शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

खाडीमा एक्लिएको कतार जान ११ लाखलाई श्रम स्वीकृति : आर्थिक मन्दी आए रोजिरोटी गुम्ने

शनिबार, २७ जेठ २०७४, १६ : १७
शनिबार, २७ जेठ २०७४

काठमाडौं – खाडी मुलुकहरुबाट एक्लाइएको कतारमा सम्भावित आर्थिक मन्दीबाट नेपालीसहित त्यहाँ कार्यरत बिदेशी कामदार प्रत्यक्ष रुपमा प्रभावित हुने देखिएको छ । खाडीका अन्य मुलुकसँगको बिग्रदो कुटनीतिक सम्बन्धका कारण कतारलाई जल तथा स्थल मार्गहरुको प्रयोगमा बन्देज लगाइएपछि वस्तु तथा सेवामा लागत बढ्ने र महंगी बढ्दै जाने भएपछि विदेशी कामदार त्यसको शिकार हुने भएका हुन् ।

आर्थिक रुपमा निक्कै मजबुत मानिएपनि पछिल्लो घटनाक्रमले कतारको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने देखिएको छ । तीव्र रुपमा पूर्वाधार तथा औद्योगिक विकास जुटिरहेको कतारमा अहिले पनि नेपाल, भारत लगायत थुप्रै मुलुकका बिदेशी कामदार कार्यरत छन् । तर, पछिल्लो विकसित कुटनीतिक घटनाक्रमले ती विदेशी कामदारको रोजगारी समेत संकटमा पर्ने अनुमान सुरु भएको छ । आर्थिक मन्दी बढ्दै जाने र सम्भावित युद्धको खतराका कारण विदेशी कामदारको रोजिरोटीमा अड्चन आउन सक्ने देखिएको हो ।

खाडीका अन्य मुलुकले आतंकवादलाई सघाएको आरोप लगाएर एक्लो बनाएपछि अबको कतारको भविश्य के हुन्छ भन्ने अनुमान अहिलेनै लगाउन मुस्किल देखिएको छ । तर, यो कुटनीतिक रुपमा हल नभएमा दिनप्रतिदिन कतार आर्थिक संकटमा फस्दै जाने र थुप्रै विदेशी कामदारले रोजगारीवाट हात धुनुपर्ने अवस्था आउन सक्ने अन्तर्राष्ट्रिय संघसंस्थाहरुले अनुमान लगाएका छन् । कतारले अहिले पनि पूर्वाधार, औद्योगिक क्षेत्र र सेवा क्षेत्रमा ३० औ लाख विदेशी कामदारलाई रोजगारी प्रदान गरिरहेको छ ।

सरकारी तथ्याङ्क अनुसार नेपालवाट मात्र करिव २२ बर्षमा ११ लाख कामदार वैद्यानिक बाटोबाट कतार पुगेका छन् । आर्थिक बर्ष ०५०/०५१ देखि चालु आर्थिक बर्षको पुस मसान्तसम्म मात्र १० लाख ९२ हजार ३ सय ७४ नेपाली वैद्यानिक रुपमा श्रम स्वीकृती लिएर कतार गएका छन् । त्यसमध्ये आधा कामदार स्वदेश फर्किएपनि अझै करिव ६ लाख नेपाली कामदार कतारमा कार्यरत रहेको अनुमान छ । आव ०५०/०५१ देखि ०६८/६९ सम्मको अवधीमा कूल विदेसिएका २४ लाख ६५ हजार ६ सय ९९ नेपाली मध्ये ६ लाख ९० हजार ३ सय ९५ जना कतार गएका छन् । पछिल्लो समय खाडीका साउदी अरवपछि कतार नेपालीको मुख्य श्रम गन्तव्य हो । यदि कतारको समस्या तत्काल सुल्झिएन भने यी कामदारको रोजीरोटीमा गम्भिर संकट आउने वैदेशिक रोजगार व्यवसायीको भनाइ छ ।

वैदेशिक रोजगार व्यवसायी ज्ञानु गैरे कतारमा विकसित कुटनीतिक संकटका कारण नेपालीसहित विदेशी कामदारलाई समस्या पर्न सक्ने बताउँछन् । ‘दिर्घकालिन ढंगले समस्या समाधान नभएमा प्रत्यक्ष रुपमा कामदारलाई असर पर्छ’, गैरेले भने, ‘यसमा सरकारी निकायले चनाखो भएर कूटनीतिक रुपमा समस्या समाधानको बाटो खोज्नु अहिलेको आवश्यकता हो ।’ उनले अहिलेनै भिषा आएका कामदारलाई कतार जान रोक लगाउनुपर्ने अवस्था नभएपनि कामदारका त्रास भने बढेको बताए ।

सरकारले समेत कुटनीतिक रुपमा त्यहाँ आउन सक्ने समस्याको समाधानका लागि पहल भैरहेको जनाएको छ । वैदेशिक रोजगार बिभागका प्रवक्ता मोहन अधिकारीले कतारस्थित दुतावाससँग निरन्तर सम्वाद भइरहेको र दुतावासले अहिलेसम्म कुनै समस्या नरहेको जनाएको बताए । ‘अहिलेनै कामदार आत्तिनुपर्ने अवस्था छैन’, प्रवक्ता अधिकारीले भने, ‘हामीले श्रम स्वीकृती रोकेका पनि छैनौ, तर केही दिनदेखि श्रम स्वीकृती लिन आउनेको संख्या भने कम हुँदै गएको छ ।’

कतारलाई अहिले साउदी अरव लगायतका मुलुकसँग वढ्दै गएको कुटनीतिक दुरीले स्थलमार्ग तथा वन्दरगाहहरु प्रयोगमा बन्देज लागेपछि थप संकट पर्न सक्ने अनुमान भएको हो । आयात–निर्यातमा गम्भिर समस्या आएपछि उसले हवाइ मार्गलाई विकल्पका रुपमा लिनुपर्ने हुन्छ । यस्तै, त्यहाँ जाने कामदारले पनि कतार एयरवेज वाहेक अन्य जहाज प्रयोग गर्न समस्या धएको छ । अन्य खाडी मुलुकले सीमामा गरेको कडाइ तथा हवाई सेवामा पनि रोक लगाएपछि नेपालीसहित अन्य मुलुकका कामदारले विगतको भन्दा फरक रुटवाट त्यहाँ पुग्नुपर्ने वाध्यता बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप