शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्ध खोपको ‘बुस्टर डोज’ लगाउनेबारे यस्तो छ तयारी

संसदीय समितिमा मन्त्रीको अपिल– गाउँगाउँ गएर खोप लगाउन सहयोग गर्नुस्
आइतबार, १९ मङ्सिर २०७८, २० : ०२
आइतबार, १९ मङ्सिर २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरवारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् ।

उनले कोरोनाविरुद्धको नयाँ प्रकार ‘ओमिक्रोन’ आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताए । उनले प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको बताए ।

मन्त्री खतिवडाले भने, ‘बुस्टर डोजसँग गाँसिएका कुराहरु आए । यसको नाम बुस्टर भनिए पनि, जे भनिए पनि यो तेस्रो डोजको नाम बुस्टर डोज भनियो । ओमिक्रोन आएपछि यसको चर्चा अलि बढी हुन थाल्यो र तेस्रो डोज लियो भने अझ सुरक्षित हुन्छ भन्ने छ ।’

प्रतिरोधात्मक क्षमता कम भएकाहरुले तीनदेखि ६ महिनाभित्र लगाउँदा राम्रो भन्ने विश्व स्वास्थ्य संगठनको निर्देशन रहेको उनले सुनाए ।

मन्त्री खतिवडाले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताए । उनले अन्य देशबाट आउने नागरिकलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरुको पीसीआर परीक्षण गरेर मात्रै घर जान दिने बताए । मन्त्री खतिवडाले खोपका झोला बोकेर गाउँ गाउँमा गई कोरोनाविरुद्धको खोप लगाउन सहयोग गर्न पनि सञ्चारमाध्यम, राजनीतिक दलहरुलाई आग्रह गरे ।

बैठकमा समितिका सदस्य योगेश भट्टराईले नयाँ भेरियन्टबाट बच्न सतर्कता अपनाउनु पर्ने बताए । उनले कोरोनाको नयाँ भेरियन्ट आएमा लकडाउन बाहेकको विकल्प सोच्नुपर्ने बताउँदै भने, ‘कोरोनाको नयाँ भेरियन्टबाट बच्न नाकामा सतर्कता अपनाउनु पर्छ, लकडाउनभन्दा पनि अन्य विकल्प के हुनसक्छ, त्यसमा ध्यान दिन आवश्यक छ ।’

बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कोरोना भाइरसको नयाँ भेरियन्टबारे विश्वले चासो दखाइरहेको भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । उनले ओमिक्रोनको अध्ययन हुने क्रम जारी रहेकोले अध्ययनपछि यसबारेमा जानकारी गराउने बताए ।

त्यस्तै परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले विश्व स्वास्थ्य संगठनले गरेको एक सुक्ष्म अध्ययनमा ओमिक्रोन धेरै घातक नरहेको बताए । उनले यसको पूरा अध्ययन भइ नसकेकोले गर्दा नेपालमा भने विभिन्न १३ नाकाहरुमा शतर्कता अपनाउन आग्रह गरे ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सदस्य जीवनराम श्रेष्ठले ओमिक्रोन विज्ञहरुको कुरा सुन्दा सामान्य लागे पनि संसारभर त्रासको वातावरण रहेको भन्दै सतर्कता अपनाउनुपर्ने बताए । उनले विगतमा पनि डराएर तयारी गर्न नसकेको बताउँदै यस पटक भने पूर्व तयारी गर्न आग्रह गरे । समस्या आउनु अगावै रणनीतिक रुपमा काम गर्न उनले सुझाव दिए ।

बैठकमा सदस्य खगराज अधिकारीले पोस्ट कोभिडमा नेपालको रिसर्च नपुगेको भन्दै अध्ययनको क्रम बढाउनु पर्ने बताए । उनले एन्टीबायोटिकको साइडइफेक्टको बारेमा अध्ययन गरेर मात्रै मन्त्रालय अगाडि बढेमा जनस्वास्थ्यप्रतिको दायित्व पूरा हुने बताए ।

बैठकमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन र त्यसले जनस्वास्थ्यमा पु¥याउने असरबारे छलफल गरिएको थियो । बैठकमा उपस्थित सदस्य तथा विज्ञहरुले विश्व स्वास्थ्य संगठनले ओमिक्रोनबारे अध्ययन गरिरहेको र छिमेकी देश भारतमा संक्रमित फेला परिसकेकाले नेपालका सीमा नाकाहरुमा स्वास्थ्य सुरक्षा अपनाउन, कोरोना परीक्षण गर्न र खोप लगाएकाहरुको खोप कार्ड देखाएपछि मात्रै आवतजावत गर्न दिन मन्त्रालयलाई आग्रह गरेका थिए ।

विज्ञहरुले नेपालमा पनि यसको संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी नियमित हात धुन, मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम राख्न र भिडभाड नगर्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप