ad
x
अन्तरवार्ता

फूर्ति लगाउनेहरुभन्दा म चर्को कम्युनिस्ट हुँ : रवीन्द्र मिश्र

‘रुपान्तरणविना जिन्दगी बिताउनुपरेको भए पनि काँग्रेसको ठूलो जमात चारतारे झण्डा ओढेर बसेका छन्’

person explore access_timeमंसिर २३, २०७८ chat_bubble_outline1

नेपालको राजनीतिमा पुराना पार्टीहरूको भीडभाडमा केही वर्षयता वैकल्पिक शक्ति बन्ने दाबीका साथ ‘विवेकशील साझा पार्टी’ पनि हाजिर छ । काँग्रेस, एमाले, माओवादी, समाजवादी, मधेसवादी र राप्रपाजस्ता दलहरु हुँदाहुँदै रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी किन चाहियो ? यो पार्टीको वैचारिक र सांगठनिक ‘स्पेस’ के हो ? यो आइडियोजिकल प्रश्न लिएर हामी अध्यक्ष मिश्रलाई भेट्न उनको हेडक्वार्टरमा पुग्यौं । 


पछिल्लो समय विवेकशील साझा पार्टीमा देखिएको विवाद, यहीसाता कतिपय समूहसँग विवेकशील साझा पार्टीले गरेको एकीकरण लगायतका विषयमा चर्चा नगरी हामी ‘विवेकशील साझा पार्टीको’ नीति र सिद्धान्तप्रति केन्द्रित भयौं । खासगरी काँग्रेस, कम्युनिस्ट र राप्रपा हुँदाहुँदै यो पार्टीले उनीहरु भन्दा कुनचाहिँ फरक वैचारिक धरातलमा टेकेर शक्ति आर्जन गर्न लागिरहेको हो भन्ने प्रश्न हामीले मिश्रमाथि राख्यौं । खासगरी मिश्रका पछिल्ला अभिव्यक्तिहरुले यो पार्टीलाई राप्रपासँग नजिक देखाएको हो कि भन्ने पनि हाम्रो जिज्ञासा रह्यो । 



बीबीसीका पूर्वपत्रकार समेत रहेका मिश्रले पछिल्लो समय नेपाली राजनीतिमा विशेष चर्चा पाउन थालेका छन् । खासगरी संघीयता खारेज गर्नुपर्ने र धर्म निरपेक्षताका सन्दर्भमा जनमत संग्रह गर्नुपर्ने उनको नीतिका कारण पार्टीभित्र बाहिरसमेत हलचल आएको छ । त्यस्तै उनले पछिल्लो समयमा कम्युनिस्टहरूको खरो आलोचना गर्न थालेका छन् । माओको फोटो पूजा गर्ने तर महेन्द्र राजालाई गाली गर्ने ? भन्दै मिश्रले ‘राप्रपा’ जस्तो  सुनिने गरी अभिव्यक्तिहरु दिन थालेपछि उनीमाथि कम्युनिस्ट समर्थकहरुले ‘पश्चगामी’ आरोपसमेत लगाइरहेका छन् । 
जे होस्, मिश्रको पार्टी सानो छ । सानो पार्टीमा पनि विवाद छ र विभाजनको डिल–डिलमा पुगेको छ । तैपनि मिश्रले प्रक्षेपण गरेका केही विचारधारात्मक प्रक्षेपणका कारण वर्तमान राजनीति तरंगित छ । यसै सन्दर्भमा रातोपाटीले मिश्रसँग गरेको राजनैतिक वार्तालाप यहाँ प्रस्तुत गरिएको छ ।     



अध्यक्षज्यू, यो अन्तरवार्ताको उद्देश्य विवेकशील साझा पार्टीको ‘आइडियोलोजिकल स्पेस’ (विचारधारात्मक स्थान) कहाँनेर छ भन्ने पाठकहरूलाई छर्लङ्ग होस् भन्ने हो । कम्युनिस्ट पार्टीहरूसँग त तपाईं एकदमै फरक हुनुहुन्छ हैन ?
हेर्नोस्, मैले आलोचना गरेको विकृत वामपन्थको हो । ‘वामपन्थ’ लेफ्टिस्ट आइडियोलोजी, जसलाई नेपालमा कम्युनिस्ट आइडियोलोजी भनेर पनि व्याख्या गरिन्छ । कम्युनिस्ट हुनु र लेफ्टिस्ट हुनु समान कुरा होइन । लेफ्टिस्ट आइडियोलोजीमा सामान्यतया लोकतान्त्रिक बेसमा ‘सेन्टर लेफ्ट आइडियोलोजी’लाई पक्डिइएको हुन्छ । मध्य वामपन्थी विचारधारालाई पक्डिइएको हुन्छ । नेपालको परिप्रेक्ष्यमा मैले भन्दै आएको कुरा के हो भने नेपालको रुपान्तरणका लागि कल्याणकारी लोकतन्त्रको अवधारणा जुन हामीले अगाडि सारेका छौं, त्यो कल्याणकारी लोकतन्त्रको अवधारणाको केन्द्रमा मध्य वामपन्थी दृष्टिकोणहरु रहेका छन् ।
मध्यवामपन्थी दृष्टिकोण रहेको छ भन्नुको अर्थ कम्युनिस्ट हुनु होइन । मध्य वामपन्थी दृष्टिकोण भन्नुको अर्थ सार्वजनिक शिक्षा, सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षाजस्ता विषयहरु राज्यको दायित्व हुनैपर्छ । त्यो आधारभूत मानवअधिकार हो । किनभने, त्यसमा विभेद भयो भने समाजमा वर्ग विभेद एकदम ठूलो हुन्छ । वर्गीय खाडल बढ्छ ।
कम्युनिस्टहरुलाई अर्थात कम्युनिजमलाई घृणा गरेको होइन, तर कम्युनिजमका नाममा, साम्यवादका नाममा, वामपन्थका नाममा जुन विकृति नेपाली समाजमा वामपन्थीहरुले अथवा आफूलाई कम्युनिस्ट भन्ने दलाल पुँजीपतिहरूले भित्र्याइदिए, त्यसको चाहिँ म कट्टर आलोचक हुँ ।  





कम्युनिस्ट विचारधाराका सम्बन्धमा चाहिँ तपाईंको दृष्टिकोण के हो ?
कम्युनिस्टको आइडियोलोजीलाई त दुई खण्डमा राखेर हेर्नुपर्ने हुन्छ । तपाईंले परम्परागत साम्यवादी विचारधाराका आधारमा तपाईंले कम्युनिजमलाई विश्लेषण गर्न चाहनुभयो भने त्यसले एकात्मकतावादी, तानाशाही एवं सम्पूर्ण राज्यद्वारा नियन्त्रित राज्य प्रणालीलाई इंगित गर्छ । तर, त्यो कम्युनिस्ट आइडियोलोजीमा व्यापक परिवर्तन आइसक्यो । चीनमा व्यक्तिगत पुँजी निर्माणमा प्रशस्त स्वतन्त्रता दिइएको छ । चीनसँगै जोडिएको हङकङमा एक देश, दुई प्रणाली भनेर हङकङको व्यवस्थै चीनको भन्दा फरक छ ।



नेपालमा अहिले पनि माओवादीहरुले आफूलाई कम्युनिस्ट भन्छन् । एमालेले आफूलाई कम्युनिस्ट भन्छन् । तिनमा कम्युनिजम अथवा साम्यवादका कुनै पनि आधारभूत चरित्र बाँकी छ ? बाँकी छैन । त्यसकारणले कम्युनिजमको सम्पूर्ण चरित्र नेपालमा मात्रै होइन, विश्वका अन्य देशहरुमा पनि परिवर्तन भइसक्यो । तर, नेपालमा चाहिँ कम्युनिस्टहरूले अथवा वामपन्थीहरुले एउटा साह्रै नराम्रो काम गर्दिए । नेपाली राजनीतिमा एकदमै विषाक्त राजनीतिक भाष्यहरु स्थापित गरिदिए । 



कस्तो विषाक्त भाष्य ?
पैसा कमाउनेजति सबै सामन्ती । अलिकति फरक दृष्टिकोण राख्नेजति सबै प्रतिगामी । अलिकति छिमेकीमा देश विकास भयो, पश्चिममा देश विकास भयो भन्नेजति सबै साम्राज्यवादी । अलिकति तपाईं प्रगति गर्नोस्, अन्तरराष्ट्रिय जागिर तपाईंले प्रतिस्पर्धैबाट पाउनोस्, तपाईं डलरवादी । डलरे । यी निकृष्ट शब्दावलीहरु प्रयोग गर्दै जसका लागि उनीहरु आफैं मरिहत्ते गर्छन् । 

त्यसैकारण मैले नेपालमा कम्युनिजम अर्थात साम्यवादको त्यस्तो घनघोर आलोचना गरेको होइन । साम्यवादका नाममा लिएर आइराखेको विकृति र त्यसबाट स्थापना गरिएको विषाक्त भाष्यको चाहिँ आलोचना गरेको हुँ ।  

तर, यसो भनिरहँदा नेपालमा व्याप्त कम्युनिस्ट जनमतले तपाईंलाई गैरकम्युनिस्ट पात्रका रुपमा चित्रण गर्ने खतरा बढ्दैन ? 

यहाँका जाने–मानेका कम्युनिस्ट नेताहरु, जो सत्तामा बारम्बार पुगेका छन्, तीभन्दा बढी कम्युनिस्ट म हुँ । कम्युनिजमले के भन्छ ? कम्युनिजमले सबभन्दा पहिला वर्गीय विभेदलाई न्यूनीकरण गर्नुपर्छ भन्छ । वर्गीय समानतालाई प्रवद्र्धन गर्नुपर्छ भन्छ । गरीवीलाई निवारण गर्नुपर्छ भन्छ । राजनीतिमा आउनुभन्दा पहिले पनि म सामाजिकरुपमा त्यही प्रयासमा निरन्तररुपमा थिएँ । 

त्यो प्रयासबाट मैले के महसुस गरें भने धुलिखेलमा एउटा वाल आश्रय सञ्चालन गर्दैमा अथवा सिन्धुपाल्चोक र काभ्रेमा राम्रा राम्रा स्कुल बनाउँदैमा देशको रुपमान्तरण सम्भव छैन । अथवा, मुगुको मुर्मा गाउँमा गएर अस्पताल बनाउँदैमा देशको रुपमान्तरण सम्भव छैन । किनभने त्यो वर्गीय विभेद हटाउनका लागि र अन्य सबै प्रकारका जातीय, लैङ्गिक, क्षेत्रीय, सबै किसिमका विभेद हटाउनका लागि राजनीति नै मूल नीति हो भनेर म राजनीतिमा आएको हुँ । र, अहिले विवेकशील साझा पार्टीको अर्थ राजनीतिक एजेण्डा पूर्णरुपमा यो विभेद हटाउनमा केन्द्रित छ । त्यसकारणले यो देशका फूर्ति लगाउने कम्युनिस्टहरुभन्दा म चर्को कम्युनिस्ट हुँ, त्यो अर्थमा । 

नेपालका कम्युनिस्टहरुले वर्गविभेदको अन्त्य, सामाजिक न्याय, गरीबी निवारण, शिक्षा–स्वास्थ्यको सार्वजनिकीकरण जस्ता जुन एजेण्डा बेचेर खाए, अब यी एजेण्डाचाहिँ विवेकशील साझाले समाउँछ भन्दा हुन्छ ?

यो एजेण्डा विवेकशील साझाले समाउँछ हैन, समाइसकेको छ र हामी निरन्तर त्यही एजेण्डाका लागि काम गरिराखेको छौं । तर, यी एजेण्डा समाउँदाखेरि उनीहरु (कम्युनिस्ट पार्टीका नेताहरु) ले व्यक्तिगत, पार्टीगत स्वार्थपूर्ति गर्न, आफ्नो आर्थिक उन्नति गर्न जुन किसिमको दलालीपन गरे, जुन किसिमबाट इमान्दारी गुमाए, जुन किसिमको भ्रष्टता देखाए र जुन किसिमको एउटा राजा फालेर आफूलाई राजसी ढाँट देखाउँदै प्रस्तुत गरे, हो त्यसलाई पनि हामी चिर्ने प्रयासमा छौं । 

त्यो भनेको के हो भने मैले बारम्बार भन्ने गरेको छु, यो देशमा भगवान रामलाई ल्याएर शासन गर्न दिनोस्, तर सरकारी तलब खानेहरुको युनियन तपाईंले भंग गर्नुभएन भने कसैले यो देश रुपान्तरण गर्न सक्दैन । 

सरकारी कर्मचारीको युनियनचाहिँ किन भंग गर्नुपर्ने ?
तपाईं सरकारी तलब खानेलाई कार्यालयमा ६ वटा युनियन बोर्ड झुण्ड्याउन दिएर अनि तपाईं यो देश विकास गर्ने ? शुक्रबारदेखि नेपाली काँग्रेसको महाधिवेशन हुँदैछ । भर्खरै एमालेको महाधिवेशन सकियो । भर्खरै राप्रपाको महाधिवेशन सकियो । नयाँ नेताहरु आउँछन् भनेर खूब आशा गरिएको छ । नयाँ कुनचाहिँ नेताले सरकारी बेतनधारीको युनियन खारेज गर्छु भनेको छ ? कसैले भन्या छ ?

त्यो युनियन खारेज नगरिकन उनीहरुले यो देश रुपान्तरण गर्दिन्छन् भनेर पत्याउने तपाईंहरुजस्ता पत्रकारहरुसँग पनि मेरो समस्या छ । कसैले भन्या छ ? तपाईंहरु सर्वोच्च अदालतको प्रधानन्यायाधीशले राजीनामा देऊ, राजीनामा देऊ भनेर लेख्नुहुन्छ । महाअभियोग लगाऊ भनेर लेख्नुहुन्छ । तर, सँगसँगै दलीय पेशागत संघ संगठन बन्द गर भनेर किन लेख्नुहुन्न ? बार एशोसिएसनमा तपाईं दल–दलको मान्छे पठाउने, पार्टी–पार्टीको मान्छे पठाउने, न्यायपरिषदमा पार्टीको भागवण्डा गर्ने, अनि सर्वोच्च अदालतले ठीक फैसला गरेन, सर्वोच्च अदालत राजनीतिकरण भयो भनेर तपाईंहरु सम्पादकीय लेख्ने ? पहिला तपाईंहरु लेख्नोस् न यो परिवर्तन गर्ने हो दलीय पेशागत संगठन बन्द गर्नुपर्छ । न्यायपरिषद सुधार गर्नुपर्छ भनेर लेख्नोस् । सरकारी बेतनधारीहरुको युनियन खारेज गर्नुपर्छ भनेर लेख्नोस् । अनि त्यहाँबाट रुपान्तरण हुन्छ ।  ती सबैले गाँजेपछि यहाँ धेरैले आशा गरेका नयाँ पुस्ता आएर देश परिवर्तन गर्ने त छोडिदिनोस्, भगवान रामलाई ल्याएर यो देशमा शासन गरे पनि यो देश परिवर्तन हुँदैन । ​

त्यसोभए विवेकशील साझाले चाहिँ सरकारी कर्मचारीहरुमा संगठन बनाउँदैन ?
हामी नेतृत्वमा पुग्यौं भने क्याबिनेटको पहिलो बैठकबाट विधिसम्मत ढंगबाट कर्मचारी युनियन पूरै खारेज गर्नका लागि कदम चाल्छौं । त्यो मात्रै होइन, दलीय पेशागत संगठन पनि बन्द गर्छौं । तपाईं डाक्टरलाई राजनीतिकरण गर्दिने ? डाक्टरलाई राजनीति गराउने कि बिरामी जाँच्न लगाउने ? प्राध्यापक र शिक्षकलाई पढाउन लगाउने कि राजनीति गराउने ? इञ्जिनियरलाई पढाउन लगाउने कि राजनीतिक गराउने ? वकिललाई न्याय दिन लगाउने कि राजनीति गराउने ? सप्पैलाई राजनीति गराइदिने ? पत्रकारलाई पत्रकारिता गर्न दिने कि राजनीति गराउने ? यसरी पत्रकारहरूसमेत यति धेरै राजनीतिकरण किन भए ? अनि उहाँहरुले प्रश्न उठाउने ? अनि सर्वोच्च अदालतमा यस्तो भयो, राजनीति भ्रष्ट भयो भन्न कसरी मिल्छ ? 

हामी कम्युनिस्टको कुरा गरिरहेका थियौं । आइडियोलोजीको कुरा गर्दा नेपाली काँग्रेससँग चाहिँ विवेकशील साझा पार्टीको कहाँनेर भिन्नता छ ? 
नेपाली काँग्रेसले जुनबेलादेखि विश्वेश्वरप्रसाद कोइरालाको आदर्शलाई त्यागेर गिरिजाप्रसाद कोइरालाको आदर्श समायो, त्यो बेलादेखि यो समाज विकृत वामपन्थीहरुको कब्जामा गयो । र, त्योबेलादेखि यो समाजमा रहेको केही हदसम्मको सन्तुलन बिग्रियो ।
माओवादीहरू विदेशीबाट परिचालित भए । माओवादीको पुच्छर नेपाली काँग्रेस भयो । नेपाली काँग्रेसको पुच्छर एमाले भयो । र, यी तीनैवटा पार्टीले नेपाली समाजलाई गाँजेर राखिदिए । र, यसबाट यो समाज मुक्त हुन सकेको छैन । 
नेपाली काँग्रेससँग जब तपाईं पोलिटिकल आइडियोलोजिकल भिन्नताको कुरा गर्नुहुन्छ, उनीहरु अहिलेको स्थितिमा भन्ने हो भने संघीयता र धर्म निरपेक्षताकै पक्षमा छन् । हामीले संघीयता खारेज हुनुपर्छ भन्यौं । धर्म निरपेक्षतामा जनताको राय लिनुपर्छ भन्यौं । वैचारिक फरक यहाँ पनि भयो । यसका साथमा नेपाली काँग्रेससँग एजेण्डागत भिन्नताहरु धेरै छन् । 

जस्तो– नेपाली काँग्रेसले हामीलेजस्तै निशुल्क र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा राज्यको दायित्व हो, त्यसमा सम्झौता हुन सक्दैन भन्न सक्दैन । किनभने, काँग्रेसले समाजवाद उन्मुख संविधान पनि शिक्षा र स्वास्थ्यलाई अनियमित ढंगबाट व्यापारीकरण गर्न दिएको छ । यहाँ वैचारिक भिन्नता भयो । 

नेपाली काँग्रेसका एकदम आशा लाग्दा भनिएका नेताहरुले, मैले अघि पनि भनें, कर्मचारी युनियन भंग गर्नुपर्छ र सरकारी बेतनधारीले युनियनबाजी गर्न पाउँदैन भनेर कसैले भनेको छ ? छैन । नेपाली काँग्रेसले प्राध्यापक, शिक्षक, डाक्टर, इञ्जिनियर, वकिल, पत्रकारहरुको दलीय पेशागत संगठन हुनुहुँदैन, हामी भंग गर्छौं भनेर भनेको छ ? हामी त बनाउँदैनौं । यहाँ पनि फरक छ ।
त्यसकारणले नेपाली काँग्रेससँग हामी अहिले लोकतन्त्रको मामिलामा एक ठाउँमा भए पनि वैचारिक र एजेण्डागत मामिलामा फरक ठाउँमा उभिएका छौं । 

नेपाली काँग्रेसभित्र धर्म निरपेक्षता हुनुहुँदैन, संघीयता हुनुहुँदैन भन्नेहरु पनि छन्, उनीहरुसँग चाहिँ विवेकशील साझाको भविष्यमा मिल्ने सम्भावना कति छ ?
नेपाली काँग्रेसभित्र संघीयता हुनुहुँदैन, संघीयताले यो देशलाई घात गर्छ, धर्मनिरपेक्षता हुनुहुँदैन, यसले पनि देशलाई घात गर्छ भन्ने ठूलो जमात छ । तर, ती निरीह भएर मर्नेबेलामा म चारतारे झण्डै ओढेर मर्छु भनेर बसेका छन् । तिनले जीवन बिताइसके नेपाली काँग्रेसमा । तर, यो देश परिवर्तन गर्न सकेनन् । नेपाली काँग्रेस फेरिनेवाला छैन ।

हाम्रो हृदयदेखिको आग्रह के हो भने यो देश बन्यो भने हाम्रो सामान्य नागरिकको पनि जीवन सुखी र खुशी हुन्छ । यो देश बनाउन यत्रो वर्ष तपाईंहरुले गर्नुभयो, त्यो भ्रष्टता, त्यो गैरइमान्दारीको जालोमा जकडिनुभयो । भएन, आउनुहोस्, सँगै गरौं । यो समाजलाई चिनौं । मैले अघि पनि भनें यो समाज मूलतः नरम परम्परावादी समाज हो । नरम दक्षिणपन्थी समाज हो । मोडरेट कन्जरभेटिभ समाज हो नेपाली समाज । जतिसुकै हामीले अग्रगमन र प्रगतिशीलताका कुरा गरे पनि समाजको आधारभूत चरित्रलाई तपाईंले चिन्न सक्नुभएन भने त्यो समाज रुपान्तरण हुँदैन । र, नेपालको परिप्रेक्ष्यमा समाजको यो आधारभूत चरित्रलाई खलल पुर्याउनका लागि माओवादी, एमाले र काँग्रेसले जुन दुष्कर्म गरे, त्यो दुष्कर्मबाट यो समाजलाई फेरि उठाउनुपर्छ भन्ने हाम्रो प्रयास हो ।

नेपाली काँग्रेसको महाधिवेशन संघारमा छ, काँग्रेसलाई बदल्छु भनेर लागेकाहरुलाई के सुझाव दिनुहुन्छ ?
मेरो एउटैमात्र सल्लाह छ– अब काँग्रेसबाट जुन नयाँ नेतृत्व आउँछ र सारा महाधिवेशन प्रतिनिधिहरुले नयाँ नेतृत्व छान्छन् । तिनले सरकारी बेतनधारीको युनियन भंग नगर्ने, दलीय पेशागत संगठन भंग नगर्ने र दलीय विद्यार्थी संगठन भंग नगर्ने हो भने तिनले दिएको भाषण खोक्रो ढ्वाङ बजेसरह बजिरहनेछ, तर यो देश परिवर्तन हुनेछैन । त्यसकारण मेरो आग्रह के हो भने काँग्रेस महाधिवेशन प्रतिनिधिहरुले पनि यो विषयमा नेतृत्वलाई प्रोत्साहित गरुन् । नेतृत्वले पनि यसमा प्रतिवद्धता नजनाउने हो भने अरु कुनै पनि प्रतिवद्धताले यो देश रुपान्तरण हुन सक्दैन ।

काँग्रेस र एमालेका नेता–कार्यकर्ताहरु विवेकशील साझा पार्टीमा प्रवेश गर्न सक्छन् कि सक्दैनन् ? यसमा चाहिँ तपाईंहरुको नीति के छ ?
केही पनि छेकबार छैन । नेपालको कानूनले राजनीतिक दलमा सदस्यता लिनका लागि बर्जित नगरिएको जोसुकै नागरिकले पनि विवेकशील साझाको सदस्यता लिन सक्छ । तर, सदस्यता लिइसकेपछि विवेकशील साझाको आचारसंहिताले अथवा विधानले उनीहरुलाई निर्देशित गर्छ । 

माओवादीप्रति चाहिँ तपाईंहरु काँग्रेस र एमालेसँग भन्दा अलि बढी नै पूर्वाग्रही हो कि ?
पूर्वाग्रह भन्नुहुन्छ तपाईं ? १० वर्ष दिल्लीमा बसेर नेपालका गाउँ गाउँका कम पढेका बालबालिकादेखि लिएर नागरिकहरुलाई उद्वेलित बनाएर, मर्न पठाएर, अपवादबाहेक आफ्ना छोराछोरी लुकाएर राखेर पढाएर, किरिया बसेको नेपालीलाई घिसारेर ल्याएर टुप्पी काटेर, पढाइराखेको शिक्षकलाई तानेर लिएर घाँटी रेटेर, गाउँको गरीबलाई जासुस भनेर ढोकाको चौकोसमा बञ्चरोले हानेर घुँडा फुटाएर, मान्छे मारेर, अर्काको देशमा बसेर नेपालमा मान्छे मारेर... अनि त्यस्तो काम गर्नेलाई आलोचना गर्यो भनेर तपाईं पूर्वाग्रही भयो भन्ने ?  

०४७ सालको संविधानले नेपाली जनताको मन जितेर परिवर्तन गर्ने ठाउँ दिएको थियो कि थिएन ? लोकतन्त्र आइसकेको थियो कि थिएन ? लोकतन्त्र नआएको ठाउँमा बेलाबेलामा राजनीतिक परिवर्तनको लागि हिंसा हुन सक्छ । लोकतन्त्र आइसकेको ठाउँमा मलाई जनयुद्ध गर्ने रहर थियो भनेर तपाईं विदेशीको दास बनेर नेपालमा मान्छे मार्ने ? अनि त्यसको प्रशंसा गरिदिऔं म ? त्यो हुन सक्दैन । 

ठीक छ, यो तपाईंको दृष्टिकोणको कुरो हो । तपाईं एउटा राजनीतिक पार्टीको अध्यक्ष हुनुहुन्छ । यो १० वर्षको जनयुद्ध भनौं या हिंसा भनौं, यसबाट सिर्जित धेरै ठुल्ठुला घाउहरु समाजमा अहिले पनि छन् । राज्यपक्षबाट पनि धेरै मानिस मारिएका छन्, माओवादीबाट पनि मारिएका छन् । तिनका परिवारजन गाउँमा बिचल्ली छन् । तिनीहरुको भावनामा मल्हम लगाउने काम पनि त पार्टीहरुले जिम्मा लिनुपर्ला नि ? जस्तो– केपी ओलीले पनि माओवादी नेताहरुलाई असाध्यै आलोचना गर्नुहुन्छ, तर द्वन्द्वपीडितहरुको जिम्मा लिन्छु भन्ने गरेको सुनिन्छ । यसमा तपाईंको चाहिँ दृष्टिकोण के हो ? १० वर्षको त्यो परिस्थितिले हामीसँग समस्या त निम्त्याएकै छ, यसबारे विवेकशील साझा पार्टीको दृष्टिकोण के हो ?
एकदम स्पष्ट छ । माओवादीको नेतृत्व दोषी हो नि । मैले त्यो घाइते हुने, त्यो माओवादी द्वन्द्वमा फसेर साँच्चिकै गोली हान्न जाने देशमा केही हुन्छ होला भन्ने सपना बोकेर आफ्ना श्रीमती, छोराछोरी, बाबुआमा छाडेर मनै भनेर जाने नागरिकप्रति यति ठूलो सद्भाव छ नि, त्यो स्थिति देखेर पनि त हो नि म यसरी राजनीतिमा होमिएको । उनीहरुप्रति त हामीले ठूलो सहानुभूति र सम्मान राख्नुपर्छ । 

तर, उनीहरुलाई बहकाउने, पढेलेखेका, राजनीति जानेको छु भन्ने र देश रुपान्तरण गर्छु भन्ने तिनीहरुले के गरे ? कार्यकर्ताका परिवारहरु आज पनि जस्ताको त्यस्तै छन् । तिनीहरु घरखेत बेचेर, गाईवस्तु बेचेर खाडी गएका छन् । कोही अपाङ्ग छन् । कोही मानसिक रुपमा विक्षिप्त छन् । कसैको जीवन बर्बाद भयो । पढ्न पाएनन् । अनि, उनीहरुको जीवन बनाउँछु भनेर हिँडेकाहरुको जीवन कस्तो छ काठमाडौंमा ? कस्तो छ ? पोल्नुपर्छ कि पर्दैन छाती ? एक पैसा कमाए तिनीहरुले जिन्दगीमा ? एक पैसा नकमाइकन अहिलेको जीवनशैली कसरी धानिइरहेको छ ? 

अनि, साराका सारा विवेकशील साझा पार्टीको त विचारै छैन, दर्शनै छैन, विचारशून्य छन् ! विचारवान् त को भए भने जो मान्छे मारेर आएर आफूलाई रुपान्तरण गरे, ती विचारवान भए । हामी जो साच्चिकै देशको रुपान्तरण गर्नुपर्छ भनेर इमान्दारिताको धरातलमा टेकेर काम गर्न खोजिरहेका छौं, हामीचाहिँ विचारविहीन ? मैले त्यही भएर अस्ति जावलाखेलमा भाषण गर्दा भनें– कान खोलेर सुन्नोस् । हाम्रो विचार के हो, हाम्रो एजेण्डा के हो, कान खोलेर सुन्नोेस् ।

भनेपछि, हिजो माओवादीमा लागेका कार्यकर्ताहरुका लागि पनि विवेकशील साझा पार्टीको ढोका खुल्ला छ ?
तिनीहरुप्रति न हाम्रो ठूलो सम्मान छ हेर्नोस् । ती सबै नागरिकहरु, जसले साँच्चिकै यो देश रुपान्तरण होस् भन्ने चाहेर विभिन्न तहमा काम गरिराखेका छन् र यी माथि बसेका नेताहरुले जसरी उनीहरुको चेतनालाई कब्जा गरेर राखेका छन् र तिम्रो सम्बन्ध मसँग वा मेरो पार्टीसँग भएन भने तिम्रो छोराछोरीको जिन्दगी पनि सुनिश्चित हुँदैन है भनेर सन्देश प्रवाहित गरेका छन्, र त्यो जालोमा बाँधेर राखेका छन्, तिनीहरुप्रति हो हाम्रो गुनासो । आम सर्वसाधारणप्रति हाम्रो ठूलो सम्मान छ । हामीले गरेको राजनीतिक भनेको ती सर्वसाधारणको जीवन परिवर्तन गर्न हो । र, हाम्रो प्रतिवद्धता र वाचा के हो भने यी नेताहरुजस्तो हामी बिग्रिँदैनौं ।  

हामीले कम्युनिस्ट र काँग्रेसका बारेमा कुरा गर्यौं । राप्रपासँग चाहिँ विवेकशील साझा पार्टीको विचारधारात्मक भिन्नता कहाँनेर छ ?

तपाईंले यहीखालको प्रश्न शेरबहादुर देउवा वा केपी ओलीलाई सोध्नुहुन्न । किन सोध्नुहुन्न भने ती पुराना पार्टी हुन् । र, तिनले काम गरेको वैचारिक धरातलमा मूल रुपमा कहीँ फरक छ ? कामको भिन्नता त छैन । एमाले र काँग्रेसलाई हेर्नुभयो भने बैचारिक रुपमा धेरै ठूलो भिन्नता कहीँ छ अब ? छैन । किनभने, जब तपाईं एउटै समाजभित्र राजनीति गर्नुहुन्छ, त्यसमा धेरै एजेण्डा र विचारहरु मिल्न गएका हुन्छन् । तर, त्यो विचारलाई तपाईंले कसरी लागु गर्नुहुन्छ भन्ने कुराले सम्पूर्ण भिन्नताहरु सिर्जना गर्छ ।

जस्तो– बेलायतमा कन्जरभेटिभ र लेवर पार्टीका बीचमा ठूलो बैचारिक भिन्नता के छ भनेर प्रश्न गर्नुभयो भने उत्तर नै आउँदैन । चुनावका बेलामा ती दुइटाका बीचमा द्वन्द्व के हुन्छ भन्दा कसले शिक्षामा सुधार गर्ने ? कसले स्वास्थ्य सेवामा सुधार गर्ने ? कसले सामाजिक सुरक्षा, आप्रवासीको नीति र आर्थिक नीतिमा अझ सुधार गर्ने भन्ने हुन्छ ।

हो, अब लोकतन्त्रको फेर्मवर्कभित्र बसेर काम गरेपछि कतिपय स्थितिमा एजेण्डाहरु मिल्न जान्छन् । अहिले स्वभाविकरुपमा राप्रपा र हाम्रा एजेण्डाहरुमा समानता देखिएको छ । तर, त्यो जब लागु गर्ने चरणमा आउँछ, जनताले कसलाई विश्वास गर्छन् भन्ने त्यहाँनिर हुन्छ । जस्तो– काँग्रेस र कम्युनिस्ट छान्दा जनताले कसलाई विश्वास गर्छन् ? राप्रपा र विवेकशील साझा छान्दा कसलाई विश्वास गर्छन् भन्ने त्यहाँ हुन्छ । किनभने, काममा फरक हुने हो ।  लोकतन्त्रभित्र कुन पार्टी हावी हुने– नहुने भन्ने कुरा त्यहाँभित्रका नीतिहरु हुन्छन्, तिनमा केही समानता हुन्छ । तर, लागु गर्दा कसले प्रभावकारी रुपमा लागु गर्नसक्छ भन्ने कुराले अर्थ राख्छ ।

यसमा अझै प्रस्ट पारिदिनुस् न । राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र भनेको छ । विवेकशीलले परम्परासहितको विकास भनिरहेको छ । भनेपछि, संबैधानिक राजतन्त्रको सवालमा कुरो मिल्न पुगेको हो ?

विवेकशील साझाले के भनेको छ भने यदि यो राष्ट्रपति संस्थाको गरिमा कायम नराख्ने हो र यसैगरी पार्टीको राष्ट्रपतिको संस्था, गुटको राष्ट्रपतिको संस्था, व्यक्तिको राष्ट्रपतिको संस्था रहिरहने हो, सरकारहरु यसैगरी भ्रष्ट भएर आम सर्वसाधारणको आकांक्षा र सपनालाई सम्बोधन नै गर्न नसक्ने, आफ्नै स्वार्थमा रुमल्लिने हो, नेपालको गौरव, नेपालको अन्तराष्ट्रिय सम्मान यसैगरी क्षयीकृत भएर जाने हो र नेपालका जातजाती तथा क्षेत्रक्षेत्रबीचको चिरा पार्दिएका छन् विकृत वामवादीहरुले, सँगसँगै पुराना राजनीतिक दलहरुले त्यसलाई अझ बढि फराकिलो हुन दिने हो र मल्हम नलगाउने हो भने नेपालको गणतन्त्र पनि खतरामा छ भनेर हामीले भनेका छौं । 
गणतन्त्र तपाईंले सम्पादकीय लेखेर जोगिँदैन । तपाईंले गणतन्त्रवादीको अन्तरवार्ता लिएर जोगिँदैन । गणतन्त्र जोगाउने हो भने राष्ट्रपतिको संस्थाले राम्रो काम गर्नुपर्यो । सरकारले देशका दुरदराजमा रहेका जनताको आकांक्षालाई पूर्ति गर्नपर्यो अनि जोगिन्छ ।

‘वादी’को हिसावले चाहिँ तपाईं गणतन्त्रवादी नै हो ?
वादीको हिसावले मैले वारम्वार भन्ने गरेको छु । अर्थ राजनीतिक एजेण्डा मेरो सबैभन्दा चासोको विषय हो । त्यो भनेको निशुल्क र गुणस्तरीय शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा । लोककल्याणकारी राज्य मेरो सबैभन्दा बलियो विश्वासको विषय हो । त्यसैकारण कल्याणकारी लोकतन्त्रवादी हुँ म ।

तर, त्यसबाहेकका संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रको विषयमा मैले भन्दै आएको के हो भने यो परिवर्तन भएर नभएर नेपालको रुपान्तरण सुनिश्चित हुने–नहुने कुरालाई निक्र्योल गर्दैन । तर, नेपाल जुन किसिमको भूराजनीतिक अवस्थामा छ, जातीय विभेद छ, जसरी पश्चिमा देशहरुको चासो नेपालमा बढेर गएको छ र विदेशीको चासो बढेपछि नेपालजस्तो जातीय विविधता भएको अन्य देशको उदाहरण पनि हेर्नुभयो भने त्यो जातीय विविधताभित्र जसरी विदेशीले खेल्छन् र अहिले जसरी नेपालको धार्मिक, जनसांख्यीक बदलिएर गएको छ, त्यसले आजभन्दा २०,२५ बर्ष पछि यो देशमा ठूलो संकट निम्त्याउन सक्छ । त्यो संकट ननिम्तियोस् । त्यो संकटलाई हेरेर म राजसंस्थावादी हो होइन, म गणतन्त्रवादी हो होइन, म धर्मनिरपेक्षतावादी हो होइन, भन्ने कुरा त्यो बस्तुस्थितिले निक्र्याेल गरोस् ।

म धर्मनिरपेक्षतावादी हुँ, म संघीयतावादी हुँ, म २५ बर्षको हुँदा नेपालको स्थितिमा पनि यस्तै थिएँ । म ५० बर्ष भैसकें धरातलीय यथार्थ व्यापक रुपमा परिवर्तन भैसक्यो हैन, म त मेरो विचारबाट टसमस हुन्न भन्यो भने तपाईं जडसुत्रवादी हो । तपाईं राजसंस्थावादी, गणतन्त्रवादी, संघीयतावादी, धर्मनिरपेक्षवादी केही पनि होइन, तपाईं जडसुत्रवादी हो, म जडसुत्रवादी हो ।

यहाँले भूराजनीतिक विषयको चर्चा गर्नुभयो । अहिले व्यापक चर्चामा रहेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी सम्झौता) का विषयमा चाहिँ विवेकशील साझा पार्टीको लाइन के हो ?
एमसीसीबारे बहुसंख्यक जनतामा चासो, चिन्ता र विविध प्रश्नहरु भएकाले ती चासो, चिन्ता र प्रश्नहरुको सम्वोधन हुनुपर्छ । र, सम्वोधन हुन सकेन भने एमसीसी खारेज गरे पनि केही फरक पर्दैन । यसको अर्को उपाय भनेको स्वतन्त्र विज्ञहरुको एउटा टोली गठन गरेर त्यो टोलीले दिएको सुझाव अनुसार गरे पनि हुन्छ । एमसीसीका बारेमा यो धारणा हाम्रो पार्टीले बारम्बार स्पष्ट पार्दै आएको छ ।  

विवेकशील साझा पार्टीले विगतमा काठमाडाैंमा धुलो भयो, सडकमा खाल्डो पर्यो, मानिसलाई सास्ती भयो भन्ने जस्ता जनताका एजेण्डालाई समातेर आवाज उठाउने गथ्र्यो, जसले  तपाईंहरुप्रति जनताको आकर्षण बढेको थियो । तर, पछिल्लो चरणमा महेन्द्र ठीक की पृथ्वीनारायण ठीक भनेर बहस गरेको देखिन्छ । जनजीविकाका सवालमा नबोली तपाईंहरुको पार्टी पनि ‘ब्रह्मा ठूलो कि विष्णु ठूलो’ भनेजसरी पुरानै ढर्रामा किन लाग्नुभएको ?

जस्तो चस्मा लगाएर हेर्यो, त्यस्तै देखिने हो । अस्ति हामीले जावलाखेलमा कार्यक्रम गर्दा हाम्रा प्रमुख अर्थराजनीतिक एजेण्डा भनेर एउटा ठुलो बोर्डमा त्यहा राखेका थियौं । त्यसमा हामीले एक नम्बरमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको कुरा गरेका छांै । भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्र उद्देलन र रोजगारीका कुरा गरेका छौं । जनजीविकाको विषय त हाम्रो प्रधान एजेण्डा भैहाल्यो नि । तर, त्यो सँगसँगै यो देशको अस्तित्व, स्वाभिमान, सार्वभौमसत्ता र यो देशको अखण्डता संकटउन्मुख छ भनेदेखि तपाईंले अर्थराजनीतिका एजेण्डा कसरी लागु गर्न सक्नुहुन्छ ?

संसारमा अस्थिरता भएको, राजनीतिकरुपमा विभक्त, जातीय रुपमा अत्यधिक विवाद भएको र संघर्ष भैरहेको र विदेशीले हस्तक्षेप गरेको कुनै देशमा अर्थ राजनीतिक एजेण्डा लागु भएको छ ? हो, अब हामीले बुझाउन खोजेको के हो भने हाम्रा अर्थ राजनीतिक एजेण्डा प्रधान हुन् । तर, ती सबैभन्दा प्रधानचाहीँ सबभन्दा पहिला यो देश नै हो ।

यो देश विदेशीको प्रभावमा यतिधेरै परिसक्यो कि विदेशीले गन्दै गन्दैनन् । भूतपूर्व प्रधानमन्त्रीलाई सहसचिवस्तरको राजदुत गएर थर्काइदिन्छ । विदेशबाट परराष्ट्रमन्त्री आउँदा यहाँका भूतपूर्व प्रधानमन्त्रीहरु लाइन लागेर भेट्न जान्छन् । तर, नेपालको परराष्ट्रमन्त्री विदेश जाँदा त्यहाँको परराष्ट्रमन्त्रीलाई भेट्नै हम्मेहम्मे हुन्छ ।

त्यसबाहेक चीन र भारत संसारका दुई आर्थिक र राजनीतिक रुपमा सर्वशक्तिमान भएर जसरी आएका छन्, भारतमा खासगरी पानीको राजनीतिले यो क्षेत्रमा गम्भीरता लिँदैछ । किनभने, त्यहाँबाट उत्तर प्रदेश र बिहारमा दशौं करोड जनता प्रभावित हुँदैछन् र त्यसको मूल पानीको स्रोत भनेको नेपाल हो । भारतको गंगामा बहने पानीको ६० देखि ७० प्रतिशत नेपाल भएर जान्छ । अब यो परिस्थितिमा नेपाल जसरी भुपरिवेष्ठित छ र चीन र भारतको कारणले गर्दा पश्चिमाको नेपालमा ध्यान केन्द्रित भएको छ । यी तीनवटा शक्तिले यहाँभित्रको अस्थिर राजनीति, यहाँभित्रको जातीय विभेदता, संघीयता र धार्मिक जनसांख्यिक बनोटमा खेलेपछि तपाईंले बाटाको खाल्डो पुर्ने, स्कुलको छानो बनाउने, अस्पताल राम्रो बनाउने एजेण्डा कहाँबाट लागु गर्नुहुन्छ ? पहिला तपाईंले यसलाई सुनिश्चित गर्नुपर्यो । यो सुनिश्चित गर्नका लागि अहिले हामीले उठाएका एजेण्डा एकदमै महत्वपूर्ण छन् ।

तपाईंले भनेको ठिकै होला । तर, जनताका मुद्दामा प्रेसर ग्रुपको काम गर्यो भने तत्काल उनीहरुलाई राहत पुग्थ्यो होला नि ?
त्यो त संगसँगै गरिरहेका छांै । तपाईंले भनेका यी एजेण्डा छोड्दै छोडेका छैनौं । हाम्रा अर्थराजनीति र सुशासन, भ्रष्टाचार न्यूनीकरण, सरकारी वेतनधारीको युनियन खारेजी, दलीय राजनीतिक संगठन बनाउनु हुन्न भन्ने एजेण्डा छन् । हामीले विद्यार्थी संगठन कलेजको परिधिभित्र विद्यार्थीको दलीय राजनीति हुनुहुँदैन भनेका छौँ । बाहिर आएर युवा विद्यार्थीले राजनीति गर्नुपर्छ, तर त्यहाँभित्र राजनीति गरेर प्राध्यापकलाई कालोमोसो पोत्ने होइन भनेर यी सबै एजेण्डा भनिरहेका छांै । तर, त्यसका साथमा अरु महत्वपूर्ण मुद्दा पनि उठाएका हौँ ।

अर्को प्रश्न, तपाईंहरुले अलि बढी शहरका, सुकिला–मुकिला अनि विदेशमा पढेकाहरुमा बढी ध्यान दिएको तर गाउँघरका गरिव मानिस, सुकुम्वासीसँग पार्टी पुग्न नसकेको हो कि भन्ने पनि सुनिन्छ, के त्यस्तै हो ?
विकृत वामवादीहरुले हाम्रा बारेमा कस्तो कथ्य निर्माण गरिदिए भने कहिलेकाहीँ सामाजिक सञ्जालमा तथानाम लेखिएको हुन्छ । यसो प्रोफाइल खोलेर हेर्यो भने तिनीहरु कुन्नि के क्रान्तिकारीका सदस्य, कुन्नि केका सदस्य भनेर सक्रिय भैराखेका हुन्छन् । गाउँलाई महत्व दिएन भनेर कसले भन्यो ? म सुदूरपश्चिमका नौ वटा जिल्लाका गाउँगाउँ घुमेर आएको छु । तराईका जिल्लामा पनि गाउँगाउँ घुमेर आएको छु । पोखरामा चुनाव हुँदा कास्कीका गाउँगाउँमा एक महिना घुमें । त्यसैगरी देशका अन्य क्षेत्रमा गएको छु ।

हाम्रो पार्टी अहिले सातैवटा प्रदेशमा छ । त्यहाँ सबै विदेशमा पढेका, सुकिलामुकिला कहाँबाट पाउने ? हाम्रो पार्टीको केन्द्रीय समितिमा विदेशमा पढेका तपाईंले भनेजस्ता सुकिलामुकिला कतिजना होलान् ? औंलामा गन्न सकिन्छ । सबै यो देशका गाउँगाउँबाट आएकाहरु नै हो ।

त्यसो हो भने यो भ्रम मात्रै फैलाइएको हो त ?
हो, भ्रम फैलाइएको हो नि ! हामीलाई खुट्टा तान्न मरिमेटेर लागेका छन् कतिपय पार्टीसँग आवद्ध नागरिकहरु । तर, हामी त्योबाट माथि उठ्न संघर्ष गरिरहेकाछौं । उठ्छौँ पनि ।  

अर्को प्रश्न, भाषणमा सुन्दा नेपाली संस्कृति र परम्परालाई महत्व दिनुहुन्छ । तर, जब जातीय कुरा आउँछ, त्यतिबेला जातीय मुद्दा उठाइयो भनेर अभिव्यक्ति दिनुहुन्छ । यसो गर्दा राई, लिम्बु, तामाङ लगायतका जनजाति र मधेसी सदमुदायको चित्त दुख्दैन ? उनीहरुले पनि त राज्यमा आफ्नो उपस्थिति, पहिचान र सम्मान खोजेका होइनन् र ? यसमा विवेकशील साझा पार्टीको ठोस लाइन के हो ?

राई, लिम्बु, गुरुङ, मगरलगायतका जनजातिको जुन कुरा गर्नुभयो, यो समाजमा मात्रै होइन, देश निर्माणमा उनीहरुको प्रधान भुमिका छ । मधेसीको कुरा गर्दा वारा, पर्सामा अंग्रेजसँग युद्ध हुँदा त्यो कसले रक्षा गर्यो ? मधेसीहरु लडे कि लडेनन् ? अनि दलितहरुको यो देश निर्माणमा भुमिका छ कि छैन ? छ । 

हामी ती पिछडिएका वा हेपिएका जातजातिका कुरा गर्छौं । ती जातजातिहरुलाई तपाईंले राज्य प्रणालीमा जोड्ने, यो राज्यमा सबैलाई सम्मानजनक तहमा उकास्ने भनेको जातीय राज्य सिर्जना गरेर हो कि देशलाई सुशासन र सम्मृद्धिको बाटोमा लगेर हो ? यो देशमा १४ वटा जातीय राज्य बनाइदिँदा राम्रो होला कि मैले भनेको जस्तो सबै पिछडिएका क्षेत्रमा गएर ५ सयवटा बूढानीलकण्ठ शैलीको विद्यालय निर्माण गरिदिँदा होला ? भौतिक संरचनामा मात्रै होइन शैक्षिक गुणस्तरमा र व्यवस्थापनमा पनि ।

सबै जातजातिहरुको उत्थान तैंले उसलाई हेपिस्, उसले उसलाई हेपिस् भनेर घृणाभाव जसरी फैलाइएको छ, त्यो घृणाभाव फैलाएर होला कि ? ती क्षेत्रहरुमा गएर अत्याधुनिक अस्पतालहरु खोलेर सेवा दिँदा होला ? अथवा, तपाईं– हामीजस्ता शिक्षित मानिसहरुले निरन्तर त्यो विषवमन गरेर होला ? पुरानो समाजमा सबै ठाउँमा संसारभर जातीय विभेद थियो । धार्मिक विभेद थियो, अहिले पनि अमेरिकामा कालाहरुको पनि जीवनको महत्व छ । ब्ल्याक लाइफ म्याटर भनेर आन्दोलन हुन्छ । युरोपमा अहिले पनि जातीय विभेदको विषय उठिराख्छ । विकसित देशमा पनि समस्या छ । हाम्रो देशमा पनि समस्या छ ।

हामी पढेलेखेका नागरिक हौं । हामी त्यो विभेदमा मल्हम लगाऔं । त्यो मल्हम लगाउनका लागि हामीले विषवमन गर्ने कि मल्हम लगाउने गरेर कथ्य निर्माण गर्ने ? मेरो भनाइ के हो भने समस्या छ, त्यो समस्यालाई धेरै हदसम्म अहिले बन्दै आएको र पछिल्लो चरण २०७२ सालमा बनेको संविधानले धेरै हदसम्म संरचनागत रुपमा सम्बोधन पनि गरेको छ । तर कार्यक्रमिक रुपमा त्यो सम्बोधन हुन सकेको छैन । संरचनागत रुपमा अलिकति सम्बोधन भयो, कार्यक्रमिक रुपमा सम्बोधन गर्न सकेको छैन ।

कार्यक्रमिक रुपमा सम्बोधन नहुँदा यहाँका विकृत वामपन्थीहरुले कस्तो भाष्य निर्माण गरिदिए भने त्यो विषवमन गर्या छ गर्या छ । अनि घृणाभाव फैलिएको छ । नत्रभने नेपाल रुढीवादी समाज हुँदाहुँदै पनि यति धेरै जातीय विविधता भएर संसारमै सबैभन्दा सद्भावपूर्ण र सौहार्दपूर्ण समाज हो । यो कुरा हामी नबिर्सौं । 

तपाईंको पार्टी जनजातिहरुको भाषा–संस्कृतिको संरक्षणको पक्षमै छ ?
उनीहरुको भाषा, संस्कृति र संस्कारलगायत सवैको संरक्षण हुनुपर्छ । सबैलाई प्रवर्द्धन गरिनुपर्छ । उनीहरुको हक अधिकारलाई संरचनागतरुपमै कानुनी र संवैधानिकरुपमै सुनिश्चित गरिनुपर्छ । तर, कानुनी र संवैधानिकरुपमा सुनिश्चित गरेर कार्यक्रमिक रुपमा त्यसलाई लागु गर्नका लागि कदमहरु उठाउन सक्नुभएन भने ती कागजमा सीमित रहन्छन् र लेखहरु विषवमन गरेर लेखिँदै गर्छन् ।
संविधानमा समावेशिता र आरक्षणको जुन परिकल्पना गरिएको छ, यो सही छ कि छैन ?  

समावेशिताको परिकल्पना सही छ । तर, समावेशिता सँगसँगै क्षमता प्रवद्र्धनका लागि कार्यक्रमहरु लान सक्नुभएन भने त्यो समावेशिताले राम्रोसँग सुशासन दिन सक्दैन ।
आरक्षणलाई जातीय मात्रै होइन, वर्गीय पनि बनाउनुपर्छ । भन्नाले समाजको तल्लो तप्कामा बसेकाहरु, आर्थिक रुपले तल्लो तप्कामा भएकाहरुले पनि आरक्षण र समावेशीताको अवसर पाउनुपर्छ । नत्र काठमाडौंका ठूल्ठूला बंगलामा बस्ने र महलमा बस्नेहरूले समावेशिता र आरक्षणको कोटा प्रयोग गरिराख्छन् ।

तपाईंको पार्टीमा विभिन्न जातीय रंग कस्तो देखिएको छ ?
हाम्रो त छ । हाम्रो कार्यालय नै भूईंतला तराईको भावमा सजाइएको छ । एक तला माथि आउनुस्, त्यो पहाडको भावमा सजाइएको छ । तेस्रो तला, जो तपाईं–हामी बसेर कुरा गरिहेका छौं, हिमालको भावमा निर्माण गरिएको छ ।
अन्त्यमा, तपाईं देश बदल्न भनेर पत्रकारिता छाडेर राजनीतिमा आउनुभयो । अघि नै भन्नुभयो कि राम भगवानले पनि बदल्न निकै गाह्रो पर्ने देश भनेर । तैपनि तपाईं उत्साही नै हुनुहुन्छ ?
मेरो उत्साह झन् झन् बढ्दो छ । मेरो उर्जा झन् झन् बढ्दो छ । एउटै चुनौती के हो भने तपाईंहरुजस्ता पत्रकारहरू समेत दलीय पेशागत संगठनका छाता ओढेर जसरी पत्रकारिता गर्नुहुन्छ, कानुनकर्मीहरुले जसरी त्यस्तै काम गर्छन् । शिक्षक र प्राध्यापकहरूले त्यसै गरिरहेका छन् । डाक्टर इन्जिनियरहरुले त्यसै गरिरहेका छन्, त्यसलाई तोड्नैपर्छ । त्यो टुटेन भने कसैबाट यो देशको रुपान्तरण हुन सक्दैन ।

कमेन्ट

  1. Dec. 9, 2021, 9:15 p.m. Anup Nepal
    Piece of shit, worthless guy. Don’t waste your time publishing his views
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।