आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निकासका लागि काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्छः रामचन्द्र  पौडेल

मङ्गलबार, ०३ चैत २०७७, १३ : ०६
मङ्गलबार, ०३ चैत २०७७

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीतिक निकासका लागि काँग्रेसले सरकारको नेतृत्व गर्नु पर्ने बताएका छन् । मंगलबार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पुरस्कार वितरण समारोहमा बोल्दै काँग्रेस वरिष्ठ नेता पौडेलले माओवादी र जसपालाई साथमा लिएर काँग्रेसले सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताएका हुन् । 

वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवाको मौनता रहस्यमय भएको समेत टिप्पणी गरेका छन् । नेता पौडेलले मुलुक चरम संकटमा पर्दा पनि पार्टी सभापति शेरबहादुर देउवाको उदासिनता र रहस्यमय मौनताप्रति आफूलाई आशंका लागेको बताए । 

सभापति देउवाको मौनताले नै मुलुक अनिर्णयको बन्दी बनेको उनको आरोप छ । उनले अहिलेको अवस्थामा काँग्रेस नेतृत्व अनिर्णित र ढुलमुले अवस्थामा रहन नहुने समेत बताए । ‘मुलुक गम्भिर राजनैतिक अवस्थामा रहेको बेला काँग्रेस नेतृत्व अनिर्णीत र ढुलमुले अवस्थामा रहनु हुँदैन’ उनले भने । ‘अब काँग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गर्दै समस्याको निकास दिनुपर्छ ।’

वरिष्ठ नेता पौडेलले अधिनायकवादी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट निकालेपछि मात्रै मुलुकले निकास नपाउने बताए । उनले प्रधानमन्त्री ओलीलाई हटाउनु नै अहिलेको उत्तम विकल्प भएको बताउदै कुर्चीबाट हटाएपछि मात्र मुलुकले सही दिशा लिने स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीलाई बर्माको सैनिक शासकको संज्ञा दिंदै नेता पौडेलले नेपालमा पनि त्यस्तै शासन चलाउन ओली उद्धत रहेको आरोप लगाए । नेपालको राजनीति उल्टो दिशातर्फ गएको भन्दै नेता पौडेलले राष्ट्रिय–अन्तर्राष्ट्रियजगतबाट नेपाललाई खेल मैदानको रुपमा प्रयोग गर्न खोजिएको दाबी गरे । उनले लोकतन्त्र र संविधानको रक्षाका लागि अधिनायकवादसँग लड्नुपरेको बताए । 

वरिष्ठ नेता पौडेलले सवै पार्टी एकै ठाउँमा उभिएर केपी ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिए ।  नेता पौडेलले मुलुकलाई सही ढंगले चलाउने पार्टी काँग्रेसबाहेक अन्य हुन सक्ने ठोकुवा समेत गरे । नेपाली काँग्रेस कास्कीका नेता शुक्रराज शर्माले लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्न नेतृत्वलाई सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप