शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पाँच दलीय गठबन्धन फुटाउने षडयन्त्र भैरहेको छ : राष्ट्रिय जनमोर्चा

बुधबार, ०१ मङ्सिर २०७८, २२ : ३२
बुधबार, ०१ मङ्सिर २०७८

राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनको निरन्तरतामा जोड दिएको छ । सो पार्टीको कार्तिक ३० गते बुटवलमा सम्पन्न केन्द्रीय समिति बैठकले देशमा प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकाल्दै ५ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको हो ।

बैठकले ५ दलीय गठबन्धन टुटाउन एमाले, भारतीय, अमेरिकी साम्राज्यवाद तथा राजावादी शक्तिहरु निरन्तर लागिरहेको निष्कर्ष समेत निकालेको छ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै गठबन्धन टुटाउन देशी विदेशी शक्तिहरुले प्रयास गरिरहेको बताएका छन् ।

यद्यपि, उनले गठबन्धन टुटाउनुका पछाडि ती शक्तिहरूका बेग्लाबेग्लै उद्देश्य रहेको दाबी गरेका छन्  । अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ: ‘अमेरिकाले एमसिसी पारित गराउन, भारतीय साम्राज्यवादले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमनतर्फ लैजाने उद्देश्यले काम गरेको छ ।’ 

सो पार्टीले सर्वोच्च अदालतको सुधारका लागि प्रधानन्यायाधीशका विरुद्ध चलिरहेको आन्दोलनप्रति ऐक्यबद्धता पनि प्रकट गरेको छ । यद्यपि, प्रधानन्यायाधीशका विरुद्ध उठिरहेका बेग्ला बेग्लै मतमाथि पनि ध्यान दिइएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छः ‘न्यायिक ढंगबाट प्रधानन्यायाधीशका विरुद्ध उठेको आवाजलाई हामीले समर्थन गर्दछौँ । तर प्रधानन्यायाधीशले संसदको पुनर्स्थापनाको फैसला गरेका कारण त्यसबाट आक्रोशित प्रतिगामी तथा एमालेले गरिरहेको विरोधको उद्देश्य त्यो फैसला गलत थियो भन्नेमा नै बढी केन्द्रीत छ । यस्तो स्थितिमा देशको राजनीतिलाई प्रतिगमन तर्फ जान नदिन प्रधानन्यायाधीशको राजीनामाको विषयलाई तत्कालका लागि हाम्रो दलले स्वीकार नगर्ने निष्कर्ष निकालेको छ ।’

यस्ता छन् केन्द्रीय समिति बैठकका ६ निर्णय

१.बैठकमा देशको समग्र राजनीतिक परिस्थितिबारे छलफल भयो । संसदको पुनस्र्थापना तथा ओली सरकारको पतन भएर तत्कालका लागि प्रतिगमन परास्त भए पनि ओली पक्षबाट लगातार संसद सञ्चालनमा पुर्याएको अवरोध, माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्न अदालतमा दायर गरेको मुद्दा, भारतीय साम्राज्यवादले आफ्ना एजेण्डा नेपालमा लागू गर्न ओली पक्षलाई उपयोग गरिरहेको सम्पूर्ण पक्षमाथि ध्यान दिँदा देशमा प्रतिगमनको खतरा कायम रहेको छ । त्यसका विरुद्ध लड्न वा संघर्ष गर्न तथा देशलाई प्रतिगमनतर्फ जान नदिन ५ दलीय गठबन्धनको अहिले पनि आवश्यकता र औचित्य भएकोले ५ दलीय गठबन्धनको निरन्तरताका लागि हाम्रो दलले जोड दिन्छ ।

२. पाँच दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरूबाट प्रयास भैरहेको छ । त्यसका लागि एमाले, भारतीय, अमेरिकी साम्राज्यवाद तथा राजावादी शक्तिहरुले पुरा प्रयत्न गरिरहेका छन् । ५ दलीय गठबन्धनलाई टुटाउनका पछाडि ती शक्तिहरूका बेग्लाबेग्लै उद्देश्यहरू रहेका छन् ।

अमेरिकाले एमसिसी पारित गराउन, भारतीय साम्राज्यवादले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमन तर्फ लैजाने उद्देश्यले काम गरेको छ ।

नेपाली काँग्रेस एमसीसीको पक्षमा रहेको छ । नेपाली काँग्रेस भित्रबाट तथा अमेरिकी साम्राज्यवादबाट नेकाको नेतृत्वमाथि दबाब रहेको छ । त्यसका बाबजुद पनि ५ दलीय गठबन्धनमा आवद्ध माओवादी र एकीकृत समाजवादी एमसीसीलाई संशोधन नगरी संसदबाट पारित गरिनु हुन्न भन्ने पक्षमा छन् भने हाम्रो पार्टी दृढ रुपमा एमसीसीका विरुद्ध रहेको छ ।

त्यसैले गर्दा ५ दलीय गठबन्धनमा फुट पार्ने गरी तत्कालका लागि एमसीसी संसदमा प्रस्तुत गर्न र त्यसलाई पारित गर्न नेका का लागि त्यति सजिलो छैन । त्यो कारणले नै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत एमसीसीको कुनै उल्लेख नगर्नु त्यसैको परिणाम हो ।

३.सर्वोच्च अदालतको सुधारका लागि प्रधानन्यायाधीशका विरुद्ध चलिरहेको आन्दोलनप्रति हाम्रो पार्टीले ऐक्यबद्धता प्रकट गर्दछ । त्यसका साथै प्रधानन्यायाधीशका विरुद्ध उठिरहेका बेग्ला बेग्लै मतमाथि पनि हाम्रो ध्यान छ ।

न्यायिक ढंगबाट प्रधानन्यायाधीशका विरुद्ध उठेको आवाजलाई हामीले समर्थन गर्दछौँ । तर प्रधानन्यायाधीशले संसदको पुनर्स्थापनाको फैसला गरेका कारण त्यसबाट आक्रोशित प्रतिगामी तथा एमालेले गरिरहेको विरोधको उद्देश्य त्यो फैसला गलत थियो भन्नेमा नै बढी केन्द्रीत छ ।

यस्तो स्थितिमा देशको राजनीतिलाई प्रतिगमन तर्फ जान नदिन प्रधानन्यायाधीशको राजीनामाको विषयलाई तत्कालका लागि हाम्रो दलले स्वीकार नगर्ने निष्कर्ष निकालेको छ ।

४. बैठकले आगामी दिनहरुमा हुने निर्वाचन सम्बन्धमा समेत बैठकमा छलफल भइ निर्वाचन सम्बन्धी नीति जारी गरेको छ । निर्वाचनमा हाम्रो दलले प्रतिगमनको पक्षमा रहेका राजावादी र एमालेसँग कुनै पनि स्तरमा सहकार्य नगर्ने नीति पारित गरेको छ । आगामी निर्वाचनमा ५ दलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने हाम्रो नीति भए पनि चुनावको सम्पूर्ण तयारी एकल वा आफ्नै सांगठनिक शक्तिका आधारमा लड्ने उद्देश्यले नै गर्नुपर्ने विषयमा बैठकले जोड दिएको छ ।

५. वर्तमान देउवा सरकारलाई हाम्रो दलले सरकार बाहिर रहेर समर्थन गरेको छ । सरकार गठन भएदेखि यता जनजीविका तथा राष्ट्रियताका समस्या झन् विकराल भएका छन् । महङ्गीमा बृद्धि भएको छ ।

राष्ट्रियताको सवालमा जस्तै कालापानीमा भारतीय सैन्य उपस्थिति, दार्चुलाको आकाशमा भारतीय हेलिकोप्टरको उडान, जयसिंह धामीको भारतीय सुरक्षाकर्मीद्वारा हत्या, सुस्तामा हालै भएको भारतीय आक्रमणको विषयमा समेत सरकारले भारतका सामु दृढतापूर्वक कुरा राख्न नसकेकोमा राष्ट्रिय जनमोर्चाले विरोध गर्दछ ।

६. हाम्रो दलले देशव्यापी रुपमा यही मंसिर र पौष २ महिना आर्थिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त अभियानको सफलताको लागि सबैसँग अपील गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप