शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुर पक्षद्वारा दल विभाजनसम्बन्धी अध्यादेशको स्वागत

मङ्गलबार, ०१ भदौ २०७८, १६ : ४६
मङ्गलबार, ०१ भदौ २०७८

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश सकारात्मक रहेको बताएका छन् । उनले आफूहरु नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको खुलासा समेत गरे ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले आफूहरु उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ दल दर्ता गर्ने बताए ।

उनले भने,‘संसद् नभएको बेलामा अध्यादेश ल्याउने यो संविधानसम्मत काम हो । संविधानले यो अधिकार दिएको छ । अहिले मैले भर्खरै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भनेर सुनें, यदि आएको हो भने संविधानसम्मत हो । प्रत्येक पार्टीको अवस्था हेर्ने हो भने कहीँ धेरै, कहीँ थोरै भएपनि विग्रहको अवस्था देखिएको छ । म जुन पार्टीमा छु, यसमा पनि समस्या छन् । यो प्रश्न जबरजस्ती निर्वाचन आयोगले जन्माएको हो । हामी अहिले सर्वोच्च अदालत गएका छौं । निर्वाचन आयोगले उपेन्द्र यादवको पक्षलाई आधिकारिकता दियो । त्यो निर्णय कति ठिक छ वा छैन भन्ने कुरा म यहाँ चर्चा गर्दिन । तर, निर्वाचन आयोगको निर्णय गलत छ भनेर हामी अदालत गएका छौं ।’

यसैगरी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधानसम्मत रहेकोले यसमा कसैको पनि विरोध नरहने दावी गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने पनि जानकारी दिए ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले भने सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशको विरोध जनाए ।

 उनले भने,‘नेपालको इतिहासमा खासगरी लोकतन्त्रमा दल बलियो भयो भनेमात्रै लोकतन्त्र बलियो हुन्छ । आज लोकतन्त्रको नै अगुवाई गर्छु भन्ने दलले अध्यादेश ल्यायो । दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो । यो गलत हो । संसदको हत्या गर्यो भन्नेहरुले आज संसद्को अधिवेशन अन्त्य गरेर एमालेलाई विभाजन गर्ने उद्देश्यका साथ अध्यादेश आएको छ । एमालेले यो निर्णयको पूरा विरोध गर्छ । भत्र्सना गर्छ ।’

उनले माधव नेपालले दल विभाजन गर्ने उद्देश्य राखेको सुनाउँदै एमालेको सच्चा कार्यकर्ता हो भने कोही पनि एमाले विभाजनको पक्षमा नलाग्ने टिप्पणी गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप