सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसलाई मजदुर दिवस छुँदैन, भन्छन्–काम नगरी हातमुख जोड्न पाइँदैन’

शनिबार, १८ वैशाख २०७८, १३ : १८
शनिबार, १८ वैशाख २०७८

पोखराको मालेपाटनकी गीता क्षेत्रीको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । आकासिएको महँगीसँगै छोराछोरीको पढाई खर्च र बिहान बेलुकाको हातमुख, जोड्ने जोहो गर्न  दैनिक रुपमा काममा निस्कनु गीताको बाध्यता हो । 
झिसमिसेमा उठेर घरको दैनिक र त्यसपछि ज्यालादारीमा काम गर्न निस्कनु उनको दैनिकी नै हो । बिहान र दिउँसोको चर्को घाममा इँटा, ढुङ्गा माटोको काममा नै उनको समय बित्ने गर्छ । दैनिक ज्यालादारीमा काम गर्ने र त्यही ज्यालाले बिहान बेलुकाको गर्जो टार्दै आएको उनले बताइन् । 

उसो त दैनिक काम गर्न चाहँदा समेत सधैँ काम पाइँदैन । काम नभएपछि हातमुख जोड्न समस्या हुने उनी बताउँछिन्। ‘दैनिक ज्यालादारीमा गए मात्रै हातमुख जोर्ने जोहो हुने हो,’ सेतीको बालुवा चाल्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘मजदुर दिवस हामी जस्ता दुःखीको लागि कागलाई बेल पाक्यो, हर्षन विस्मात । यो त राम्रो कमाउने र रमाउनेका लागि हो।’ 

सधैँ झै शनिबार पनि उनी बिहानै थुन्से बोकेर काममा निस्किइन् । पोखराको नयाँबजार नजिकैको मध्यभागमा पर्ने सेती किनारामा बालुवा चालेर उनी दैनिक ७ सय रुपैयाँ थाप्छिन् । धादिङ घर भएकी गीताको पोखरामा डेरा छ । ज्याला मजदुरीको काम गरेर नै उनले आफ्ना छोराछोरी पढाइरहेकी छन् । 

उनका तीन छोरी र एक छोरा गरी चार सन्तान पोखराको जनप्रिय स्कुलमा पढ्छन् । उनीहरुको खाजा, नास्ता, कापि कलम र ड्रेसको खर्चको चाँदोपाँदा मिलाउन हम्मे हम्मे पर्ने गरेको गीताले सुनाइन् ।  पढाइलेखाइ नहुँदा आफूले खानुसम्मको हन्डर खाएकाले छोराछोरीको उज्ज्वल भविष्यको लागि रातदिन दुःख गरेको उनले बताइन् । ‘श्रीमानको शारिरिक अशक्तताले सवै बोझ मेरै थाप्लोमा छ’,उहाँले कडा श्रम गर्न नसकेपनि बाध्यताले सक्दो सहयोग गर्दै आउनु भएको छ’ उनले भनिन्, ‘कमजोर भएपनि छोराछोरीको भविष्यको लागि दुःख गर्नु पर्ने बाध्यता छ।’ 

पढाइसँगै ठूली र माइली छोरीले स्कूल बिदा हुँदा आफूलाई कमाइ गर्न सघाउँदै आएको गीताले बताइन् । शनिबार १३२ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस कोरोना कहरका कारण तडकभडकका कार्यक्रम नगरी श्रमिकहरूबीच छिटफुट रुपमा मनाइँदै छ । 

गण्डकी प्रदेशमा सरकार लगायतका विभिन्न संघसंस्थाहरूले कोभिडको महामारीलाई मध्यनजर गर्दै सामान्य रुपमा यो दिवस मनाएका छन् । तर, गीतालाई यसको मतलब छैन । मतलब पनि के गर्नु, काम नगरी मुखमा माड लाग्ने होइन। 

गीताका श्रीमान रामबहादुरका अनुसार पत्नी दैनिक ७ सय रुपैयाँ कमाउँछिन्। आफूले पनि हल्काफुल्का काम पाउँदा मात्र थोरै रकम कमाउने गरेको उनको भनाइ छ ।  ‘पोखराको महँगी, केटाकेटी दैनिक यो र त्यो चाहियो भन्छन्,’ उनले भने, ‘आमाको कमाइले पुग्दैन । मैले गाह्रो काम गर्न सक्दिनँ, हल्का काम नै पाइँदैन । ऋण कसैले पत्याउँदैन ।’

दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्दै आएका रामबहादुरको परिवारलाई गत वर्षदेखि विकराल बन्दै गएको कोरोना संक्रमणले थप प्रभावित बनाएको छ ।  कोरोना संक्रमण फैलिएको भन्दै गत वर्ष सरकारले लगाएको लकडाउनका कारण लामो समयसम्म निर्माणको काम अवरुद्ध हुँदा निकै समस्या परेको थियो । फेरि यस वर्षपनि संक्रमण तीव्र भएपछि सरकारले निषेधाज्ञा जारी गरेकाले कसरी बिहान बेलुका हातमुख जोड्ने हो भन्ने चिन्ताले सताउन थालेको गीताको भनाइ छ । 

मजदुरको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आएको रामबहादुर जीवीको पार्जनको लागि सानै उमेरदेखि मजदुरी गर्दै आइरहेको बताउँछन् । मजदुर दिवसका बारेमा आफूलाई पूर्णरुपमा जानकारी नभएको उनी भन्छन्, ‘श्रमिक दिवसमा सबैको मिठो मसिना खाने र रमाइलो गरेर मनाउँछन होला, खै हाम्रो त कमाइ केही छैन, के खानु के रमाउनु ? एक दिन काम नगरे साँझ चुलोे बल्दैन ।’ 

उनीहरुको धादिङको सल्लेनटारमा एउटा सानो घर र एकहलको बारी थियो । ‘खेतीपातिबाट पेटपाल्न मुस्कील भएपछि कामको खोजीमा परिवार सहित पोखरा छिरेका थियौं,’ रामबहादुरले भने, ‘पोखराको चर्को घरभाडा र महँगीले दैनिकी चलाउन समस्या भएको छ । कोरोनाको संक्रमण बढेपछि नियमित काम पाउन छाडिसक्यो । कमाई भन्दा खर्च धेरै हुने अवस्था छ ।’ 

 गीता क्षेत्री जस्तै बिमला नेपाली, शन्तु कुमारी थापा, सरिता बिकलगायत महिला श्रमिकलाई मजदुर दिवसले छोएन । उनीहरुलाई आज मजदुर दिवस हो भन्नेसम्म जानकारी छैन । श्रमिक महिलाहरु सँधै जस्तै गिट्टी कुटिरहेका छन् । बालुवा बोकिरहेका छन, पसिना चुहाइरहेका छन् । एक दिन काम नगर्दा उनीहरुलाई हातमुख जोर्न मुश्किल पर्छ । सन्तान सहितका श्रमिक एकल महिलाको जीवनयापन झन् संघर्षपूर्ण र सकसपूर्ण छ ।

कास्कीको ल्वाङघलेलकी बिमला नेपाली बिहान झिसमिसेमै सेती नदीको किनारमा पुग्छिन् । नदी किनारामा भागबण्डा गरिएको क्षेत्रको बालुवा र गिट्टी ढुङ्गा छुट्टाएर रास थुपार्छिन् । आज मजदुर दिवसको दिनपनि उनको यही  नित्य कर्म जारीनै छ।

सरिता विकको पनि उस्तै समस्या छ । पोखरामा फलफूल बेचेर उनले दैनिकी गुजारेकी छन् । छोरा ५ कक्षा पढ्ने भएको छ । ‘बिहानै मन्डीबाट सामान ल्याएर छोरालाई खानापकाएर खुवाएपछि म डोको बोकेर निस्कन्छु,’ सरिताले भनिन्, ‘दिनभरी बजार डुलाएर फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहान बेलुका हातमुख जोड्छु। यो मेरो दैनिकी नै हो। अहिले कोरोना बढेको भन्दै सरकारले निषेधाज्ञा लगाएपछि व्यापारनै ठप्प भएको छ,अब, बिहान बेलुका हातमुख जोडन पनि सकस हुन थाल्यो ।’

तनहुँकी अनिता नेपालीले पृथ्बीचोकमा यसैगरी गुजारा चलाएकी छन् । बेलाबेला नगर प्रहरीको हप्की सहनु परेको उनको दुखेसो छ । ‘कतिपटक सामान हु-याइदियो, कतिपटक जफत गरिदियो । हामीले सहर बिगा¥यौं भन्छ महानगर,’ अनिताले भनिन्, ‘हामीलाई दुख नगरि खान पुग्दैन । सरकारले मजदुर दिवस भनेर शुभकामना दिएर हाम्रो पेटले त भरिँदैन नि,मजुर दिवस भए नेता र हुने खानेलाई होला, हामी दुखीलाई केको मजदुर दिवस ।’
पोखराको दोबिल्लादेखि मकैको घुवा लिएर बेच्न आइपुगेकी ५६ वर्षीय बिन्दु परियारलाई पनि मजदुर दिवसबारे जानकारी छैन । उनी भन्छिन्, ‘मलाई अरु कुराको चिन्ता छैन । यति एकडोका मकै बिके पुग्छ ।’

पोखरा रामघाटमा अन्य महिलाहरु काममा व्यस्त छन् । यहाँका श्रमिक महिलाका आफ्नै दुख र व्यस्तता छन् । मजदुर दिवस के हो उनीहरुलाई मतलब छैन । उनीहरुको गिटी बालुवा चाल्न र बोक्नु नै दैनिकी बनेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप