मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

एयर इन्डियाका महिला पाइलटले रचे इतिहास

मङ्गलबार, २८ पुस २०७७, १० : ४४
मङ्गलबार, २८ पुस २०७७

एयर इन्डियाका महिला पाइलटको एक समूहले संसारको सबैभन्दा लामो एयर रुटमा उडान भरेर इतिहास रचेका छन् । महिला पाइलटको यो समूह अमेरिकाको सान फ्रान्सिस्कोबाट उडान भरेर उत्तरी ध्रुव हुँदै जनवरी ९ मा बेंगलुरु पुगे । यतिबेला यो समूहले करिब १६ सय किलोमिटरको उडान भरे । यो समूहमा क्याप्टेन जोया अग्रवाल, क्याप्टेन पपगारी थनमई, क्याप्टेन आकांक्षा सोनावारे र क्याप्टेन शिवानी मन्हास समावेश थिए । 

एयर इन्डियाकी क्याप्टेन जोया अग्रवालले यो फ्लाइट नियन्त्रित गरिन् । उनले सीएनएनसँगको कुराकानीमा भनिन्, ‘हामी भारतका छोरी हौं र यो ऐतिहासिक उडान भर्नका लागि हामीलाई मौका दिइयो । हामी भारतीय उड्डयन इतिहासमा नयाँ अध्यायको सुरुवात गर्न सफल भयौं ।’

‘म यसको सदस्य बन्न पाउँदा असाध्यै खुसी छ र व्यक्तिगत रुपमा मैले यो उडान भर्नका लागि पछिल्लो एक वर्षदेखि तयारी गरिरहेको थिएँ,’ उनले भनिन् । 

‘उत्तरी ध्रुवबाटको दृश्य निकै उत्कृष्ट थियो,’ उनकी को–पाइलट क्याप्टेन थन्मई पापागेरीले भनिन् । 

यो दक्षिण भारत र अमेरिकालाई सिधा जोड्ने पहिलो उडान पनि रहेको बेंगलुरुस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलको एक प्रेस वक्तव्यमा जानकारी दिइएको छ । 

‘कलेजबाट ग्राजुएट भएपछि म धेरैसम्म काम विहिन भएँ, किनभने महिला पाइलटका लागि काम नै थिएन,’ अग्रवालले भनिन् । ‘मैले भविष्यमा पाइलट बन्ने सपना बुनेका विद्यार्थीलाई पढाउने गर्थेँ ।’

१० वर्षभन्दा बढि अनुभव भएकी अग्रवालले उनका परिवारले सुरुमा उनको पाइलट बन्ने चाहनालाई अस्विकार गरेको बताइन् । 

‘जब मैले आफ्ना आमा–बुवालाई यसबारे सुरुमा बताएँ तब मैले मेरी आमाको आँखामा आँसु देखेँ किनभने समाजले महिलालाई पुरुषको छायाको रुपमा उनीहरुसँगै हिड्नुपर्ने आशा राखेको हुन्छ,’ अग्रवालले भनिन्, ‘तर मैले आफ्ना आमाबुवालाई मैले यहि नै गर्न चाहेको बताएँ, मैले समाजका सबै मूल्य मान्यता तोडिदिएँ ।’

उनी थप्छिन्, ‘सन् २०१३ मा जब म क्याप्टेन बनेँ तब मेरी आमा पुनः रुनुभयो । तर यसपटक उहाँ खुसीका कारण रुनुभएको थियो । ’ 

पापागारीले उडानका बेला निकै नै योजनाहरु बनाइएको जानकारी दिइन् । 

सहज छैन उत्तरी ध्रुवमा उडान भर्नः

उड्डयन विशेषज्ञका अनुसार उत्तरी ध्रुवमाथिबाट उडान भर्न सहज छैन । प्राविधिक जटिलता हुने भएकोले यसमा कौशल वा अनुभवको आवश्यकता हुन्छ । जोया अग्रवाल एयर इन्डियाकी सबैभन्दा कम उमेरमा बोइंग–७७७ लाई उडाउने महिला पाइलट हुन् । उनले सन् २०१३ मा यो उपलब्धि हासिल गरेकी थिइन् । उनले भनिन्, ‘म संसारमा बोइंग–७७७ की सबैभन्दा कम उमेरकी महिला कमान्डर हुँ । महिलाले आफूमा विश्वास गर्नुपर्छ भलै उनीहरुमाथि समाजको कुनै प्रकारको दबाब होस् । उनीहरुले कुनै पनि काम असम्भव छ भनेर ठान्नु हुँदैन ।’

उत्कृष्ट पाइलटः

एयर इन्डियाका एक अधिकारीले भने, ‘उत्तरी ध्रुव हुँदै उडान भर्नु निकै चुनौतीपूर्ण छ । एयरलाइन कम्पनी आफ्ना उत्कृष्ट र अनुभवी पाइलटलाई यो रुटमा पठाउँछ । यसपटक एयर इन्डियाले सान फ्रान्सिस्कोदेखि बेंगलुरुसम्म उत्तरी ध्रुव हुँदै गरिने यात्राको जिम्मेवारी महिला क्याप्टेनलाई दिएका हौं ।’

भारतका केन्द्रीय नागर उड्डयन मन्त्री हरदीप सिंह पुरीले एयर इन्डिया पाइलटका यी उपलब्धिको तारिफ गरेका छन् । उनले ट्वीट गरे, ‘भारतीय नागर उड्डयन क्षेत्रकी चार महिलाले इतिहास रचेका छन् । क्याप्टेन जोया अग्रवाल, क्याप्टेन थन्मई पापागेरी, क्याप्टेन आकांक्षा सोनावरे र क्याप्टेन शिवानीले उत्तरी ध्रुवको माथिबाट उडान भरेर सान फ्रान्सिस्कोबाट बेंगलुरु पुगेकोमा हृदयदेखि नै बधाई दिन चाहन्छु ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप