बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ट्रम्पविरुद्ध खनिए मार्क जुकेरवर्ग, फेसबुकमा अनिश्चितकालिन प्रतिबन्ध

शुक्रबार, २४ पुस २०७७, १६ : ३६
शुक्रबार, २४ पुस २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारीक फेसबुक र इन्स्टाग्राम एकाउन्ट अनिश्चित समयका लागि निलम्बनमा परेको छ । फेसबुक सिईओ मार्क जुुकेरवर्गका अनुसार कम्तिमा २० जनवरीमा जो बाइडेनले  नयाँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुुअघिसम्म यो निलम्बन कायम हुनेछ ।

जुुकेरवर्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हाम्रो बुुझाईमा राष्ट्रपतिलाई हाम्रो सेवा प्रयोग गर्ने अनुमति  निरन्तर दिनुको जोखिम ठूलो छ । त्यसैले फेसबुक र इन्स्टाग्राममा उनीमाथि लगाइएको प्रतिबन्धलाई हामी अनिश्चितकालका लागि लम्ब्याउँदैछौं र कम्तिमा आगामी दुुई साता, शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण पूरा नभएसम्म यो जारी रहनेछ ।’

जुकेरवर्गले बुधबार वासिङटन डिसीमा भएको ‘स्तब्धकारी घटना’ को निन्दा पनि गरेका छन् । ‘ट्रम्पले पदमा छँदाको बाँकी समयलाई शान्तिपूर्ण र वैध सत्ता हस्तान्तरणको अवमूल्यन गर्ने मनसायले उपभोग गर्ने त्यस प्रदर्शनबाटै स्पष्टै देखिएको छ’ जुुकेरवर्गले भने । प्रजातन्त्रिक तवरले चुनिएको सरकारविरुद्ध हुलहुज्जत निम्त्याउनका लागि ट्रम्पले सामाजिक सञ्जाल प्रयोग गरिरहेको आरोप पनि जुकेरवर्गले लगाए । यसअघि संसद् भवन आक्रमणपछि ट्वीटरले पनि १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट निलम्बन गरेको थियो । 

बुधबार ट्रम्पको आग्रहमा उनका समर्थकहरुले संसद् भवनलाई घेरा हालेका थिए । त्यसयता प्रदर्शनकारीहरु संसद् भवनभित्रै छिरे । गत नोभेम्बरमा भएको निर्वाचनको मतपरिणाम मत सदर गर्दै जो बाइडेनलाई नयाँ राष्ट्रपतिका रुपमा अनुुमोदन गर्नका लागि बसेको संसद् बैठकमा उनीहरुले अवरोध सिर्जना गरे । मुठभेडमा  एक प्रहरी अधिकारी र चारजना प्रदर्शनकारीको मृत्यु, ६० जनाभन्दा धेरै घाइते र हुलहुज्जतको अभियोगमा ८० जनाभन्दा धेरै पक्राउ परेका छन् । प्रदर्शन साम्य भएपछि फेरि बसेको संसद् बैठकले जो बाइडेनलाई नयाँ राष्ट्रपतिमा सदर गरिसकेको छ । त्यसैले २० जनवरीमा जो बाइडेनले पदको सपथ लिनेछन् । संसद् भवनमाथि भएको हमलाको देश–विदेशबाट ठूलो आलोचना भएपछि ट्रम्पले नियमअनुसार सत्ता हस्तान्तरण गर्न आफु तयार रहेको प्रतिक्रिया दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप