शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

लिबियालाई सामान्य राजनीतिक प्रक्रियामा ल्याउन आवश्यक छः  राष्ट्रसंघ

आइतबार, १४ भदौ २०७७, १४ : २४
आइतबार, १४ भदौ २०७७

एजेन्सी । लिवियामा कार्यरत संयुक्त राष्ट्रसंघको सहयोग नियोग (युएनएसएमआईएल) ले लिवियामा समावेशीे राजनीतिक प्रक्रियालाई अघि बढाउन आवश्यकता रहेको बताएको छ ।  संयुक्त राष्ट्र संघीय निकायले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “लिवियामा घटनाक्रमले नाटकीय मोड लिन थालेको देखिएको छ । यसले लिवियामा द्वन्द्वरत पक्षहरू पूर्ण र समावेशी राजनीतिक प्रक्रियामा फर्किनुपर्ने आवश्यकतालाई जोड दिएको छ । मर्यादा र शान्तिका लागि लिबियावासीहरूको आकांक्षालाई उनीहरूको प्रतिनिधित्व गर्ने सरकारले पूरा गर्न जरुरी छ ।” 

राष्ट्रसंघीय उक्त निकायले लिवियाली नागरिकलाई शान्त रहन, कानुनी शासनको पालना गर्न र अधिकार संरक्षणको लागि शान्तिपूर्वक आफ्नो विचार व्यक्त गर्न आग्रह गरेको छ ।  राष्ट्रसंघीय नियोगले लिवियाभरि मनोमानीरूपमा गिरफ्तार, नजरबन्द, आन्दोलन र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको र शान्तिमय सभा र विरोधको अधिकारसहित मानव अधिकार उल्लङ्घनको रिपोर्टमा वृद्धि भएको दावी गरेको छ । 

संयुक्त राष्ट्रसंघले प्रदर्शनकारीविरूद्ध राजधानी त्रिपोलीमा अत्यधिक बलको प्रयोगको साथसाथै धेरै नागरिकलाई मनोमानीरूपमा गिरफ्तार गरेकोमा चिन्ता व्यक्त गरेको छ ।  मिसनले त्रिपोलीदेखि ४५० किलोमिटर पूर्वमा अवस्थित सिर्ते सहरमा चलिरहेको मानवअधिकार उल्लङ्घन र दुर्व्यवहारका रिपोर्टप्रति पनि चिन्ता व्यक्त गरेको छ ।

सिर्तेमा नागरिकको अपहरणपछि हत्या र धेरैलाई मनोमानी गिरफ्तार, र निजी सम्पत्तीमा अवैध रुपमा हस्तक्षेप भएकोप्रति पनि चिन्ता व्यक्त गरिएको छ ।  सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको पतन भएदेखि नै लिवियामा हिंसा र राजनीतिक अस्थिरता बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप