सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

संगठनको जग खन्दै माओवादी : के गर्छ राष्ट्रिय सम्मेलनले ?

क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने नेताहरुको दाबी
बुधबार, ०७ पुस २०७८, २० : २३
बुधबार, ०७ पुस २०७८

हालैमात्र मुलुकका प्रमुख दुई ठूला पार्टी नेकपा एमाले र नेपाली काँग्रेसले महाधिवेशन गरेर नयाँ नेतृत्व छनोट गरेका छन् । यद्यपि उनीहरुले योपटक विधान महाधिवेशन फरक मितिमा गर्ने÷गरेर नीतिभन्दा पनि नेतृत्व चयनलाई बढी प्राथमिकता दिएका छन् । एमाले र काँग्रेसबाहेक मंसिर महिनामै अर्को दल राप्रपाले पनि महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ ।

यी तीन राजनीतिक पार्टीभन्दा फरक नीति, विचार र सिद्धान्तको पृष्ठभूमि अंगालेको नेकपा माओवादी केन्द्रले पुस ११ देखि महाधिवेशनस्तरकै राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसका लागि उसले आन्तरिक तयारी तीब्र बनाएको छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको मिति नजिकिँदै गर्दा सो पार्टीमा नेतृत्वका लागि सुरु भएको दौडसँगै आगामी दिनमा उसले लिने नीति, सिद्धान्त र विचार कस्तो होला भन्ने आम चासोको विषय बनेको छ ।

माओवादीले सुरुमा लिएको क्रान्तिकारी विचारमा स्खलन आएको भन्ने विश्लेषण भइरहेका बेला अगामी दिनमा उसले तय गर्ने विचार र सिद्धान्तप्रति धेरैले चासोका साथ हेर्न पुगेका हुन् । त्यतिमात्रै होइन, प्रचण्डले आफ्नो पार्टी काँग्रेस र एमालेजस्तो नहुने र आफूहरु छुट्टै जातको समेत बताउने गरेकाले पनि माओवादीको भावी कार्यनीति र कार्यदिशालाई लिएर जनमानसमा बहस हुनुलाई स्वभाविक नै मानिन्छ ।

यही सन्दर्भमा अबको केही दिनमा हुने माओवादी सम्मेलनले के गर्छ  भन्ने प्रश्न मुखरित बन्न पुगेको छ । त्यसमाथि माओवादीले भनेको नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणमा यो राष्ट्रिय सम्मेलन कति सार्थक बन्ला ? त्यो हेर्न आगामी केही दिन कुर्नुको विकल्प छैन ।

सम्भव होला त माओवादीको रुपान्तरण  ?

क्रान्ति, परिवर्तन र रुपान्तरणको चर्को नारा दिएको माओवादीले आफैंलाई रुपान्तरण गर्ला त ? के त्यो सम्भव छ ? समाजवादमा पुग्ने आधार तय गर्न के–के गर्नुपर्छ र राष्ट्रिय सम्मेलनले त्यसको कार्यदिशा कसरी तय गर्छ ? अनि क्रान्तिकारी रुपान्तरणको चर्काे कुरा गरेको माओवादीले महाधिवेशन छोडेर किन राष्ट्रिय सम्मेलन रोज्यो ? यी विषयको जवाफ माओवादीले सम्मेलनमार्फत दिनै पर्नेछ ।

माओवादीका अधिकांश नेताहरु पार्टीको राष्ट्रिय सम्मेलनले सांगठननिक सुदृढीकरणको प्रक्रियामात्रै नभई विचारलाई अझ स्पस्ट पार्दै महत्वपूर्ण राजनीतिक दस्तावेजहरु पारित गरेर पार्टीलाई अघि बढाउन महत्वपूर्ण भुमिका निभाउने दाबी गर्छन् ।

‘नेतृत्व चयनबाहेक राष्ट्रिय सम्मेलनले विधानलाई अझ परिमार्जन गर्दै समग्रमा पार्टीलाई क्रान्तिकारी रुपान्तरणको दिशातिर लैजान छलफलसहित निश्कर्षहरु निकाल्ने प्रयास हुन्छ’, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

नेता श्रेष्ठले रुपान्तरणको हकमा अहिले नै आफूहरुले सोचेजस्तो नभए पनि राष्ट्रिय सम्मेलनले कुनै न कुनैरुपमा परिवर्तनको संकेत दिने बताए । उनले भने, ‘रुपान्तरण अहिले नै हामीले सोचेजस्तो नहुन सक्छ । तर नेपाली कम्युनिस्ट आन्दोलनको आवश्यक्ता अनुसार कुनै न कुनै रुपको रुपान्तरण गर्ने आधार प्रष्ट पार्छ ।’

अर्का नेता शक्ति बस्नेत पनि राष्ट्रिय सम्मेलनले राष्ट्रिय समस्याहरुको पहिचान गर्ने र त्यसको समाधानका लागि मार्गचित्र पहिल्याउने दाबी गर्छन् । बस्नेतका अनुसार संगठनात्मक हिसावले माओवादी हिजो वर्गीय संघर्षको नेतृत्व गरेर आएको पार्टी हो । अहिले त्यसअनुसारको संगठानिक ढाँचामा भए पनि प्रतिस्पर्धात्मक राजनीतिक प्रक्रियामा आइपुग्दा त्यसलाई सुधार गर्ने प्रयास भइरहेको उनी बताउँछन् । त्यो सुधारको प्रयास पर्याप्त नभएकाले त्यसलाई सुधार गर्ने दिशामा सम्मेलनको दोस्रो लक्ष्य रहेको उनी बताउँछन् ।

बस्नेतले रातोपाटीसँग भने, ‘संगठनात्मक सुधारको नयाँ विचार र कार्यदिशाअनुरुप समग्र ढँचा, प्रणाली निर्माण गर्नुपर्ने ठाउँमा हामी छौं । यो आवश्यकता राष्ट्रिय सम्मेलनले पूरा गर्छ ।’

पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता बस्नेत अहिले राष्ट्रिय आवश्यकताका रुपमा पहिलो मुद्दा परिवर्तनका उपलब्धिहरुको रक्षा गर्नु नै रहेको बताउँछन् । उनी भन्छन्, ‘परिवर्तनको स्वरुप आर्थिक समृद्धि र सामाजिक न्यायलाई स्थापित गर्ने कुरालाई दृढतापूर्वक कार्यान्वयन गर्ने र नेपाली विशेषता र एक्काइसौं सताब्दीको समाजवादलाई प्रतिविम्बित गर्ने स्वरुप, प्रक्रिया र आधार निर्माण गर्ने तात्कालीन कार्यभारलाई मूर्त रुपमा व्यक्त गर्न सक्नुपर्छ ।’

माओवादीका अर्का नेता गिरिराजमणि पोखरेल पनि २०७२ को संविधानका पाँचवटा स्तम्भमध्ये गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी र समाजवादउन्मुख समाजजस्ता उपलव्धीलाई रक्षा गर्दै अगाडि बढ्ने सन्दर्भमा समाजवादको नेपाली मोडल कस्तो हुन्छ भन्नेबारे सम्मेलनमा पेश हुने अध्यक्ष प्रचण्डको दस्तावेजले दिशावोध गर्ने बताउँछन् ।

पोखरेल राष्ट्रिय सम्मेलनका प्राथमिकताबारे चर्चा गर्दै रातोपाटीसँग भन्छन्, ‘संगठनमा एउटा जग बसेको छ । संगठन सुदृढीकरणलाई शुद्धीकरणसँग जोड्दै कार्यकर्तामा आधारित पार्टीलाई जनआधारित पार्टी बनाएर लैजानुपर्छ । अर्को कुरा, अहिलेको तात्कालिक राजनीतिक अवस्था छ, जुन प्रतिगमनविरोधी आन्दोलन हुँदै अगाडि बढ्दा त्यसलाई सुदृढ गर्ने, कार्यगत एकता व्यवस्थित गर्ने र वामपन्थीहरुका बीचमा नयाँ सहकार्यका लागि ढोका खोल्ने जस्ता कामहरु गर्नुपर्छ ।’

सामाजिक सांस्कृतिक रुपान्तरण नगरी र नेता कार्यकर्ताहरुको जीवनमा परिवर्तन नगरी अगाडि बढ्न नसकिने पोखरेलले बताए । ‘त्यसकारण सामाजिक, सांस्कृतिक रुपान्तरणको ठोस खाका पनि ल्याउनुपर्छ । त्यसपछि ज्ञान र विज्ञानको क्षेत्रमा धेरै ठुलो परिवर्तन भएको छ’ उनी भन्छन्, ‘त्यसलाई पक्रने प्रक्रियाको सम्मेलन हुँदै महाधिवेशनसम्म गएर संश्लेषण सुरु गर्नुपर्छ ।’  

कस्तोखालको समाजवाद ?

नेकपा माओवादीले आफूलाई क्रान्तिकारी रुपान्तरणसँगै समाजवादमा पुग्ने आधार निर्माण गर्ने भनिरहेको छ । विभिन्न देशमा समाजवादका भिन्न मोडल र रुपहरुको प्रयोग भइरहेको बताउँदै आएको माओवादीले भनेको समाजवादचाहिँ कस्तो हो त ? यस प्रश्नमा माओवादी नेताहरुसँग प्रस्ट जवाफ छैन ।

‘सोभियत संघ, चीन, उत्तर कोरिया, भियतनाम, लाओस लगायतका मुलुकले विभिन्नखालको समाजवादको अभ्यास गरेका छन् । हामीले अर्को कुनै देशको नक्कल गर्न सकिँदैन’, नेता पोखरेल भन्छन्, ‘नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक हो, भुगोल पनि तीनवटा छन् । यो दक्षिण एसियाकै पुरानो देश हो । पूर्वीय दर्शनका वैज्ञानिक विषयहरु पनि पक्रनुपर्छ ।’

पर्यावरणको प्रश्न र मार्क्र्सदेखि माओवासम्म पढेर पनि नपाइने बताउँदै पोखरेलले रातोपाटीसँग भने, ‘वर्ग, क्षेत्र, लिङका नयाँ इस्युहरु छन् । आइटीको क्षेत्रमा धेरै ठूलो कायापलट भएको छ । यसले गर्दा अन्तराष्ट्रिय अनुभव र नेपाली विशेषतालाई समाहित गरेको महत्वपूर्ण विश्लेषणहरुलाई नपक्रिकन नेपालको समाजवादी क्रान्तिको एउटा मौलिक विशेषतायुक्त समाजवाद हुन सक्दैन ।

उनी अगाडि थप्छन्, ‘हाम्रा दुईवटा डकुमेन्ट छन्– एउटा एक्काइसौं शताब्दीको जनवाद र अर्को, प्रतिक्रान्तिको शिक्षासहितको मार्क्सवाद भन्ने छ । अन्तराष्ट्रिय कम्युनिस्ट आन्देलनको आलोकमा जसलाई हेरिनुपर्छ यसो गर्दा हामीले हाम्रो मोडल अपनाउनुपर्छ ।’

नेता–कार्यकर्ताको रुपान्तरण

माओवादीमा नेता–कार्यकर्ताको रुपान्तरणको विषय पटक–पटक उठ्ने गरेको छ । यो विषय राष्ट्रिय सम्मेलन हुँदै महाधिवेशनसम्म पुग्दा हल होला त ? कतिपय नेता–कार्यकर्ताहरुले यस्तो प्रश्नसमेत गर्ने गरेका छन् । नेता पोखरेल भन्छन्, ‘यसबारे अहिलेको राष्ट्रिय सम्मेलनमा एक लेवलको संश्लेषण होला । यसका लागि सिंगो समाजमै बहस गर्नुपर्ने हुन्छ ।’

पोखरेलका अनुसार रुपान्तरणका दुईवटा आयाम छन् । सामाजिक आर्थिक रुपान्तरणको एउटा आयाम र व्यक्ति स्वयंको रुपान्तरणको अर्को आयाम । उनी भन्छन्, ‘नेताबाट तलसम्म रुपान्तरणको कुरा उठिरहेको छ । नेता रुपान्तरण भएपछि तल्लो पंक्तिलाई पनि उत्साहित गर्छ । माथिबाट रुपान्तरणको प्रक्रिया सुरु भएर कार्यकर्ता हुँदै समाजसम्म पुग्नुपर्छ । यो सम्मेलनले पार्टी रुपान्तरणको बाटो लिनैपर्छ ।’

अध्यक्ष प्रचण्डले बेला बेलामा भन्ने गरेको शब्द सापटी लिँदै पोखरेल थप्छन्, ‘हाम्रा अध्यक्षले पनि भन्दै आउनुभएको छ कि माओवादी अर्को काँग्रेस बनाउने होइन, अर्को एमाले बनाउने होइन । यो भनेको के हो भन्ने कुरामा उहाँको दस्तावेजले बोल्नुपर्छ, अहिले सबै नसकिए पनि रुपान्तरणको प्रयास हुनैपर्छ ।’

महाधिवेशन छोडेर किन सम्मेलन ?

कतिपयले माओवादीले राष्ट्रिय सम्मेलन गरेर महाधिवेशन टार्न खोजेको त होइन ? भनेर प्रश्न समेत गर्ने गरेका छन् । तर, माओवादी नेताहरु यो भनाइप्रति सहमत छैनन् ।

नारायणकाजी निकट मानिएका पोखरेल महाधिवेशनका लागि समय अभावका कारण राष्ट्रिय सम्मेलनमा जानुपरेको बताउँछन् । उनी भन्छन्, ‘२०७५ जेठ ३ मा हामीले एमालेसँग पार्टी एकता गर्यांै । पार्टी एकतापछि सहमतिअनुसार पार्टी अघि बढेन । घोषणापत्र अनुसार पनि पार्टी अघि नबढ्दा अन्तरसंघर्ष चल्यो, संसद विघटन भयो । पहिलो विघटनपछिको पुनःस्थापना भएको केही समयभित्रै फेरि दोस्रो विघटनको पुनस्र्थापनाका लागि आन्दोलन गर्नुपर्ने भयो ।  यसकारण हामीले आफ्नो सांगठानिक काम अघि बढाउन सकेका थिएनौं ।’

माओवादी पार्टीको विशेषता जनयुद्ध र जनआन्दोलनमा अग्रणी भए पनि संसदीय अभ्यास अनुसारको संगठनमा ढलिनसक्नु पनि अर्को कारण रहेको पोखरेलले बताए । ‘यसअघि हाम्रो ४ हजार संख्याको त केन्द्रीय कमिटीमात्रै थियो । एक प्रकारले भन्दा माओवादीको संगठनको जग नै बनेको थिएन’, उनले भने, ‘त्यसैले हामीले पार्टी सदस्यता नवीकरण, वडा, टोल, सेल र वडा भेला सम्मेलन गर्दै आउनुपर्यो । यो वीचको समय सांगठानिक जग बसाल्नमा गयो ।’

महाधिवेशनमा अन्तराष्ट्रिय र राष्ट्रिय परिस्थ्तििको मूल्यांकन हुनुका साथै वर्ग विश्लेषण र राजनीतिक दलहरुको मूल्यांकनसमेत आवश्यक रहने पोखरेलले बताए । उनले भने, ‘कार्यदिशा निरुपण गर्नुपर्यो । पुरानो मार्क्सवादको सिद्धान्तले मात्रै हुने स्थिति छैन, त्यसभित्र पनि बिकास गर्नुपर्छ, त्यो कामका लागि महाधिवेशन नै चाहिन्छ ।’

अहिले राष्ट्रिय सम्मेलन गर्नुपर्ने कारण उल्लेख गर्दै पोखरेल भन्छन्, ‘महाधिवेशन गर्न हामीसँग त्यसका लागि पर्याप्त समय भएन ।’ अहिले पार्टीको विधानअनुसार नै सम्मेलन गर्न लागिएको पोखरेलले बताए । उनले भने, ‘हाम्रो विधानमा महाधिवेशन नभएका बेलामा राष्ट्रिय महत्वको काम गर्न राष्ट्रिय सम्मेलन गर्न सकिने व्यवस्था छ । त्यसकारण सांगठानिक, राजनीतिक परिस्थिति र वैचारिक विषयलाई केन्द्रमा राखेर सम्मेलन गर्ने र यी विषयहरुको बहस गरेर अनुकुल समयमा महाधिवेशन गर्ने गरी अघि बढ्दैछौं ।’

यो राष्ट्रिय सम्मेलनले महाधिवेशनकै स्तरको बैचारिक, सांगठानिक, कार्यदिशागत, राजनीतिक र सांस्कृतिक दिशावोध गर्ने पोखरेलको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप