बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

स्मार्ट सिटी

शनिबार, २१ असोज २०७४, १२ : ३६
शनिबार, २१ असोज २०७४

दीपक घिमिरे 

सात वर्षको लामो खाडी बसाइपछी आज नेपाल जाँदैछु । 

 प्लेनको पर्खाइमा अबुधाबी एयरपोर्टको टर्मिनल टुमा बसेको छु । यो लेखाइ मेरो प्यारो देशको सबैभन्दा ठूलो शहर काठमाण्डौ पुगेपछी अन्त्य हुनेछ ।

सात वर्ष अघि हरियो पासपोर्ट बोकेर खाडी छिर्दा म नेपाललाई खास्सै माया गर्थेन । त्यहाँको अभाव , दुःख अनि आर्थिक पीडाले छटपटिएर खाडी आउँदा म यहि खाडीलाई आफ्नो कर्मथलो मान्दै आएको थिए र यहि देशको माया लाग्थ्यो । 

तर समय सँगै जन्मथलो नेपालको माया लाग्न थाल्यो । पैसा भन्दा प्यारो परिवार लाग्न थाल्यो  ।  काम भन्दा ठूला आफन्त लाग्न थाले । 

अनि सात बर्ष लामो खाडी बसाईलाई बिट मार्दै उड्दैछु नेपाल । 

यति लेख्दा लेख्दै इत्तेहाद एयरको नेपाल जाने  बोइङ आइपुगेको खबर पाए । लेख्न छाडेर चेक इन हुने लाइनमा उभिएँ । अनि बोइङ पास लिन हतारिए । 

पि–४ सिट नम्बर भएको बोईङ पास पाएँ । यो सिट ठ्याक्कै झ्याल तिर रहेछ । साइडमा तीन जना अरबी युबा थिए । म आफ्नो सिटमा बसेपछि सुरु भयो परिचयात्मक कार्यक्रम । 

नेपालको हाईड्रोपावरमा जागिर गर्न दुबईबाट नेपालमा भिषा पाएका ती युबाहरु काठमाडौ जाँदै रहेछन् । मैले सात वर्ष उनीहरुको देशमा मजदुरी गरेर फर्कदै छु भन्दा एउटाले पनि विश्वास गरेनन् । उनीहरु नेपाललाई विश्वकै एक नम्बरमा अर्थतन्त्र बलियो भएको देशको रुपमा बुझेका रहेछन् ।

 मैले सात बर्ष उनीहरुको देशमा मजदुरी गरेको कुरा सुनेर एउटाले भन्यो ‘ झुट नबोल मित्र ! विश्वभरीका मान्छेका लागि नेपालको वर्किङ भिषा लाग्नु सपनाको कुरा हो । नेपालीको प्रतिब्यक्ति आए सुनेर हामी दङ्ग पर्छौं तर तिमी चै मजदुरी गर्न यो देश आएको कुरा गर्छौ । ’
 
उसले यस्तो भनेपछि म आफै अचम्म परे । उनीहरुको कुराले अलिकति हसायो पनि । अनि उनीहरुको भिषा कपि मागेर हेरेँ । 

अपर कर्णाली हाईड्रो प्रोजेक्टमा सामान्य मजदुरीको भिषा रहेछ । आफ्नै देश नेपाल बाहिरी मुलुकबाट श्रमिक आयात गर्ने हैसियतमा पुगेको देखेर छक्क परे । श्रम सम्झौता पत्र मा उनीहरुको तलब प्रति घण्टा दस डलर लेखिएको थियो । उनीहरु नेपालमा भिषा लगाउन सफल भएकोमा निक्कै खुशी देखिन्थे । 
 
सामान्य मजदुरलाई यो तलब भनेको मैले गर्ने कल्पना भन्दा माथि थियो । झुटो हो कि भनेर श्रम स्वीकृतिपत्रको लोगो हेरे । श्रम मन्त्रालयको सक्कली लेटर प्याडमा मन्त्रालयका सचिब तारिणी शर्माले सहि छाप गरेका थिए । सबै भिषा सक्कली थियो । 

मासिक तीस हजारका लागि अबुधाबी छिरेको मैले आफ्नै देशमा सामान्य मजदूरले मासिक लाखौं कमाउने भैसके भन्दा पत्याउनै सकिनँ । तर बास्तबिकता यहि थियो । देशले सात बर्षमै कायापलट गरेको रहेछ । 

आर्थिक रुपमा कोल्टे फेरेको मेरो देशले हाईड्रो पावर र पर्यटन क्षेत्रबाट आर्थिक लाभ उठाउदै बिश्वमा सबैभन्दा धनी देशहरुको सुचिमा एक नम्बरमा परेको रहेछ । 

लगभग चार घण्टाको उडान पछि प्लेन त्रिभुवन अन्तरराष्ट्रीय बिमानस्थलमा ओर्लियो । बिमानस्थलमा ओर्लना साथ मलाई मेरो देश बिश्वकै धनी देश भएको महसुस भयो । सात बर्ष अघि देखेको एयरपोर्ट र आज देखेको एयरपोर्ट बीच आकास जमिनको फरक थियो । 

एयरपोर्ट भित्रका ड्युटी फ्री सपहरु सायद बिश्वकै उत्कृष्ट सप हरुमा पर्दथे । एयरपोर्टमा काम गर्ने क्लिनरदेखि भिषा पासपोर्ट चेकिङमा बसेकाहरु बिश्वका हरेक कुनाबाट आएकाहरु जस्तै लाग्दैथ्यो । कोही काला थिए त कोही गोरा अनि कोही पुर्बी एसियाका जस्ता ।

 नेपालीहरु खास्सै देखिएनन् , सायद अफिस भित्र बसेर निर्देशन दिने काम नेपालीको हुन्थ्यो होला । किनकी अहिले नेपालीहरुको हैसियत धेरै माथि पुगीसकेको थियो ।

एयरपोर्ट बाट बाहिर निस्केपछी म अचम्म परे । 

के यो साच्चै मेरो काठमान्डौ हो भनेर आफैलाई प्रश्न गरे । पत्याउनै नसकेर एक पटक आफैले आफैलाई चिमोटे , कतै म सपनामा त छैन भनेर । 

म बिपनामै थिए । म अहिले काठमाण्डौ स्मार्ट सिटि भित्रको एयरपोर्टमा पार्कीङ एरीयामा थिए । 

टोयोटा कम्पनिको क्याम्री भन्ने कारहरु ट्याक्सीको रुपमा थिए । म खाडी जादा सुजुकी मारुती खटारा ट्याक्सीले भरिएको काठमाण्डौ स्वच्छ सफा अनि हराभरा भएको देख्दा अचम्म नपर्ने कुरै भएन ।

 टोयोटा कम्पनिको ट्याक्सि चढेर एयरपोर्टको गेट क्रस हुदै थिए  , गौसाला तिरबाट एउटा लामो पुल एयरपोर्ट हुँदै तिनकुने तिर गएको देखे ।
 
ट्वाँ परेर हेर्दै थिए , सुलुत्त एउटा मेट्रो रेल कुदेर गयो ।

 म अचम्म परी मोबाईल निकालेर फोटो खिच्ने सुर गर्दै थिए , ट्याक्सीले भित्र अँध्यारो भयो । झोला बाट मोबाईल ननिकाली बाहिर हेरेको सोच्नै नसकिने अबस्था ।

हासो र आश्चर्य एकै पटक बाहिर आयो अनि ट्याक्सी ड्राईभरलाई सोधे ‘ किन अँध्यारो ? ’
 
उसले सामान्य हुँदै भन्यो ‘ यो प्वाईन्ट बाट सुरुङ्ग मार्ग पक्ड्यो भने हामी गंगबु बसपार्कमा निस्कन्छौ । माथीबाट भन्दा यहि रुट सजिलो लाग्छ मलाई र छोटो पनि पर्छ हजुर । ’
 
उसलाई सामान्य लागेपनि म अचम्म नहुने कुरै भएन । छक्क परेर सुरुङ मार्ग नियाली रहे ।


 शहरमा सडक सञ्जाल यसरी बिकसित भएको रहेछ कि कुनै जमानामा बसपार्क बाट एयरपोर्ट पुग्न दुई घण्टा लाग्थ्यो भनेर अब कथामा सिमित हुने भयो । माथी मेट्रो रेल गुडेका छन सुलुलुलु , भुईमा आठ लेनको सडक छ चिल्लो अनि अन्डरग्राउण्डमा सुरुङ्ग मार्ग छ सलललल । 

म एकोहोरो सोच्दै थिए , गंगबु बसपार्कमा ट्याक्सी उक्लियो । 

बसपार्क यति ब्यबस्थित थियो कि वर्णन गर्न सकिन । 

बसहरु दुई तले सम्मका थिए । लामा बसहरु हेर्दै अचम्म लाग्ने रेल जस्ता पनि थिए । ट्याक्सीको बिलिङ सिस्टम रहेछ । उसले बिल दिदै भन्यो ‘ एक सय असी रुपैया मात्र । ’
 
मैले दुई सय रुपैया दिदै भने ‘ घर कहाँ हो भाई ? ’

उसले भन्यो ‘ सिक्किम हो दाइ ! ड्राईभिङ भिषामा नेपाल आको तीन बर्ष भयो । ’
 
भारतको एउटा प्रान्त हो  सिक्किम । भारतबाट नेपाल आउन भिषा लगाउन पर्ने नियम बनेको रहेछ । खुशीले गदगद भए । सोचेँ ! अब भारतिय हरुले हाम्लाई हेप्ने दिन सकिएछन । 

दुईचार दिन यतै काठमाण्डौमा बस्ने रहर पलायो । बसपार्कको उत्तर साईडमा एउटा गगनचुम्मी टावर देखे । ठुला अक्षरमा लेखिएको थियो ‘ ट्रम्प होटेल । ’
 
सायद यो होटेल अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पको हुनुपर्छ । 

बसपार्कमा झाडु लगाउदै कागजका खोस्टा अनि फोहर उठाउदै गरेको एउटा बिदेशी कालेलाई बोलाएर सोधेँ ‘ बाँस बस्नको लागि त्यो ट्रम्प होटलमा कसरी जाउ ? कता बाट छ बाटो ? ’
 
उसले नजिकै भएको एउटा सानो इलेक्ट्रीक कार देखाउदै भन्यो ‘ त्यसैमा बस्नुस ! त्यो होटलले निःशुल्क राखेको सवारी साधन हो । त्यसमा बसेपछी सिधै होटल । ’
 
बाहिरी देशको जस्तो भएपनि उ मज्जाको नेपाली बोल्दै थियो । उसलाई धन्यबाद भन्दै सोधे ‘ कुन देश बाट आएको ? ’ 
उसले लजाउदै भन्यो ‘ अमेरिकाको टेक्सासबाट ! ’

गर्वको महसुस भयो । मेरो देशले फड्को मारेको देखेर गौरवान्बित भए । अनि उसले ईशारा गरेको सानो कारमा बसे । कारको ड्राईभरले नसोधी ट्रम्प होटलमा लिएर आयो । 

एकसय तीस तले यो बिल्डिङको नाम प्रचण्ड टावर रहेछ । प्रचण्ड प्रधानमन्त्री हुदा बनेको सरकारी भवन रहेछ यो प्रचण्ड टावर । सरकारले ट्रम्प होटललाई भाडामा दिएको रहेछ । अबको बसाई यहि होटलमा हुने भयो ।

रिसेप्सनमा ईजिप्टको नागरीक जस्ती एउटी रिसेप्सनिष्ट रैछिन् । 

मैले पासपोर्ट देखाउदै रुम बुक गर्न खोजे । 

उनले मेरो पासपोर्ट हेरेर जुरुक्क उठिन अनि नेपाली पारामा नमस्कार टक्र्याउँदै स्वागत गरिन् । 

पछि थाहा पाएँ– यहाका होटेलहरुमा नेपाली देख्ने बित्तिकै निक्कै आदर सत्कार हुँदो रहेछ  । अनि शुःल्क पनि पचास प्रतिसत डिस्काउण्ट। 

बत्तिसौ तलाको स्विट रुममा बसेर एक पटक काठमाण्डौलाई नियाले । मेरो काठमाण्डौ साच्चिकै अबुधाबी दुबई या युरोपका कुनै शहर भन्दा कम थिएन ।

 कसैले ढोका ढक्ढ्याएको जस्तो अनुमान लगाउदै ढोका खोल्दिए । बाहिर बेल्जियमबाट रोजगारीको सिलसिलामा नेपाल आएको वेटर रहेछ । पानी लिएर आएको उसको नाम थियो डानियल स्मिथ । 

उ सँग एकछिन गफ मारेँ । उ म जस्तै नेपाली बोल्दो रहेछ । उसले डिउटी एक बजे सकिने अनि डिउटी सकेर टुडिखेलमा सैनिक परेड हेर्न जाने निर्णय गरेको सुनायो । 

म उत्साही हुँदै सँगै जाने सल्लाह गरँे , उ खुशी भयो । 

म फ्रेस भएर तल ओर्लिए , उ मलाई कुरेर बसेको थियो । होटेलको पार्किङमा गएर आफ्नो कार झिक्यो । 

ओ माई गड ! उसले बेन्टली कार किनेको रहेछ । स्पार्टी लुक्सको बेन्टली कार बाहिर ल्याएर भन्यो ‘ तपाईं ड्राईभ गर्ने या म गरु ? ’
 
आफुलाई राम्रो सँग बाईक चलाउन आउदैन , कहाँ बाट कार चलाउनु ? 

भन्न पनि लाज ! मैले उसलाई चलाउन आग्रह गर्दै भने ‘ तिमी चलाउ , म थाकेको छु । ’
 
उसले आठ लेनको चिल्लो सडकमा बेन्टली स्पोर्ट कार सय भन्दा माथीको स्पिडमा कुदायो । म दङ्ग परेर स्मार्ट सिटि काठमान्डौ नियाली रहे । 

टुडिखेलमा पुगेपछिको रौनक नै छुट्टै । 

आकाशमा एफ–१६ वाला फाईटर विमानले आफ्नो कला देखाउदै थिए । सैनिकहरु विभिन्न खाले आधुनिक हतियार र ट्यांकहरु प्रदर्शन गर्दै थिए ।

लहरै बसेका विभिन्न देशका राष्ट्रप्रमुखहरु हाम्रो देशको सैनिक अभ्यास बडो चाख मानेर हेर्दै थिए । पुस्पक बिमानहरुले टुडिखेल क्षेत्रमा पुस्प वर्षा गर्दै थिए । 

म भिडलाई चिर्दै अगाडि बढे । नेपाली भन्ने बित्तिकै बाहिरी देशका पर्यटक र श्रमिकहरुले निक्कै इज्जत गर्दा रहेछन् आज पहिलो पटक अनुभब गर्दै छु । 

आज महा शिबरात्री पर्व रहेछ । 

यो दिन हाम्रो देशका सैनिकले आफ्नो हैसियत र क्षमता सारा बिश्वभर प्रदर्शन गर्ने पुरानो चलन हो । तर फरक यत्ती थियो कि आज हाम्रो देशको सैनिक क्षमता देखेर जापान , चाइना अनि अमेरिका जस्ता शक्तिशाली राष्ट्रहरु झुक्न बाध्य छन् । संसारकै शक्तीशाली राष्ट्रको रुपमा नेपालको उदय भएको छ । 

म सैनिक अभ्यास हेर्न मञ्चकै नजिक गए । 

बडो हर्सोल्लासका साथ सैनिक अभ्यास चल्दै थियो । म रोमान्चित मुडमा थिए । सैनिकले राष्ट्रपतीलाई एक्काईस तोपको सलामी चढाउदै थियो । 

टुडीखेलमा एकै पटक भटटट तोपका आवाज गुञ्जिए । राष्टपतिसलामी ग्रहण गर्न निक्कै ब्यस्त देखिन्थे । 

तोपको सलामी आवाज सँगै झल्यास्स ब्युझिए ।

 मोबाईलमा छ बजेको आलार्म बजेको रहेछ भटटट गरेर ।

 अस्ति नयाँ मोबाईल किनेपछी साथीले तोपको जस्तो आवाज आउने आलार्म टोन सेट गर्दिएको थियो । जहिले ढिला काममा जाने म आजपनि देशको र स्मार्ट सिटि काठमाण्डौको सपना देखेर ढिलै भएछु । 

हतारका साथ निलो लेबरको ड्रेस लगाउदै  कुदेर टाटाको लेबर चढ्ने बसमा बसे । अनि बसले लेबर क्याम्प मुसफ्फा लाई छाडेर बनियास तर्फ मोडीयो । स्मार्ट सपनामा रमाउदै अरु चार महिना बिदेश बस्ने दिन गन्दै काममा लागियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप