आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

किन झ्याप्प झ्याप्प गइरहेको छ बिजुली ? यसो भन्छन् कुलमान

शुक्रबार, १६ पुस २०७८, १४ : ४९
शुक्रबार, १६ पुस २०७८

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्को खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् । शुक्रवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युत्को खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने बताएका हुन् । 

उनले विद्युत् सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताए । उनले काठमाडौँ उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँदै भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत् सप्लाई गर्न सक्ने बताए । प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मरहरू लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले यी समस्या आइरहेको बताए ।

घिसिङले भने, ‘विगत ३÷४ दिनदेखि विद्युत् आपूर्तिमा केही समस्याहरू देखियो भन्ने जनगुनासोहरू आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । काठमाडौँमा मात्रै हो । यो सप्लाइको कारणले भएको समस्या होइन । सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति नभएको पनि होइन । काठमाडौँका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँहरूमा मात्र समस्या भएको हो । वास्तवमा हाम्रो विद्युत्को बेलुकाको पिक लोड अहिले करिब १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ । त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ । अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाडौँमा जाडो बढे लगत्तै विद्युत्को खपत बढ्नु स्वाभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाडौँको लोड बढेको छ । पानी परेपछि ठाउँ ठाउँमा हाम्रो लोडहरू अनएक्सपेक्टेड रुपले बढ्यो । त्यसले गर्दा सिस्टममा सबस्टेशनबाट फिडरहरु निस्किन्छ, काठमाडौँ भित्र धेरै सबस्टेशनहरु छन् । जसले काठमाडौँ भित्रको लोडलाई सप्लाई गरिरहेको छ । सबस्टेशनहरुबाट निस्केको धेरै फिडरहरुमध्ये, त्यसमा पनि धेरै ट्रान्सफर्मरहरू हुन्छन्, काठमाडौँ उपत्यकामा मात्रै करिब ३७ सय ट्रान्सफर्मरहरू छन् । त्यसबाट हाम्रो आ उपभोक्तालाई सप्लाई हुन्छ । यदि फिडरमा नै समस्या आएको छ भने १०÷२० वटा ट्रान्सफर्मरहरूमा समस्या आउने हुन्छ । अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मरहरू ओभरलोड भएको हो । लोडअनुसार हामीले ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरुमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मरहरू पछि पनि केबलहरू घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको हो ।’

प्रमुख कार्यकारी निर्देशक घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरू परिवर्तन गरिसक्ने भएकोले विद्युत् जाने समस्या नहुने बताए । उनले केही स्थानमा त्यहाँका बासिन्दाहरूले सबस्टेशन बनाउन नदिएकोले पनि समस्या आउने गरेको भन्दै स्थानीयहरूले सबस्टेशन बनाउन दिन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप