बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुस्ताङका भेडाच्याङ्ग्रा पोखरा भित्रिए, एउटैको मूल्य ५० हजार

बिहीबार, २१ असोज २०७८, ०९ : ५४
बिहीबार, २१ असोज २०७८

दसैँका लागि पोखरामा च्याङ्ग्रा भित्रिन थालेको छ । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगका अतिरिक्त डोल्पा, हुम्ला र जुम्लाबाट बर्सेनि दसैँको अवसर पारेर च्याङ्ग्रा भित्रिने गरेको छ । व्यवसायीहरुले लुम्ले, हेमजा र आसपासका क्षेत्रमा च्याङ्ग्रा ल्याएर राखेका छन् भने कोही बाटोमा आउने क्रममै छन् ।

पोखरा र छिमेकी जिल्लाहरुमा दसैँको समयमा खसी, बोकाभन्दा च्याङ्ग्रा बढी रुचाउने गरिन्छ । पहाडी एवं तराई क्षेत्रमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगमा पालिएको च्याङ्ग्रा स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ । अन्य बेला खसी बोकाको मासु रुचाउनेहरुले पनि दसैँको समयमा भने च्याङ्ग्रा नै रोज्ने गरेको पाइन्छ ।

कोभिड–१९ का कारण कोरला नाका बन्द भएकाले यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा भित्रिन नपाएपछि मुस्ताङमा पालिएका च्याङ्ग्राको मूल्य आकाशिएको छ । पोखरा क्षेत्रमा झारिएका च्याङ्ग्रा प्रतिगोटा ३५ हजारदेखि ५० हजारसम्ममा बिक्री गरेको व्यवसायी कृष्ण अधिकारीले बताए । उनले सानोखालका च्याङ्ग्रालाई पैतिस हजार र रोजाखालकोलाई पचास हजारमा बिक्री गर्ने बताए ।

उनका अनुसार तिब्बतबाट ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा पालिएका च्याङ्ग्रा प्रतिगोटा ५ देखि १० हजार रुपैयाँ महँगिएको र पोखरासम्म ल्याउँदा विभिन्न ठाउँमा लिएको पटके करका कारण मूल्य बढेको हो ।

पोखरादेखि जोमसोम पुगेर ९५ वटा च्याङ्ग्रा खरिद गरी ल्याएका अधिकारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढी तिर्नुपरेको बताए । ‘गत वर्ष २५÷३० हजार पर्ने च्याङ्ग्रालाई यस वर्ष मुस्ताङमै सात÷दशहजार बढी मूल्य तिर्नु प¥यो,’ अधिकारीले भने, ‘पोखरादेखि जोमसोमसम्म जाँदाको खर्च र यहाँसम्म ल्याउँदा विभिन्न ठाउँमा तिरेको करसहितको खर्च जोड्दा विगतको भन्दा दश÷पन्ध्र हजार बढी मूल्य पर्छ ।’

यो वर्ष मुस्ताङको लोमान्थाङ, छोन्डुप, सुर्खाङ, कागबेनी, झोङ, लगायतका स्थानका किसानले पालेका भेडाच्याङ्ग्रा पोखरा भित्र्याइएको हो । उच्च हिमाली क्षेत्रमा चर्ने भएकाले पोखरासम्म सुरक्षित तरिकाबाट ल्याउन झण्डै दश÷पन्ध्र दिन हिँडाएर भेडाच्याङ्ग्रा ल्याउनुपर्ने बाध्यता हुन्छ । ट्रकबाट ल्याउँदा वातावरणको प्रभावले भेडाच्याङ्ग्रा मर्ने भएकाले ठाउँ ठाउँमा चराउँदै ल्याउँदा विस्तारै वातावरणसँग घुलमिल हुँदै जाने भएकाले धेरै दिन लगाएर पोखरा ल्याउने गरिन्छ । भेडाच्याङ्ग्रा झारेसँगै व्यापारीहरुले पोखराको पुरानो टुँडिखेल, सिमपानी, याम्दी, हेमजा लगायतका ठाउँमा खोर बनाएका छन् । दसैँका बेला भेडाच्याङ्ग्रा राख्नका लागि खोर बनाउँदै गरेका याम्दीका किशोर थापाले यस अवधिमा प्रतिखोर १५ देखि २० हजार भाडा लिने गरेको बताए ।

समय अनुसार दिल्ली र काठमाडौंमा व्यापार गर्दै आएको भए पनि दसैँको बेला भने च्याङ्ग्राको व्यापार गर्ने घाँसाका दोर्जे गुरुङले बताए । ‘दुःख, कष्ट सहेर हप्तौं लगाएर ल्याउनु पर्ने भए पनि आफूले यही व्यापारबाट राम्रो फाइदा गर्दै आएको छु, यो पाली के हुन्छ हेरौं,’ उनले भने, ‘सात वर्षदेखि यो व्यवसाय गर्दै आएको छु ।’

पोखराको हेमजामा च्याङ्ग्रा किन्दै गरेका यामबहादुर थापाले वर्षमा एकपटक च्याङ्ग्राको मासु खाने इच्छाले च्याङ्ग्रा किन्न आएको बताए । खसीबोका, कुखुराको मासु नियमित खाए पनि हिमाली जडीबुटी खाएका च्याङ्ग्राको मासुको स्वाद र सन्तुष्टि लिनको लागि दसैँमा बर्सेनि च्याङ्ग्रा किनेर खाने गरेको उनले बताए ।

पोखरामा व्यापारीले अष्टमी र नवमीको दिनमा मात्र ठूलो संख्यामा च्याङ्ग्रा भित्र्याउने गर्दछन् । फूलपातिको दिनमा विशेषगरी च्याङ्ग्राको बिक्री ह्वात्तै बढ्ने गर्दछ । पूmलपातिको दिन घरमा खसी, च्याङ्ग्रा काट्ने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप