शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पोल्यान्ड– बेलारुस विवाद कसरी सुरु भयो ? युरोपमा यसको असर कस्तो ?

शनिबार, २७ कात्तिक २०७८, १३ : १४
शनिबार, २७ कात्तिक २०७८

बेलारुस र पोल्याण्डको सीमा क्षेत्र पछिल्लो समय तनावग्रस्त छ । यहाँ सोमबारयता, ठूलो संख्यामा आप्रवासी र शरणार्थीहरु भेला भएका छन् । उनीहरु सीमा नाघेर पोल्याण्ड जान चाहन्छन् ।  दुई देशीय सीमा क्षेत्रमा हजारौं मानिसहरु जम्मा भएको अनुमान गरिएको छ । तर, बेलारुस छाड्न चाहने यी आप्रवासी र शरणार्थीले पोल्याण्डमा प्रवेश पाइरहेका छैनन् ।

सीमा क्षेत्रमा लगाइएको काँडेतार र त्यहाँ ठूलो संख्यामा तैनाथ सुरक्षा बल उनीहरुका लागि अवरोध बनिदिएका छन् । यस सीमा क्षेत्रमा तापक्रम घट्दै गइरहेको छ । मानिसहरुसँग औषधी र अत्यावश्यक सामाग्रीको कमी छ । त्यसैले उनीहरु निकै समस्यामा छन् । आखिर यो समस्या कहाँबाट सुरु भयो ? यसबारे जान्न, हामीले अहिले के भइरहेको छ भन्नेबारे जान्नु जरुरी छ । 

त्यसो भए, के भइरहेको छ ?

झन्डै ३ हजारदेखि ४ हजार शरणार्थीहरु अहिले सीमा क्षेत्रमा छन् । यहाँ भेला हुनेहरुमा अफगानिस्तानदेखि खाडी राष्ट्रका द्वद्न्वपीडितहरुसम्म छन् । पोल्याण्डमा प्रवेश नपाएपछि उनीहरु दुई देशीय सीमाको ‘नो म्यान्स ल्याण्ड’ मा बसिरहेका छन् ।

मानव अधिकारवादी निकाय र वैश्विक संस्थाहरुले यी आप्रवासीको अधिकारबारे प्रश्न उठाइरहेका छन् । जाडो बढ्दै गर्दा उनीहरुले पाएको कष्ट र केही व्यक्तिको मृत्यु समेत भएको विषयलाई उनीहरुले औल्याएका छन् ।  तर सीमा क्षेत्रको दुवैतर्फ सहयोगी निकाय, वकिल र पत्रकारहरुलाई जान दिइएको छैन । 

संकट कसरी सुरु भयो ?

यो संकट यसै वर्षको सुरुमा सुरु भएको थियो । आफ्नो देशमाथि युरोपेली युनियनले प्रतिबन्ध लगाएपछि बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले पनि निकै कडा प्रतिक्रिया देखाए । गत मेइमा एउटा यात्रुवाहक जेटलाई बलपूर्वक बेलारुसले अवतरण गराएको थियो र त्यहाँ सवार सरकारका चर्को आलोचक पत्रकार रोमन प्रोतासेभिचलाई पक्राउ गरेको थियो । 

यस घटनाभन्दा केही महिनाअघि ईयु र अमेरिकाले बेलारुसमाथि विभिन्न खाले प्रतिबन्धहरु लगाएका थिए । उनीहरुले बेलारुसका विपक्षीहरुप्रति आफ्नो समर्थन जताएका थिए । राष्ट्रपति लुकासेन्कोले अगस्ट २०२० को निर्वाचनमा धाँधली गर्दै विपक्षीहरुलाई तह लगाएको उनीहरुको आरोप थियो । चर्को सडक प्रदर्शनका बाबजुद ६७ वर्षका यी राष्ट्रपति चुनावबाट छैटौं कार्यकालका लागि छानिएका थिए । 

ईयु र अमेरिकाले प्रतिबन्ध कडा गरेपछि लुकासेन्कोले पनि त्यसको प्रतिक्रिया कडा रुपमा दिए । युरोपेली युनियनअन्तर्गतका देशहरुमा छिर्न खोज्ने दस्तावेज नभएका शरणार्थी र आप्रवासीहरूलाई बेलारुसले आफ्नो सीमा क्षेत्रमा नरोक्ने घोषणा उनले गरे ।

प्रतिबन्ध लगाउने ईयु र अमेरिकाको निर्णयपछि आफु यस्तो कदम चाल्न बाध्य भएको उनको तर्क थियो । उनले शरणार्थीलाई रोक्नका लागि बेलारुसलाई रकम आवश्यक पर्ने र त्यसको प्रबन्ध ईयुले गर्नुपर्ने समेत बताएका थिए । यसपछि बेलारुससँग सीमा जोडिएका लिथुआनिया, लात्भिया र पोल्यान्डसहितका देशमा बेलारुस हुँदै आउने शरणार्थीहरुको संख्या बढिरहेको छ । 

ईयुले के भन्छ ?
आप्रवासीहरुलाई जर्बजस्ती उक्साएको आरोप ईयुले बेलारुसमाथि लगाएको छ । पश्चिमतर्फ जाने सजिलो छ भन्दै उनीहरुलाई उक्साइएकाले यसलाई ‘हाईब्रिट आक्रमण’ का रुपमा ईयुले चित्रण गरेको छ । नाकाबन्दीको बदलामा बेलारुसले यस्तो कदम चालेको ईयुको आरोप छ । 

लुकासेन्कोले यी आरोपहरुको खण्डन गरेका छन् । उनले मानिसहरुको सुरक्षित आवागमन र शरणको अन्तर्राष्ट्रिय नियम विपरीत काम गरेर ईयुले मानवअधिकार हनन गरेको आरोप लगाएका छन् । पछिल्लो समय पोल्यान्डका सैन्य गार्डहरुले कागजात नभएका आप्रवासीहरुलाई बेलारुस फर्काएको रिपोर्टहरु पनि आएका छन् । 

के रुसको कुनै भूमिका छ ?
पोल्यान्डले यो संकट निम्त्याउने योजना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको रहेको आरोप लगाएको छ । तर रुसले यस आरोपको खण्डन गरेको छ । पोल्याण्ड र अन्य ईयु सदस्य देशहरुले बेलारुसको घाँटी निमोठ्न खोजेको आरोप रुसको छ ।

रुसले बेलारुसलाई ईयु र नाटो गठबन्धनविरुद्धको आफ्नो सुरक्षा बभर जोनका रुपमा हेर्ने गरेको छ । शुक्रबार बेलारुसमा रुसले अर्धसैन्य दस्तालाई सैनिक अभ्यासका लागि पनि पठाएको छ । लुकासेन्कोको सरकारलाई उसले सहयोग र आड–भरोसा दिदैं आएको छ । यसै साताको सुरुवातमा दुई आणविक क्षमतायुक्त बख्तरबन्द गाडीहरुसहित रुसी सेनाले दुई दिनसम्म बेलारुसमा गस्ती गरेको थियो । 

अब के हुनसक्छ ?
यो अस्पष्ट छ । तर तनाव गहिरिने देखिन्छ । सीमामा देखिएको विवादपछि बेलारुसमा थप नाकाबन्दी गर्ने या नगर्ने भनेर ईयुले सोचिरहेको छ । यसपटक ईयुले बेलारुसको एयरलाईन्सलाई निशाना बनाएर पनि प्रतिबन्ध लगाउनसक्छ । बेलारुसले यो संकट आफुले निम्त्याएको स्विकार गरिसकेको छैन । पश्चिमा देशहरुले आफ्नो सरकारमाथि लगाएका प्रतिबन्ध नहटेसम्म यो संकटको समाधानका लागि केही गर्न नसक्ने चेतावनी पनि लुकासेन्कोको सरकारले दिएको छ । 

यदि, ईयुले थप प्रतिबन्ध लगाएमा त्यसको जवाफ कडा आउने धम्की पनि लुकासेन्कोको छ । रुसबाट आफ्नो भूभाग हुँदै पाइपलाईनमार्फत युरोप जाने ग्यासको आपुर्ति कटौती गर्नेसम्मको धम्की बेलारुसले दिएको हो । तर, रुसले ग्यासको विषयलाई भने जारी संकटबाट अलग्गै राख्न चाहेको छ । ग्यास आपुर्तिको सम्झौता पूरा गर्न आफु प्रतिबद्ध रहेको रुसले जनाएको छ । 

पछिल्लो साता युरोपेली बजारमा ग्यासको भाउ इतिहासकै उच्च छ । आपूर्तिमा फेरि अवरोध सिर्जना भए अवस्था निकै संवेदनशिल बन्नेछ । -अलजजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप