शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भाइटीकाको मध्यराति कपनमा आगलागीः दाइको मृत्यु, बहिनी घाइते

मङ्गलबार, ०२ मङ्सिर २०७७, ०९ : ४९
मङ्गलबार, ०२ मङ्सिर २०७७

काठमाडौँ – गएराति कपनस्थित बालुवाखानीमा चोकमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आगलागी काठमाडौँको कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा भएको छ ।

मध्यराति (साढे १२ बजे) भएको घटनामा नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भएका कृष्ण बहादुर तामाङको आगलागी हुँदा उनको जलेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

यस्तै, तामाङकी ३५ वर्षीया बहिनी बिपना तामाङ र उनको छोरा ११ महिनाको दावा तामाङ जलेर आगलागीबाट जलेर घाइते भएको डीएसपी कार्कीले बताए । घाइते उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

विपना दाजुसँग भाइटिका लगाउन आएकी थिइन् । उनीहरुले दिउँसो भाइटिका समेत लगाएका थिए । तर भाइटिका लगाएको १२ घण्टा नबित्दै दाजुबहिनीको बिछोड भएको छ ।

बस्नेतको चारतले घरको पहिलो तलामा तामाङ आफ्नो परिवारसँग बस्दै आएका थिए । भाइटिकाको दिन भएकाले श्रीमती माइती गएकी थिइन् भने १६ वर्षीय छोरा अर्को कोठामा एक्लै सुतेका थिए ।

आगलागी दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीमा के कति क्षति भयो यकिन विवरण खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप