आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

वौद्धिक सम्पत्ति चोरिएकोमा गायक स्वप्निल शर्माको आपत्ति: भन्छन्, ‘अरु बोल्न डराउँछन्, म डराउँदिनँ’

आइतबार, २५ माघ २०७७, १३ : ०७
आइतबार, २५ माघ २०७७

द स्याडोज नेपालका फ्रन्टम्यान स्वप्निल शर्माले आफ्नो ब्यान्डको बौद्धिक सम्पत्ति चोरिएकोमा आपत्ति जताएका छन् । 

स्वप्निलले यो कुनै पनि हालतमा सह्य नभएको पनि बताएका छन् । 

वास्तवमा मीम नेपालले द स्याडोज नेपालको पछिल्लो समयमा अत्यधिक चर्चा बटुलेको ‘के पाइस् नेपाली ?’ बोलको गीतको शब्द व्यावसायिक प्रयोजनका लागि प्रयोग गरेको छ । मीम नेपालद्वारा सञ्चालित मीम स्टोर नेपालले ‘के पाइस् नेपाली’ लेखिएको र केराको चित्र अंकित टिसर्ट आफ्नो स्टोरमा उपलब्ध भएको बताएपछि  शर्मा आक्रोशित बनेका हुन् । 

उनले लेखेका छन्, ‘मीम नेपालजस्तो आधिकारिक पेजले हामीसँग कुनै सरसल्लाह नगरी वा हाम्रो अनुमति नै नलिई हाम्रो सामग्री प्रयोग गरेकोमा अपमानित महसुस भइरहेको छ । हामी सबैलाई थाहा छ, यो कसको हो भनेर ।’

यसका साथै उनले लेखेका छन्, ‘द स्याडोज नेपालले सामाजिक मुद्दा मामिलालाई सङ्गीतको रुप दिन अत्यधिक मिहिनेत गरेको छ । यद्यपि, हामी कोही पनि ब्यान्डका सदस्य भौतिक रुपमा सँगै छैनौं । यो कुनै पनि हालतमा मान्य छैन ।’ 

Feeling disgraced that an official page like meme NEPAL is selling our content in their merch store without any legal...

Posted by Swapnil Sharma on Saturday, 6 February 2021

रातापाटीसँगको कुराकानीमा स्वप्निलले यस्तो घटना आफूमाथि मात्रै नभएको भन्दै यसअघि पनि थुप्रै कलाकारमाथि पनि यस्तो भएको बताए । उनले भने, ‘कहिले अल्बाट्रसको गीत ‘खसेका तारा गन्दै’ त कहिले योगेश्वर अमात्यको स्वरबद्ध रहेको ‘क्या बोर भयो’ लगायतका चर्चित गीतका हरफलाई कमाई खाने भाँडोको रुपमा प्रयोग भएका छन् । अरु बोल्न डराउनुहुन्छ तर म त डराउँदिनँ ।’

यता मीम नेपालका मुख्य कार्यकारी अधिकारी मनोज सापकोटाले भने आफूहरुलाई द स्याडोज नेपालले यस्तै प्रकृतिको टिसर्ट बजारमा ल्याइरहेको छ भन्ने कुरा थाहा नहुनु नै ठूलो गल्ती भएको बताएका छन् । ‘म ‘द स्याडोज नेपाल’ को निकै ठूलो प्रशंसक हुँ । यो गीत मैले थुप्रै पटक सुनेको पनि छु ।  देशको अहिलेको स्थितीले मानिसहरुमा निराशा छाएको छ । यतिबेला मानिसहरुले यस्ता शब्द लेखेका टिसर्ट लगाएर आफ्नो असन्तुष्टि पोख्न सक्छन् भन्ने उद्देश्यले टिसर्ट बनाउन खोजेका थियौं ।’

मनोज भन्छन्, ‘हामीले कलाकारलाई पछि पार्ने उद्देश्यले यसो गरेका होइनौं । उहाँहरुको के पाइस् नेपाली भन्ने बोलको गीत लकडाउन अघि आएको हो, लकडाउनका बेला हामीले यसको डिजाइन गर्यौं, यसलाई स्वप्निल दाइले पनि सेयर गर्नुभएको थियो । हाम्रो सबैभन्दा ठूलो गल्ती भनेको जानकारी नहुनु नै हो । नगर्नुपर्ने कुरा गरियो ।’

Respected The Shadows 'Nepal', we are extremely apologetic for selling products belonging to a segment of the song 'K...

Posted by meme NEPAL on Saturday, 6 February 2021

यसका लागि मीम नेपालले द स्याडोज नेपालसँग माफीसमेत मागेको छ । मनोजले रातोपाटीलाई आफू र स्वप्निलबीच नीजि फोन संवादपछि कुरा मिलिसकेको पनि जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप