बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली उत्सव : वीरेन्द्रनगरमा साइकल र्‍याली

बुधबार, २६ फागुन २०७७, १२ : २७
बुधबार, २६ फागुन २०७७

सुर्खेत । ऋति फाउण्डेशनद्वारा आयोजित कर्णाली उत्सवको पूर्वसन्ध्यामा  साइकल र्‍याली निकालिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा  ५० भन्दा बढी साईक्लिष्टहरुले आज बिहानै  शहर घुम्दै, देउती बज्यै–काँक्रेबिहार–लाटीकोईली–बुलबुले सम्म र्‍याली गरेका हुन् । 

कर्णाली उत्सव आयोजक समितिका सदस्य समेत रहेका लेखक तथा साइकल यात्री माधव चौलागाई सहितले साइकल र्‍याली गरेका थिए । वीरेन्द्रनगर  ‘साइकलमैत्री’ शहर भएकाले कर्णाली उत्सव उद्घानको दिनमै साइकल र्‍याली गरिएको हो । र्‍यालीमा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी पनि सहभागि बनेका थिए ।  उसो त कर्णाली  प्रदेश सरकारले पनि वीरेन्द्रनगरलाई साइकलमैत्री शहर बनाउने योजना नै लिएको छ ।

आज दिउँसो दुईबजेदेखि उद्घाटन हुने उत्सव  कार्यक्रमको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने छन्  । 
बुलबुले उद्यानमा हुने यो कार्यक्रम २९ गते सम्म सञ्चालन हुने छ । यस अवधिमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीय जस्ता विषयमा वृहत वहस हुनेछ ।  
उत्सवको सुरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव प्रा.डा. जगतप्रसाद उपाध्यायले ‘कर्णाली चिनाउने योगी’ शीर्षकमा प्रवचन दिनेछन् भने प्रदेश राजधानी ‘वीरेन्द्रनगरको बैभव’का विषयमा वीरेन्द्रनगरमा मेयर देवकुमार सुवेदी र नीति निर्माणमा सार्वजनिक बहसको महत्वका बारेमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले ‘कुरा कोट्याउने’  आयोजकले जनाएको छ । यस्तै खस भाषाका विषयमा रमानन्द आचार्य, व्यवसायका विषयमा सुर्खेत उद्योग वाणिज्य संघका सदस्य सिया कार्की, प्रदेशमा पत्रकारिताको अवस्थाका विषयमा प्रदेश पत्रकार महासंघका अध्यक्ष दुर्गा थापा, खुला छलफल र पत्रकारिताका विषयमा कलेन्द्र सेजुवाल, विश्वविद्यालय बाहिर प्राज्ञिक बहसका विषयमा कमलेश डिसीले शुभकामना मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ ।

आजै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले ‘कर्णाली किन घुम्ने’, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले ‘कर्णालीमा महिला नेतृत्व’ र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ‘अर्थ र बहस’ विषयमा प्रवचन दिनेछन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप