर्न सक्ने, संस्थालाई २१औँ शताब्दीअनुकूल बनाउन सक्ने तथा संयुक्त राष्ट्रसङ्घको बडापत्र र शान्ति–सुरक्षा, मानवअधिकार तथा विकासका मूल स्तम्भप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
हाल संयुक्त राष्ट्रसङ्घ वित्तीय अभाव र विश्वसनीयतासम्बन्धी चुनौतीसँग जुधिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संस्थामाथि अत्यधिक खर्च, सीमाभन्दा बाहिर फैलिएको कार्यक्षेत्र तथा अपेक्षित परिणाम दिन नसकेको आरोप लगाउँदै आएको छ ।
अमेरिकाले संयुक्त राष्ट्रसङ्घले शान्ति र सुरक्षाको मूल भूमिकामा केन्द्रित हुनुपर्ने धारणा राख्दै आएको छ भने अन्य सदस्य राष्ट्रहरूले मानवअधिकार र विकासलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका विश्लेषक रिचर्ड गोवानका अनुसार सन् २०१६ को महासचिव चयन प्रक्रिया तुलनात्मक रूपमा बढी प्रतिस्पर्धात्मक र उत्साहपूर्ण थियो । यसपटक उम्मेदवारहरू स्थायी सदस्य राष्ट्रहरूलाई असन्तुष्ट नबनाउने रणनीतिमा देखिएकाले प्रतिस्पर्धा अपेक्षाकृत संयमित बनेको उनको विश्लेषण छ ।
उम्मेदवारहरूले यसअघि नै १९३ सदस्य राष्ट्रका प्रतिनिधिहरूसँग विस्तृत छलफल गरिसकेका छन् । उनीहरूले संयुक्त राष्ट्रसङ्घलाई अझ प्रभावकारी बनाउन जारी सुधारलाई निरन्तरता दिनुपर्ने, साथै विश्वव्यापी शान्ति प्रयासमा महासचिवको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखेका छन् ।
आगामी ३० जुलाईमा सुरक्षा परिषद्का १५ सदस्यले उम्मेदवारहरूको पहिलो गोप्य ‘स्ट्र पोल’ मतदान गर्नेछन् । त्यसपछि आवश्यक समर्थन प्राप्त नभएसम्म यस्ता मतदानहरू दोहोरिनेछन् । कुनै उम्मेदवारले कम्तीमा नौ मत प्राप्त गर्नुका साथै पाँच स्थायी सदस्यमध्ये कसैको भिटो नपाएपछि उनको नाम औपचारिक अनुमोदनका लागि महासभामा पठाइनेछ ।
चयन हुने नयाँ महासचिवले १ जनवरी २०२७ देखि कार्यभार सम्हाल्नेछन् । कूटनीतिज्ञहरूका अनुसार अहिले नै स्पष्ट अग्रता कसैले बनाएको छैन । यद्यपि राफाएल ग्रोसी सम्भावित अग्रपङ्क्तिका उम्मेदवारका रूपमा हेरिए पनि रेबेका ग्रिन्स्पान र क्यारोलिन रोड्रिग्स–बिर्केटले पनि उल्लेखनीय समर्थन प्राप्त गरिरहेका छन् ।
विश्लेषकहरूले अन्तिम समयमा नयाँ प्रभावशाली उम्मेदवार उदाउन सक्ने सम्भावनालाई पनि अस्वीकार गरेका छैनन् । भौगोलिक पालोको परम्पराअनुसार यसपटक ल्याटिन अमेरिकी क्षेत्रले महासचिव पदमा दाबी गरिरहेको छ । साथै, धेरै सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्रसङ्घको इतिहासमै पहिलोपटक कुनै महिलालाई महासचिव बनाउनुपर्ने आवाज पनि उठाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण