भक्तपुरमा काँग्रेस निर्वाचन : मन्त्री र सभापतिले धाँधली गरेको आरोप

नेपाली काँग्रेस भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को गएराति सम्पन्न मत गणनामा धाँधली भएको आरोप लागेको छ । भक्तपुर क्षेत्र नम्बर १ को अधिवेशनमा मतगणनाको विषयलाई लिएर विवाद भएको हो । पार्टीका जिल्ला सभापति दुर्लभ थापा र बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले मतपत्र नै साटेको आरोप तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष विनोद कायस्थले लगाएका छन् ।
जिल्ला सभापति थापा र मन्त्री भँडेल केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कायस्थ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका हुन् । साथै भक्तपुर क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिका उम्मेदवार रहेका उद्धव खड्काले मतगणना बहिष्कार गर्दै पुनः मतदानको माग गरेका छन् ।
मंगलबार भएको क्षेत्रीय अधिवेशनपछि मतगणना सुरु हुँदा पार्टी सभापति देउवा पक्षका नेता एवम् बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भँडेलको नेतृत्वमा केही युवाहरुले होहल्ला गरेर मतगणना गर्न नदिएको कायस्थको भनाई छ ।
रातोपाटीसँग कुरा गर्दै कायस्थले भने, ‘शक्तिको आडमा भँडेल, चाँगुनारायण प्रदेश सभाका नवनिर्वाचित सभापति जयन्द्र खड्का, रविन्द्र प्रधानको गलत कामलाई जिल्ला सभापति दुर्लभ थापाले साथ दिनुभयो ।’ निर्वाचन निर्देशिका विपरित जबरजस्ती गर्नु निन्दनीय भएको भन्दै क्षेत्रीय सभापतिका उम्मेदवार खड्का र महाधिवेशन प्रतिनिधि कायस्थले विज्ञप्ति जारी गर्दै यस कार्यको भर्त्सना गर्दै परिणाम अस्वीकार गर्ने बताएका छन् ।
मत गणनास्थलमा होहल्ला, नाराबाजी र झडप हुने स्थिति सिर्जना भएपछि आफूहरु मंगलबार राती त्यहाँबाट बाहिरिएको कायस्थ बताए । पार्टी निर्वाचन निर्देशिका २०७८ को दफा २ (छ) बमोजिम मतगणना गर्दा व्यवस्थित रुपमा सम्बन्धित उम्मेदवार वा निजको बारेसको रोहबरमा गर्नुपर्छ भन्ने स्पष्ट प्रावधान हुँदाहुँदै मतदान अधिकृतले आफूहरुको कुनै वारेस वा उम्मेदवारको रोहवर नराखी एकपक्षीय ढंगबाट मतगणना गरी निर्वाचन परिणाम घोषणा गरिएकोले मतगणनाको परिणाम बदर गरी पुन मतदान गर्न उनीहरुले माग गरेका छन् ।
मतगणना पुन सुरु गर्ने विषयमा मतदान अधिकृतलाई रातको समयमा विवादका बीच हुन लागेको मतगणना स्थगित गरी बिहान मात्र गणना गर्न अनुरोध गरे पनि माग सम्बोधन नभएको र जिल्ला निर्वाचन अधिकृतलाई सम्पर्क गर्दा सम्पर्क नभएको उनीहरुको भनाई छ ।
यसबारेमा काँग्रेसका जिल्ला पार्टी सभापति दुर्लभ थापाले कायस्थले निर्वाचन हारेपछि नेताहरुलाई काम देखाउन पत्रकार सम्मेलन गरेको आरोप लगाए । समस्या खास के हो भन्ने हाम्रो जिज्ञासामा सभापति थापाले भने, ‘यहाँ कुनै विवाद छैन हारेका अरुको आरोप मात्र हो ।’
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भक्तपुरमा निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि छानिएका छन् । काँग्रेसले दिएको जानकारीअनुसार १ नम्बर क्षेत्रको सभापतिमा जीवन खत्री र २५ जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’
-
विभिन्न स्थानमा ४ जना मृत फेला
-
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
-
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य