बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एकै घरका चारजनाको योजनाबद्ध हत्या भएको पीडितको दावी

आइतबार, २९ असोज २०७४, १८ : ४२
आइतबार, २९ असोज २०७४

अर्जुन जम्नेली राई 

मोरङ– मोरङमा एकै परिवारका चार जनाको योजनावद्ध हत्या भएको भन्दै पीडितले गुनासो गरेका छन् । उनीहरुले प्रहरीको अनुसन्धानमा ढिलाइ भइरहेको भन्दै असन्तुष्ट जनाएका छन् । 

विराटनगरमा पत्रकार सम्मेलन गरी पीडितले न्यायका लागि सहयोग गरिदिन पत्रकारहरुलाई आग्रह गरेका छन् । ‘आमा, दाई, भाउजु, दिदी र घर त जलेर खरानी भए ।’– इन्दिरा राईले आँखाभरी आशु पार्दै भनिन् । इन्दिराले तीन हप्ता अघि जलेर मृत्यु भएका आफ्नो परिवारलाई सम्झिरहदा उपस्थित सम्पूर्ण छिमेकीहरुको आँखा रसाए । 

मोरङ कानेपोखरी गाउँपालिका—३ हरकपुरमा गत असोज ५ गते राति आगलागीमा परेर एकै घरका ८६ बर्षिया आमा गंगामाया राई, ५६ बर्षिय छोरा चन्द्रकुमार राई, चन्द्रकी पत्नि ४९ बर्षिय पार्वता राई र ४६ बर्षिय छोरी विष्णुकुमारी राईको मृत्यु भएको थियो । चन्द्रकुमार र पार्वता राईको छोराछोरी अध्ययनको लागि काठमाडौंमा बस्दै आएको कारण बचेका हुन् । 

मृतककी अर्की छोरी/बहिनी इन्दिराले आज (आइतबार) घट्ना स्थालमै आयोजित पत्रकार सम्मेलनमा थपिन ‘हामी हाँसेर बाँच्न सक्दैनौ, हाम्रो आमाहरुको फोटो छाँतिमा खोपेर जीउन बाध्य छौ ।’ राजधानीमा रहेर शिक्षण पेशामा आवद्ध मृतकका अर्का छोरा रामकुमार बान्तवा र गैरसरकारी संस्थामा कार्यरत बहिनी इन्दिराले पत्रकार सम्मेलनको आयोजना गरी घट्ना स्वभाविक नभएर सुनियोजित भउको आशंका गरे । घट्ना भएको २४ दिन वितिसक्दा पनि प्रहरीले अपराधिहरु पत्ता नलगाएकोप्रति पीडितले न्यायको आशा मारेका छन् । 

छोराछोरी अध्ययनको सिलसिलामा काठमाडौ अन्य परिवार रोजगारी लगायतको काममा रहेकोले उक्त घरमा नियमित रुपमा चन्द्रकुमार राई, आमा गंगामाया, पत्नि पार्वता बस्दै आएका थिए । बहिनी विष्णुकुमारी राई अघिल्लो दिन आम र दाजुभाउजुलाई भेट्न धरानबाट आएका थिए । घट्नामा चारैजनाको मृत्यु भयो ।

आगलागिबाट २५ खम्बे जस्ताको छाना, सेन्टरबेरा भएको काठको घर, पावर टिलर(सानो ट्याक्टर), एउटा मोटरसाइकल, रंगिन टिभी, फ्रिज, सोलार पावर, गरगहना, नगद, अन्न, कपडा, फर्निचर, दोकानको सम्पूर्ण समाग्री गरेर ढेड करोडको समान जलेर खरानी भएको थियो । 

पत्रकार सम्मेलनमा उपस्थित कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्लेले भने ‘घट्नाको प्रकृति हेर्दा चारैतिरबाट एकसाथ आगो लागेको सुनियोजित अपराध प्रष्ट देखिने दाबी गरे । घट्ना अध्ययन गर्न आएका जिल्ला प्रमुख अधिकारी र प्रहरी प्रमुखलाई आफूले घट्ना सुनियोजित र शंकास्पद देखिएकोले मिहिन अनुसन्धान गरेर अपराधी पत्ता लगाउन अनुरोध गरेको प्रमुख काफ्लेले बताए । 

आफूहरुले शंकास्पद व्यक्तिहरुको नाम र विवरण दिदा समेत प्रहरीले अपराधि पत्ता लगाउन खास चासो नदिएको पीडित परिवारको गुनासो छ । पटक—पटक ताकेता गर्दा इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले किटानी जाहेरी माग गरेको पीडित इन्दिराले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप