शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

घर भत्किएपछि सुत्केरीको बास पौवामा

शुक्रबार, १६ असोज २०७७, १९ : ५७
शुक्रबार, १६ असोज २०७७

उन्नाइस दिनकी सुत्केरी २० वर्षीया विमला नेपाली एक सातादेखि शितगङ्गा नगरपालिका­१२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरहेकी छन् । यही असोज ९ गते दिउँसो घर पहिराले लगेपछि उहाँ बच्चालाई लिएर पौवामा बस्नु बाध्य भएकी हुन् ।

“बस्दै आएको घर पहिराले भत्किएपछि पौवामा बसेर ज्यान जोगाएका छौँ । बच्चालाई जेनतेन स्याहार गरेकी छु” उनले भनिन्,  “आफूले पौष्टिक आहार खानुपर्ने समयमा अरुले दिएको राहतको चाउचाउ र बिस्कुटले चार दिन धानियो । पछि राहत आएपछि भात खान पाएको छु ।” 

उनी मात्र होइन, २६ दिनकी सुत्केरी सुस्मा नेपाली पनि पौवामा बसेकी थिइन् । उनी पनि पहिराले घर भत्काएपछि पौवामा आश्रय लिन बाध्य हुनुपरेको छ । 

शितगङ्गा नगरपालिकामा जमीन भासिएर पहिरो जाँदा ६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरु पाटी पौवा र खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । वडा नम्बर ११ र १२ मा पहिरो जाँदा झण्डै ३०० घर पहिराको जोखिममा छन् । सो स्थानमा जमीन धुजाधुजा भएर फाटेको छ । 

नगरपालिका­१२ कोठियामैदान क्षेत्र र वडा नम्बर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा त्यस क्षेत्रका ३०० घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।
कोठियामैदान र ढुङ्गेसेरा क्षेत्रमा चारैतिरबाट जमीन भासिएर पहिरो गएको वडा नम्बर १२ का अध्यक्ष बाबुराम गैरेले बताए । 

ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा पाँच घर पूर्णरुपमा भत्किएका र १३ घर पहिराको उच्च जोखिममा छन् भने झण्डै २०० घर पहिराको जोखिममा रहेका छन् । पहिराको क्षतिको यकिन विवरण सङ्कलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाइएको छ । 

प्रजिअसहित सातलाई कोरोना सङ्क्रमण पुष्टी
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, प्रमुख जिल्ला अधिकारीका सवारी चालक, सुरक्षा गार्ड, स्वास्थ कार्यालयका सूचना अधिकारी विजय बराललाई कोरोना देखिएको हो । 


उहाँहरुसहित एक सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिए । 

यही असोज ६ गते परेको अबिरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको विपद् व्यवस्थापन उद्वार राहत र पुनःस्थापनामा खटिएकै अवस्थामा स्वास्थ्यमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारीलगायत १० जनाको स्वाब गुल्मी प्रयोगशालामा पठाइएकामा सात जनामा कोरोना देखिएको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप