प्रदेश १ काँग्रेसमा प्रदेश सभापति पदका लागि पाँच जना आकांक्षी
सत्तारुढ नेपाली काँग्रेसमा प्रदेश सभापति पदका लागि आकांक्षीहरुको दौडधुप सुरु भएको छ । दुई सातापछि हुने प्रदेश अधिवेशनका लागि सभापति शेरबहादुर देउवा र उनी इतरका समूहबाट गरी पाँच जना आकांक्षी नेतृत्वका लागि प्रतिस्पर्धामा छन् ।
संघीयता कार्यान्वयनमा आएपछि पहिलोपटक प्रादेशिक समिति गठनको तयारीमा रहेको काँग्रेसमा प्रदेश अधिवेशनको सरगर्मी बढेको छ । प्रदेश सभापतिका लागि सहमतिको सम्भावना टर्दै गएसँगै आकांक्षीहरू चुनावी प्रतिस्पर्धाको तयारीमा जुटेका हुन् । यद्यपि सभापतिका लागि सहमति जुटाउने प्रयास जारी रहेको नेताहरु बताउँछन् ।
काँग्रेसले मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गर्ने मिति तय गरेको छ । सभापति देउवाले प्रदेश १ मा आफ्नो समूहबाट प्रदेश अधिवेशन संयोजन गर्न कानुन मन्त्री ज्ञानेन्द्र कार्कीलाई जिम्मेवारी दिएका छन् भने पार्टीका तर्फबाट प्रदेश अधिवेशनको संयोजन गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी दिइएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेललगायत संस्थापन इतर समूहबाट प्रदेश १ को सभापतिमा केन्द्रीय सदस्य गुरूराज घिमिरेले उम्मेदवारी घोषणा गरिसकेका छन् । देउवा पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल सभापतिको दौडमा छन् ।
अर्यालले सभापतिको उम्मेदवारीका लागि सार्वजनिक रुपमा घोषणा नगरे पनि भित्री रुपमा सभापतिको तयारीका लागि नेता कार्यकर्ता माझ भेटघाटलाई बाक्लो बनाएको उनीनिकट नेताहरुको भनाइ छ । उनले सभापति देउवा र टिमले भनेअनुसार आफूले निर्णय गर्ने बताएका छन् । ‘प्रदेश सभापतिका लागि साथीहरूले आग्रह गरिरहनु भएको छ,’ उनले भने, ‘सकेसम्म केन्द्रीय पदाधिकारीमै उठ्न कोशिस गर्दैछु, मैलेमात्र भन्दा पनि टिमले नै निर्णय गर्छ ।’
उनीहरुबाहेक पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको निकट रहेका झापाका सुधीरकुमार शिवाकोटी र उद्धव थापा पनि प्रदेश सभापति पदका आकांक्षी छन् । काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला निकट मानिने सुनसरी पार्टी सभापति राजीव कोइराला पनि सभापतिका आकांक्षी छन् । उनी काँग्रेस संसदीय दल प्रदेश प्रदेश १ का नेता पनि हुन् ।
प्रदेश १ मा केन्द्रीय सदस्य शेखर कोइरालाको पनि राम्रो प्रभाव छ । उनीनिकट प्रदेश १ संसदीय दलका नेता कोइराला प्रदेश सभापतिका प्रमुख दाबेदार हुन् । सुनसरी जिल्ला सभापतिका रुपमा दुई कार्यकाल बिताइसकेका उनले प्रदेश सभापतिमा दाबी गरिरहेका छन् ।
‘दुई कार्यकाल जिल्ला सभापति भएर पार्टी हाँकेको हुनाले सभापति पदमा मेरो दाबेदारी हो,’ कोइरालाले भने, ‘पार्टीभित्र हुने छलफल र साथीभाइको सल्लाह अनुसार अघि बढ्छु ।’
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि प्रदेश १ मा राम्रो प्रभाव छ । उनीनिकट रहेका झापाका शिवाकोटी र थापा पनि प्रदेश सभापति पदका आकांक्षी छन् । उनीहरु दुवै जना दुई–दुई कार्यकाल झापा सभापति भइसकेका नेता हुन् ।
काँग्रेस नेताहरुले अहिलेसम्म सहमतिको प्रयास नभएको बताएका छन् । ‘सहमतिमा सभापति चयन हुने अवस्था नआएमा सभापति देउवा, पौडेल–कोइराला र सिटौला पक्षबाट एक गरी तीन जनाबीच प्रतिस्पर्धा हुने सम्भावना छ’, काँग्रेसका एक नेताले भने, ‘सकेसम्म सहमति गरौं भन्ने कुरा आउँछ । तर, सहमति हुने सम्भावना न्यून छ ।’
प्रत्येक जिल्लामा रहेका प्रदेशसभा क्षेत्रबाट आएका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद पनि प्रदेश अधिवेशनका मतदाता हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण