शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

चीन र भारतका सैनिक अधिकारीहरुबीच चुशुलमा वार्ता

शुक्रबार, २६ भदौ २०७७, २२ : ३८
शुक्रबार, २६ भदौ २०७७

लद्दाख । भारत र चीनबीच सीमावर्ती लद्दाखको चुशुलमा शुक्रबार ब्रिगेड स्तरका सैनिक अधिकारीहरुबीच वार्ता भएको छ । चीन र भारतका विदेशमन्त्रीबीच रुसको मस्कोमा द्वीपक्षीय वार्ता भएसँगै दुबै देशका सैन्य अधिकारीबीच वार्ता भएको हो । 

भारतीय सैनिक स्रोतले दुबै देशका सैन्य अधिकारीबीच बिहान ११ बजे शुरु भएको वार्ता अपराह्न ३ बजे समाप्त भएको जनाएको छ ।  चीन र भारत सीमा क्षेत्रमा केही समयदेखि उत्पन्न विवादका विषयमा बिहीबार चीनका विदेशमन्त्री वाङ यी र भारतका विदेशमन्त्री एस जयशंकरबीच रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो । दुबै विदेशमन्त्री सांघाई सहयोग संगठनको बैठकमा भाग लिन यतिबेला मस्कोमा रहेका छन् । दुबै मन्त्रीबीचको भेटवार्ता करिब अढाई घण्टा चलेको थियो । 

भारतीय संचारमाध्यमहरुका अनुसार भारतीय विदेशमन्त्री जयशंकरले पूर्वी लद्दाखको सीमाक्षेत्रमा उत्पन्न गतिरोधले दुबै मुलुकबीचको सम्बन्धमा व्यापक असर परेको बताएका थिए । विद्यमान परिस्थितिको जतिसक्दो चाँडो समाधान गर्न सकिए त्यो दुबै देशको हितमा हुने विचार पनि मन्त्री जयशंकरले चिनियाँ समकक्षीसमक्ष राखेका थिए ।

वार्तामा भारतीय पक्षले सीमा क्षेत्रको व्यवस्थापनका सन्दर्भमा यसअघि दुबै देशबीच भएका समझदारी र सम्झौता पालना गर्न भारत तत्पर रहेको बताएको थियो । स्रोतका अनुसार भारतीय विदेशमन्त्रीले सीमामा उत्पन्न विवाद समाधानका लागि चीन समक्ष पाँच बुँदे प्रस्ताव राखेका थिए । 

भारत र चीनबीच गत अप्रिल–मे महिनादेखि गल्वान उपत्यका, फिन्गर विन्दु, हट स्प्रिङ र कोङरुङ नाला क्षेत्रलाई लिएर विवाद जारी छ । गल्वान क्षेत्रमा गत जुन महिनामा २० जना भारतीय सैनिकको मृत्यु भएपछि विवाद उत्कर्षमा छ । गत शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री जनरल वाई फेङबीच पनि रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप