बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

सोमबार, १३ वैशाख २०७८, १४ : ५१
सोमबार, १३ वैशाख २०७८

काठमाडौं । पश्चिम क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव भएको छ । जसका कारण संक्रमितहरु उपचारबाट बन्चित भएका छन् । गत बर्ष सरकारले केन्द्रबाट चिकित्सक पठाएर केही सहयोग गरेको भएपनि यस पटक चिकित्सक अभावमा अवस्था भयावह भइसकेको छ । दाङ तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन् ।

उनी भेरी अस्पताल आसपासमा उपचारको लागि दौडधूप गरिरहेको भेटिन्छन् । आफूसँगै संक्रमित श्रीमतीको उपचारका लागि उनको दौडधूप बढेको हो । अस्पताल बसाई उनका लागि निकै कष्टकर बनेको छ । केही दिन अघिमात्रै उनले कोरोना संक्रमणकै कारण छोरी गुमाएका छन् । दाङमा स्टाफ नर्सको रुपमा कार्यरत रहँदा उनकी छोरी संक्रमित भएकी थिइन् । उपचारकै क्रममा उनको मृत्यु भयो । यस्तो पीडाका बीच अस्पतालमा राम्रो उपचार गराउन नसकेको उनको गुनासो छ ।  

यो त प्रतिनिधि घटना मात्रै हो । भेरी अस्पतालमा यसैगरी कोरोना संक्रमित भई छट्पटाइ रहेकाहरु प्रशस्त भेट्न सकिन्छ । भेरी अस्पतालको कोरोना बेड भरिएपछि स्थिति नियन्त्रण बाहिर गएको हो । कोभिडको लागि छुट्याइएको १ सय ४२ बेड भरिएपनि संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी छ । कोभिडका विरामीलाई भर्ना गर्न नसकेर मूकदर्शक भएर बस्नुको विकल्प नभएको चिकित्सकहरुले बताएका छन् । आइसोलेशनको अभावका कारण संक्रमितहरु उपचार पाउनबाट बञ्चित छन् । अस्पतालमा जटिल अवस्थाका विरामीहरु थपिने क्रम बढ्दो छ । भर्ना भएका विरामीहरु डिस्चार्ज भएपछि मात्रै अर्को संक्रमितले बेड पाउने अवस्था रहेको भेरी अस्पतालका फिजिसियन डाक्टर संकेत रिसालले बताए ।

जिल्लाभर १ हजार २ सय ६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् । भेरी अस्पतालले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुनसक्ने बताइसकेको छ । दैनिक एक सयभन्दा बढी कोरोनाका विरामीहरु थपिदै गएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप