शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘महानतम् कार्यकाल अन्त्य’ भएको ट्रम्पको स्वीकारोक्ति, प्रक्रियासम्मत सत्ता हस्तान्तरण गर्ने वाचा

बिहीबार, २३ पुस २०७७, १५ : ४३
बिहीबार, २३ पुस २०७७

एजेन्सी । संसद् भवनमा हिंसात्मक हुलदङ्गापछि रोकिएर फेरि सञ्चालन भएको संसद् बैठकले अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनलाई प्रमाणीकरण गरेको छ । उपराष्ट्रपति माइक पेन्सले जो बाइडेन नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा गरेका हुन् । यससँगै २० जनवरीमा सपथ लिएर कार्यभार सम्हाल्नका लागि बाइडेनलाई ढोका खुलेको छ । 

संसद्ले बाइडेनलाई राष्ट्रपतिमा अनुमोदन गरेको  छोटो समयमै बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रक्रियासम्मत रुपमा सत्ता हस्तान्तरण गर्ने वाचा गरेका छन् । ‘म यो निर्वाचनको नतिजासँग पूर्णत असहमत भएपनि २० जनवरीमा प्रक्रियासम्मत रुपमै सत्ता हस्तान्तरण हुनेछ,’ ट्रम्पले भने, ‘मैले सधैं भन्दै आएको छु कि वैध भोटमात्रै गणना होस् भनेर सुनिश्चित गर्नका लागि हामी हाम्रो लडाई जारी राख्छौं । यसले राष्ट्रपतीय इतिहासमा महानतम् पहिलो कार्यकालको अन्त्यको संकेत गर्छ । यद्यपी, अमेरिकालाई फेरि महान् बनाउने दिशामा हाम्रो लडाईको यो सुरुवातमात्रै हो ।’ 

ह्वाइट हाउसमा प्रवक्ता डान स्काभिनोले ट्रम्पको यो विज्ञप्ति आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । ट्रम्पको ट्वीटर  र फेसबुक एकाउन्ट भने तत्कालका लागि निलम्बनमा छ । दुबै सामाजिक सञ्जालले निर्वाचन प्रक्रियाबारे भ्रम सिर्जना गर्ने ट्रम्पका धेरै विवादीत पोस्टहरुलाई पनि डिलिट गरिदिएका छन् । अमेरिकामा गत नोभेम्बरमा भएको निर्वाचनले इलेक्टोरल कलेजको चयन गरेको थियो भने डिसेम्बरमा बसेको इलेक्टोरल कलेजको बैठकले जो बाइडेनका पक्षमा मतदान गरेको थियो । यस नतिजालाई संसद्ले प्रमाणीकरण गरेको हो ।

संसद्मा हुलदङ्गा 

बुधबार मत अनुमोदनका लागि संसद् बैठक सुरु हुनअघि ट्रम्पका समर्थकहरुले संसद् भवन घेरामा हालेका थिए । ट्रम्पले निर्वाचनमा धाँधली भएकाले राष्ट्रपतिको नतिजा उल्ट्याउन दबाब सिर्जना गर्नका लागि संसद् भवनमा जान आफ्ना समर्थकहरुलाई आग्रह गरेका थिए, त्यसपछि उनीहरुले भवनभित्रै छिरेर हुलदंगा गरे ।

यसक्रममा एकजना प्रदर्शनकारी गोली लागेर घटनास्थलमै मरिन् । यद्यपि, ट्रम्पको प्रयास सफल भएन । घण्टौंसम्म रोकिएर फेरि सुचारु भएको संसद् बैठकले बाइडेनलाई ४६ औं राष्ट्रपतिका रुपमा अनुमोदन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप