बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

झलनाथ-माधव समूहको राष्ट्रिय भेला : कसले के भने ?

बिहीबार, ०५ चैत २०७७, १४ : ५७
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) झलनाथ खनाल– माधव नेपाल समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा(एमाले) माधव समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ ।

भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा(एमाले) का नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको बताए । भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओली लगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने उनको भनाई छ । वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने कुरामा आफुहरुको जोड रहेको पनि उनले बताए ।

नेकपा(एमाले)का नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए । नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाई छ । नेकपा(एमाले) का नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफुहरु सहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिए ।

नेकपा(एमाले)कि नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताइन् । नेकपा(एमाले)लाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने उनको भनाई छ । नेकपा(एमाले)का नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गीय दृष्टिकोण छोडेको आरोप लगाए । ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उनको भनाई छ । नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफुहरु पनि गल्ती सच्याउन तयार रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप