सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

धरानदेखि विस्कन्सिनसम्म, सयौँ बिरामीको ज्यान बचाइरहेका युवा नेपाली चिकित्सक

सोमबार, १५ असार २०८३, १९ : ३३
सोमबार, १५ असार २०८३

सारांश

  • धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेका युवा चिकित्सक डा. सन्देश पराजुली हाल अमेरिकाको विस्कन्सिन विश्वविद्यालयमा प्रत्यारोपण विभागमा एसोसियट प्रोफेसरको रूपमा कार्यरत छन् ।
  • डा. पराजुली मधुमेहका बिरामीहरूलाई प्यान्क्रियाज प्रत्यारोपणको माध्यमबाट निको पार्ने उपचार पद्धतिमा आफ्नो जीवन समर्पित गरेका छन् ।
  • नेपालमा मृत्युपश्चात् अंगदानको संस्कृतिको अभाव रहेको र यसलाई बढावा दिनुपर्ने डा. पराजुलीको भनाइ छ ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेका युवा चिकित्सक डा. सन्देश पराजुली आज अमेरिकाको एक शीर्ष विश्वविद्यालयमा सयौं बिरामीको जीवन बचाउँदै छन् । ।

सन् १९९८ मा धरानबाट चिकित्साशास्त्रको यात्रा सुरु गरेका डा. पराजुलीले सन् २००४ मा एमबीबीएस सके, त्यसपछि अमेरिका आउने लहरमा उनी पनि सामेल भए र सन् २००६ मा न्युयोर्क सहरमा एमडी सुरु गरे । सन् २००९ मा एमडी सकिएपछि न्युयोर्क राज्यकै एक गाउँमा दुई वर्ष काम गरे ।

त्यसपछि उनको यात्रा अझ उठ्यो । सन् २०११ मा युनिभर्सिटी अफ रोचेस्टरबाट नेफ्रोलोजी फेलोसिप र सन् २०१३ देखि २०१४ सम्म किड्नी ट्रान्सप्लान्टमा थप फेलोसिप गरे । हाल उनी विस्कनसिन विश्वविद्यालयमा बाह्र वर्षदेखि प्रत्यारोपण विभागमा फ्याकल्टी र एसोसियट प्रोफेसरको रूपमा कार्यरत छन् । सन् २०२६ को जनवरी एकदेखि उनी यही विश्वविद्यालयको प्यान्क्रियाज ट्रान्सप्लान्ट शाखाको मेडिकल डाइरेक्टर भएका छन् । डा. पराजुलीले दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय अनुसन्धान लेख, तीन वटा किताब र ५० भन्दा बढी चिकित्सकलाई तालिम दिएका छन् । 

मधुमेह अर्थात् सुगर, नेपालमा यो रोग अब घरघरको समस्या बनिसकेको छ । टाइप वान मधुमेहमा शरीरले आफैं इन्सुलिन बनाउन सक्दैन, टाइप टुमा बनाए पनि राम्रोसँग काम गर्दैन । हाम्रो शरीरमा इन्सुलिन उत्पादन गर्ने काम प्यान्क्रियाज अर्थात् पेटको भित्री भागमा रहने एक ग्रन्थीले गर्छ । यही इन्सुलिनले रगतमा भएको ग्लुकोजलाई शरीरका कोशिकाभित्र पुर्‍याउँछ, जसबाट हाम्रो शरीरलाई ऊर्जा मिल्छ । जब यो प्रक्रिया बिग्रिन्छ, शरीरमा ग्लुकोज जम्मा हुन्छ र बिस्तारै एकपछि अर्को अंगहरू क्षतिग्रस्त हुन थाल्छन् ।

डा. पराजुलीका अनुसार मधुमेह भएका बिरामीलाई हृदयघात हुने जोखिम तीनदेखि चार गुणा बढी हुन्छ, मस्तिष्काघात हुने जोखिम दुईदेखि तीन गुणा बढी रहन्छ, आँखाको ज्योति जाने खतरा हुन्छ, खुट्टामा संक्रमण भई खुट्टा काट्नुपर्ने अवस्था आउन सक्छ र दीर्घकालीन मधुमेहका बिरामीको बाँच्ने दर सामान्य मानिसको तुलनामा उल्लेखनीय रूपमा कम हुन्छ । यो रोगले भित्रभित्रै आक्रमण गर्छ र जब थाहा हुन्छ, धेरै ढिला भइसकेको हुन्छ । 

औषधि र इन्सुलिनले मधुमेह नियन्त्रणमा राख्न सकिन्छ, तर ठीक गर्न सकिँदैन । तर डा. पराजुलीले जुन उपचार पद्धतिमा आफ्नो जीवन समर्पित गरेका छन्, त्यसले भने यो रोगलाई जरैबाट निर्मूल गर्न सक्छ त्यो हो प्यान्क्रियाज प्रत्यारोपण । यो शल्यक्रियामा मस्तिष्क मृत्यु भएका दाताको स्वस्थ प्यान्क्रियाज निकालेर बिरामीको शरीरमा राखिन्छ । प्रत्यारोपित प्यान्क्रियाजले आफैं इन्सुलिन बनाउन थाल्छ र धेरै बिरामी प्रत्यारोपणपछि जीवनभर लगाउनुपर्ने इन्सुलिन सुईबाट पूर्णतः मुक्त हुन्छन् । 

डा. पराजुलीका अनुसार प्यान्क्रियाज प्रत्यारोपण तीन फरक तरिकाले गर्न सकिन्छ ।

पहिलो विधि हो, एकैसाथ मिर्गौला र प्यान्क्रियाज प्रत्यारोपण । जब मधुमेहका कारण मिर्गौला पनि फेल भइसकेको हुन्छ, तब एकै अपरेसनमा दुवै अंग राखिन्छन्, यो सबभन्दा प्रचलित विधि हो । दोस्रो विधिमा पहिले मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामीलाई पछि प्यान्क्रियाज प्रत्यारोपण गरिन्छ । 

तेस्रो विधि, त्यस्ता बिरामीका लागि हो, जसको मिर्गौला अझै ठीकठाक छ, तर सुगर यति अनियन्त्रित छ कि रगतमा ग्लुकोज अचानक धेरै घटेर बिरामी मूर्छा पर्ने जोखिम छ, यस्तो अवस्थामा पनि प्यान्क्रियाज प्रत्यारोपणले जीवन बचाउन सक्छ । 

डा. पराजुली भन्छन्, ‘प्यान्क्रियाज प्रत्यारोपण नगरेको भए ती बिरामीहरू धेरै लामो समयसम्म बाँच्न कठिन हुन्थे, वा बाँचे पनि अंगभंग भएर जिउनुपर्थ्यो ।’ तर, आफ्नो विस्कन्सिन विश्वविद्यालयको करिअरमा उनले प्यान्क्रियाज प्रत्यारोपणपछि २५ वर्षभन्दा बढी सामान्य जीवन जिउने धेरै बिरामी देखेका छन् । 

विश्वमा पहिलो प्यान्क्रियाज प्रत्यारोपण सन् १९६६ मा अमेरिकाकै मिन्नेसोटा विश्वविद्यालयमा भएको थियो । आज अमेरिकामा प्रतिवर्ष औसत एक हजार दुई सय प्यान्क्रियाज प्रत्यारोपण हुन्छन् । डा. पराजुली कार्यरत विस्कन्सिन विश्वविद्यालयमा सन् १९८२ देखि नै यो सेवा दिइँदै आएको छ र यो संस्था अमेरिकाकै यस क्षेत्रका अग्रणी संस्थाहरूमध्ये एक हो, जहाँबाट मासिक दुई हजारभन्दा बढी बिरामीले प्यान्क्रियाजलगायत अन्य प्रत्यारोपणका बिरामीले सेवा लिन्छन् । 

डा.पराजुली भन्छन्, ‘नेपालतर्फ फर्किएर हेर्दा तस्बिर खासै उत्साहजनक छैन । नेपालमा मिर्गौला र कलेजो प्रत्यारोपण हुन्छ, तर प्यान्क्रियाज, मुटु र फोक्सो प्रत्यारोपण अझै सम्भव भएको छैन । यसको मूल कारण होः मृत्युपश्चात् अंगदानको संस्कृतिको गम्भीर अभाव ।’

नेपालमा हुने कुल मिर्गौला प्रत्यारोपणमध्ये मृत दाताबाट हुने मात्र पाँच प्रतिशत छ, बाँकी ९५ प्रतिशत जीवित नातेदारबाट हुन्छ । यसमा पनि एउटा पीडादायी लैंगिक असमानता छ । नेपालमा हुने मिर्गौला प्रत्यारोपणमा ७५ प्रतिशत अंगदाता महिला छन्, जबकि २५ प्रतिशत अंग ग्रहणकर्ता पुरुष छन् । महिलाहरूले आफ्नो शरीरको अंग  दान गर्छन्, तर सेवाको लाभ पुरुषले लिने गर्छन् । यो असमानता हटाउने सबभन्दा प्रभावकारी उपाय हो मृत दाताबाट अंगदानको दर बढाउनु । 

डा. पराजुली भन्छन्, ‘मस्तिष्क मृत्यु भएको एक व्यक्तिले अंगदान गरेमा एकैपटक सातजनासम्मको ज्यान बचाउन सकिन्छ । मुटु, दुवै फोक्सो, दुवै मिर्गौला, कलेजो र प्यान्क्रियाज यी सबै अंगहरू एकै दाताबाट लिन सकिन्छ, र सातजनाले नयाँ जीवन पाउन सक्छन् । तर यसका लागि दाताको शरीर स्वस्थ हुनुपर्छ र मस्तिष्क मृत्यु घोषणा भएलगत्तै तुरुन्त अंग निकाल्नुपर्छ । ढिला गरे अंग बिग्रिन्छ र उपयोगी हुन सक्दैन ।’ 

डा. पराजुली थप्छन्, ‘दीर्घकालीन दृष्टिमा प्रत्यारोपण डायलासिसको तुलनामा आर्थिक रूपमा पनि सस्तो पर्छ । डायलिसिस भनेको जीवनभर हप्तामा दुईदेखि तीन पटक अस्पताल जानुपर्ने, घण्टौं मेसिनमा बस्नुपर्ने महंगो प्रक्रिया हो । जसले बिरामीको शारीरिक, मानसिक र आर्थिक तीनवटै पक्षमा गम्भीर असर गर्छ । तर एकपटक प्रत्यारोपण सफल भएपछि बिरामी सामान्य जीवनतर्फ फर्किन सक्छन् ।’ 

डा. पराजुलीले रातोपाटीसँगको कुराकानीमा भने, ‘नेपाल सरकारले मृत्यु भएका नागरिकहरूका अंगहरू व्यवस्थित रूपमा निकालेर वितरण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ, अस्पतालहरूमा अंगदान समन्वय इकाइ स्थापना गर्नुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा जनतामा अंगदानप्रति सकारात्मक चेतना जगाउनुपर्छ । मृत्युपश्चात् अंगदान कुनै धर्म वा संस्कृतिविरुद्व होइन, बरु यो परोपकारको सर्वोच्च रूप हो ।’ 

उनी थप्छन्, ‘एक मानिसको मृत्युपश्चात उसले दिएको अंगदानले सात जनाको जीवन बचाउन सक्छ । यो कुरा नेपालका मानिसहरूले बुझ्न सके भने यहाँ पनि ठूलो परिवर्तन आउन सक्छ  र त्यो दिन टाढा छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप