शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सम्मेलनले कस्तो बनाउला माओवादीको संरचना ?

बुधबार, ०७ पुस २०७८, २० : २३
बुधबार, ०७ पुस २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्र यतिबेला राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । पुस ११ देखि १३ सम्म काठमाडौँमा सो पार्टीको राष्ट्रिय सम्मेलन हुँदैछ । राष्ट्रिय सम्मेलनले माओवादी केन्द्रको अन्तरिम विधान (पहिलो संशोधनसहित) माथि छलफल गरी आवश्यकताअनुसार संशोधनसहित पारित गर्नेछ ।

माओवादी केन्द्रको अन्तरिम विधान २०७३ (पहिलो संशोधन २०७८ सहित) अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ केन्द्रीय समितिको व्यवस्था छ । पदाधिकारीमा अध्यक्षदेखि सचिवसम्म पाँच तह निर्धारण गरिए पनि तहगत सङ्ख्या खुलाइएको छैन ।

माओवादी केन्द्र एकल अध्यक्षात्मक प्रणालीमा छ । त्यसैले अध्यक्षमा एक जनामात्र रहने निश्चित छ । विधानको दफा ११ को (ङ) मा उपाध्यक्ष भने एकभन्दा बढी सङ्ख्या रहनसक्ने सङ्केत गरिएको छ, जसमा ‘एकभन्दा बढी उपाध्यक्षहरू रहेको अवस्थामा..’ भन्ने वाक्यांश छ ।

तर, महासचिवका हकमा भने त्यस्तो सङ्केत नगरिएका कारण महासचिवमा एक जनामात्र रहने आँकलन गर्न सकिन्छ । उपमहासचिव र सचिव भने एकभन्दा बढी रहन सक्ने बाटो विधानमा खुलाइए पनि सङ्ख्या निर्धारण गरिएको छैन ।

मूलधारका अन्य राजनीतिक दलको संगठनात्मक संरचना हेर्ने हो भने नेपाली काँग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको व्यवस्था छ । यस्तै नेकपा एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ७ सचिवको व्यवस्था छ ।

नेकपा माओवादी केन्द्र बहुपदीय संरचना जाने भए पनि कुन पदमा कति जना रहने भन्नेबारे प्रस्ट भइसकेको छैन । राष्ट्रिय सम्मेलनमा यसबारे छलफल भएर आवश्यकताअनुसार उपाध्यक्ष, उपमहासचिव र सचिवको सङ्ख्या निर्धारण हुन सक्ने सो पार्टीका नेताहरू बताउँछन् ।

यद्यपि, दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको आवश्यक सङ्ख्यामा एक केन्द्रीय कार्यालय रहने व्यवस्था विधानले गरेको छ । यस्तै, केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरू सम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा उपमहासचिव, सचिवसमेतको एक केन्द्रीय सचिवालय रहने व्यवस्था पनि विधानले गरेको छ ।

 

अध्यक्षको अधिकार कति ?

अन्तरिम विधानअनुसार माओवादी केन्द्रका अध्यक्षलाई पार्टीको प्रमुख नेताका रूपमा समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय समिति, पोलिट्ब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयको बैठकको अध्यक्षता गर्ने व्यवस्था विधानले गरेको छ ।

यस्तै, केन्द्रीय समिति, पोलिट्ब्युरो र स्थायी समितिका बैठकमा केन्द्रीय कार्यालयको आफ्नो तर्फबाट र एकताको राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषद्को बैठकमा केन्द्रीय समितिका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय समिति, पोलिट्ब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयका निर्णयहरू कार्यान्वयन गर्ने र गराउने अधिकार पनि विधाले अध्यक्षलाई दिएको छ ।

अध्यक्षले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान कार्यान्वयन गर्ने र गराउने, पार्टीका आधिकारिक निर्देशन र पत्राचारहरूमा हस्ताक्षर गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सम्मेलन र भेलाहरूमा पार्टीको प्रतिनिधित्व गर्ने, केन्द्रीय समिति, पोलिट्ब्युरो र स्थायी समितिले तोकेका अन्य कार्यहरू गर्ने व्यवस्था विधानले तोकेको छ ।

उपाध्यक्षलाई कति अधिकार ?

नेकपा माओवादी केन्द्रको उपाध्यक्षले अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण कार्यहरू गर्ने, अध्यक्षको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने, अध्यक्षले प्रत्यायोजन गरेका अन्य अधिकारहरूको प्रयोग गरी कार्य गर्ने व्यवस्था विधानमा छ ।

यस्तै, अध्यक्षका कार्यहरूमा सहयोग गर्ने र आवश्यक परामर्श दिने, एकभन्दा बढी उपाध्यक्ष रहेको अवस्थामा उपाध्यक्षहरुबीचको कार्यविभाजन अनुरूपका कार्यहरू गर्ने, केन्द्रीय समिति, पोलिट्ब्युरो तथा कार्यालयले तोकेका अन्य कार्यहरू गर्ने अधिकार पनि उपाध्यक्षलाई विधानले दिएको छ ।

महासचिवको अधिकार

नेकपा माओवादी केन्द्रको महासचिवले अध्यक्षको निर्देशनमा राष्ट्रिय परिषद्, केन्द्रीय समिति, पोलिट्ब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयको बैठकका कार्यसूची तयार गर्ने र बैठक बोलाउने व्यवस्था विधानमा उल्लेख छ ।

यस्तै, अध्यक्षको निर्देशनमा पार्टीका नीति एवं निर्णयको कार्यान्वयनका लागि कार्ययोजना तयार गरी केन्द्रीय समिति, पोलिट्ब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयको बैठक समक्ष प्रस्तुत गर्ने, केन्द्रीय समिति, पोलिट्ब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयको तर्फबाट राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषद्को बैठकमा केन्द्रीय समितिको तर्फबाट संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने अधिकार महासचिवलाई दिइएको छ ।

माओवादी केन्द्रको विधानमा महासचिवले केन्द्रीय समिति, पोलिट्ब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयका निर्णयहरू कार्यान्वयन गर्न अध्यक्षलाई सहयोग गर्ने, पार्टीको प्रशासकीय व्यवस्थापनको नेतृत्व र निर्देशन दिने तथा केन्द्रीय समिति, पोलिट्ब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयले तोकेका अन्य कार्यहरू गर्ने व्यवस्था छ ।

उपमहासचिवको अधिकार

माओवादी केन्द्रका उपमहासचिवलाई महासचिवको अनुपस्थितिमा महासचिवले गर्ने सम्पूर्ण कार्य गर्ने अधिकार विधानले दिएको छ । त्यस अतिरिक्त महासचिवले तोकेका वा अधिकार प्रत्यायोजन गरेका अन्य कार्यहरू गर्ने, महासचिवले गर्ने कार्यहरूमा सहयोग गर्ने र आवश्यक परामर्श दिने, एकभन्दा बढी उपमहासचिव भएमा उपमहासचिवहरुबीच कार्यविभाजन अनुरूपका कार्यहरू गर्ने जिम्मेवारी पनि विधानले उपमहासचिवलाई दिएको छ ।

यस्तै, उपमहासचिवले केन्द्रीय समिति, पोलिट्ब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयले तोकेका अन्य कार्यहरू गर्ने व्यवस्था पनि विधानमा उल्लेख छ ।

सचिवको अधिकार र कर्तव्य

नेकपा माओवादी केन्द्रका सचिवलाई महासचिव र उपमहासचिवको अनुपस्थितिमा महासचिव र उपमहासचिवले गर्ने सम्पूर्ण कार्य गर्ने अधिकार विधानले दिएको छ । यस्तै, महासचिव र उपमहासचिवले प्रत्यायोजन गरेका अन्य अधिकारहरूको प्रयोग गरी कार्य गर्ने, महासचिव र उपमहासचिवको कार्यमा सहयोग गर्ने र आवश्यक परामर्श दिने जिम्मेवारी पनि विधानले सचिवलाई दिएको छ ।

यस्तै, एकभन्दा बढी सचिवको व्यवस्था भएमा सचिवहरूको बीचमा कार्यविभाजन भएअनुरुपका कार्य गर्ने, केन्द्रीय समिति, पोलिट्ब्युरो, स्थायी समिति र कार्यालयले तोकेका अन्य कार्यहरू गर्नेगरी सचिवलाई विधानले अधिकार दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप