आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको महाधिवेशनमा कम्युनिस्ट र राजावादीको दोहोरी !

शुक्रबार, २४ मङ्सिर २०७८, १८ : ५९
शुक्रबार, २४ मङ्सिर २०७८

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन उद्घाटन सत्रमा कम्युनिस्ट पार्टीका नेता र राजावादी पार्टी (राप्रपा) का नेताबीच दोहोरी चलेको छ । मानिसहरुको अनुमान थियो, काँग्रेसको मञ्चमा कम्युनिस्ट नेताबीच वादविवाद होला । तर, कम्युनिस्ट नेताहरु आपसमा भिडेनन्, बरु सबैले मिलेर राजावादीको आलोचना गरे ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन सत्रमा राजावादी पार्टी भनेर चिनिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेताहरूप्रति गर्ने व्यवहार राम्रो नभएको बताएपछि कम्युनिस्ट नेताहरुले उनलाई जवाफ फर्काए ।

राप्रपाको अध्यक्षमा केही दिनअघि मात्रै निर्वाचित भएका लिङ्देनले शुभकामना मन्तव्य दिने क्रममा देशको राजनीति लिक बाहिर गएको भन्दै नेताहरु गाउँ जाँदा ‘कुन चोर आएछ ?’ भन्ने गरेको बताएपछि कम्युनिस्ट नेताहरु लिङ्देनप्रति आक्रोशित बन्न पुगेका हुन् ।

लिङ्देनको यस्तो टिप्पणीप्रति एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पालैपालो खण्डन गरे । 

एमाले अध्यक्ष ओलीले पनि लिङ्देनको आलोचना गरे । नागरिक स्वाभिमान बिर्सेर जन्मँदै शासक भएर जन्मिएजसरी लिङ्देनले परिवर्तनका संवाहक दलहरूमाथि आक्षेप लगाएको ओलीले बताए ।

‘आज पनि नेपालका नागरिकहरुले नागरिक स्वाभिमान बिर्सने ? जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मानेर कोही जन्मँदै यस्तो शासक भएर जन्मन्छ भन्ने यस्ता निराधार सिद्धान्त बोक्ने ? भन्दै प्रतिप्रश्न गरे ।

ओलीले लिङ्देनप्रति कटाक्ष गर्दै थप प्रश्न गरे, ‘संयुक्त राष्ट्रसंघका मान्यताभन्दा विपरीतका सिद्धान्त खासगरी भन्ने हो भने नागरिक स्वाभिमानको विपरीत सिद्धान्त, नागरिक स्वाभिमान नै छोड्दिने ?’,  उनले नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैनन् र हरेक नेता चोर हुन्छन भन्नेजस्ता कुरा बोकेर हिँड्ने ? भन्दै प्रश्नको वर्षा गरे ।

ओलीले लिङ्देनलाई भर्खर–भर्खर जन्मिएको बाच्छोको संज्ञा समेत दिए । ‘हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई । त्यस रापतापमा अलिकति यस्तो कुरा आएको होला । भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढि कुद्छ क्या’, ओलीको भनाइ थियो ।

प्रचण्डको पनि आपत्ति

एमाले अध्यक्ष ओलीभन्दा अघि बोलेका माओवादी अध्यक्ष प्रचण्डले पनि लिङ्देनको भनाइको प्रतिवाद गरे । उनले भने, ‘यसअघिका एकजना वक्ताले नेताहरु गाउँ आए भने गाउँमा चोर आए भन्छन् भन्नुभयो, तपाईहरुले सुन्नुभयो । यो साँचो  हो त ? होइन । गलत हो ।’

प्रचण्डले अगाडि भने, ‘यो केका निम्ति भनियो ? जतिबेला लोकतान्त्रिक राजनीतिक दल र लोकतन्त्रका  लागि संघर्ष गरेका, शान्तिका निम्ति संघर्ष गरेका राजनीतिक दल र नेताहरुलाई बद्नाम गर्न खोजिन्छ, यस्तो भनिन्छ ।’

यसो भन्नेहरु निरंकुशता र तानाशाही जन्माउने षडयन्त्रका रुपमा आफूले बुझेको प्रचण्डले बताए । उनले भने, ‘त्यहाँ निरंकुशता र तानाशाही जन्माउने षड्यन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ तानाशाही त्यसरी नै आउने गर्छ । त्सकारण हामी सर्तक हुन जरुरी छ ।’

ज्ञानेन्द्रलाई व्यापार गरेर बस्न माधव नेपालको सुझाव

प्रचण्डभन्दा अघि बोलेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिए । नेपालको राजनीतिमा राम्रो सङ्केत  नदेखिएको भन्दै अध्यक्ष नेपालले राजनीतिमा कालो बादल मडारिरहेको बताए । ‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ’, अध्यक्ष नेपालले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रतिगामी तत्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न र नेपालमा पुनः राजतन्त्र फर्कन्छ भन्ने नसोच्न चेतावनी दिए । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रतिगामी तत्त्वहरूलाई भन्न चाहन्छु–फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैँ विस्फोटमा जाग्नेछन् ।’

नेता नेपालले पूर्वराजालाई राजनीति नै गर्ने भए पार्टी खोल्न सुझाव पनि दिए । ‘राजाले पनि पार्टी खोले हुन्छ । नत्र व्यापार गरे हुन्छ ।’ उनले नेपाल र लोकतन्त्रको रक्षा नेपाली जनताले नै गर्न सक्ने बताए ।

के भनेका थिए लिङ्देनले ? उनकै शब्दमा 

अहिले नेपालको राजनीतिमा खासगरी यो समय र यो महिना राजनीतिक दलहरूको महाधिवेशनको महिना र समयको रुपमा अगाडि बढिरहेको छ ।

हामीले पनि भर्खरै आफ्नो महाधिवेशन सम्पन्न गरेका छौ । अव नेपाली काँग्रेसको महाधिवेशन सम्पन्न हुन लागेको छ । म यतिवेला सवै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहान्छु– कि देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको अवस्थामा देखिन्छ ।

सरकार सरकारजस्तो छैन । संसद संसदजस्तो छैन । अदालत अदालत जस्तो छैन । यो सबलाई ठिक लगाउने कसले ? यो सबलाई ठिक लगाउने राजनीतिले । तर त्यो राजनीति ठिक छैन । त्यो राजनीतिलाई कसले ठीक लगाउने ? नेताले । तर आज नेताहरुले पुर्ण रुपमा विश्वास गुमाएको अवस्था छ । नेताकाप्रति जनताको विश्वास मरेको अवस्था छ । मेरो गाउँको भाषामा भन्ने हो भने हाम्रो गाउँघरतिर पार्टीको कार्यकर्ताहरूले कुनै एउटा चौतारो वा सामुदायिक भवनमा नेता बोलाएर राख्छन् र छरछिमेकीहरुलाई आमन्त्रण गर्न जान्छन् । आउनु न एकछिन फलानो चौतारो वा भवनमा हाम्रो नेता आउँदै हुनुहुन्छ भन्छन् । नेता आउदै हुनुहुन्छ भन्दाखेरि मान्छेले आजकाल–मेरो नाम भनौँ कि अरु नेताको नाम भनौं वा नभनौँ । कुन नेता आएछ भनेर नेताको नाम सम्झँदैनन् । कुन चाहिँ चोर आएछ आज त्याहाँ भन्छन् मान्छेहरुले ।

हाम्रो अवस्था यो छ । त्यसकारण महाधिवेशन एउटा औपचारिकता पुरा गर्ने एउटा वैधानिकता पुरा गर्ने र नेतृत्व चयन गर्ने कुरामा मात्र सीमित नरहेर नेतृत्वकाप्रति बिग्रेको यो छवि सुधार्ने अवसरका रुपमा पनि हामीले प्रयोग गर्न सकौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप