बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

क्यासिनो बहस : थप लाइसेन्स बाँड्न ठीक कि बेठिक ?

प्रक्रिया पुर्‍याएपछि लाइसेन्स पाउनुपर्छ : हान
बिहीबार, २० माघ २०७८, ०७ : ४९
बिहीबार, २० माघ २०७८

कोरोना सङ्क्रमण भएर एकान्तबासमा रहेकै बेला माघ ५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पाँचतारे होटल अलफ्टमा चिनियाँ लगानी रहेको कम्पनीलाई क्यासिनो सञ्चालन निम्ति पूर्वस्वीकृति दिए । 

पूर्वस्वीकृति दिएको आठ दिनपछि अर्थात् माघ १३ गते पर्यटन विभागले सो कम्पनीलाई क्यासिनो सञ्चालन गर्न अन्तिम स्वीकृति दियो । मन्त्री भएयता आलेले विभिन्न ६ कम्पनीलाई क्यासिनो सञ्चालन अनुमति दिइसकेका छन् । रकम लिँदै लाइसेन्स बाँड्दै गरेको आरोप मन्त्री आलेले खेपिरहेका छन् । 

पूर्ववर्ती सरकारमा वनमन्त्री रहेका बेला सामान्य जानकारी समेत नराखी बोल्ने तथा केपी शर्मा ओलीको प्रतिरक्षा गर्दा भद्रता नै गुमाउने गरेका कारण आले निकै आलोचित भएका थिए । तर, पछिल्लोपटक मन्त्री भएयता नारायणहिटी राजदरबार संग्रहालयमा बन्दै गरेको क्याफ्टेरिया हटाउनेदेखि पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द चलाउन बतास समूहसँग भएको सम्झौता रद्द गर्नेसम्मका कार्य गरेर आलेले आफूमाथिको नागरिक आलोचना मत्थर पारिरहेका थिए । 


तर, पछिल्लो समय क्यासिनो सञ्चालनको नयाँ लाइसेन्स आफूखुसी धमाधम बाँड्न थालेपछि उनी फेरि तीव्र विरोध खेप्न बाध्य छन् । अहिले चाहिँ आफ्नै प्रतिरक्षा गर्न उनले लगभग ओली क्याबिनेटकै रवैया देखाइरहेका छन् । उनी आफूखुसी ‘आफ्ना मानिस’ लाई क्यासिनो लाइसेन्स बाँडेको आरोप ठाडै अस्वीकार गर्छन् ।

केही दिनअघि एक टेलिभिजन च्यानलसँगको कुराकानी क्रममा आलेले आफ्नो काम नै यही भएको र यसैका लागि आफू संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भएको भएको बताएका थिए । उनले भनेका थिए, ‘अब लाइसेन्स नदिएर के म धानको बिउ बाँड्दै हिँडूँ त !’

आफूले जथाभाबी लाइसेन्स नबाँडेको, तर ऐन/नियमअनुसार प्रक्रिया पुर्‍याएर आएका व्यवसायीहरूलाई मात्र क्यासिनो सञ्चालन अनुमति पत्र (लाइसेन्स) दिएको उनको दाबी छ । ‘लाइसेन्स दिनु कुनै अपराध होइन, ऐन, नियम, नियमावलीले दिएको प्रक्रिया पुर्‍याएर आएका जेन्यून व्यवसायीहरूलाई मात्र लाइसेन्स दिइएको छु,’ आलेले भनेका छन् । 

क्यासिनो नेपालीहरूका लागि नभई विदेशी नागरिक (पर्यटक) हरूका लागि मात्र भएकाले यसमा टाउको दुखाउन आवश्यक नभएको पनि आलेले तर्क गरेका छन् । उनी थप्छन्, ‘नियमसम्म तरिकाले क्यासिनो सञ्चालन गर्छु, ट्याक्स तिर्छु भन्नेलाई किन रोक्ने ?’

आलेले आफू पर्यटनमन्त्री भएपछि आधा दर्जन होटल व्यवसायीलाई क्यासिनो सञ्चालनको अनुमति दिइसकेका छन् । पूर्वमा झापाको मेचीनगरस्थित होटल मेची क्राउनलाई ‘क्यासिनो भेगास’ सञ्चालन अनुमति दिएका मन्त्री आलेले क्रमशः नेपालगञ्जको होटल स्नेहालाई ‘क्यासिनो बेल्लिज’, नेपालगञ्जकै अर्को होटल स्टारलाई ‘भेन्यू रिक्रिएसन’, होटल कल्पतरुलाई ‘ओम त्रयम्बकम्’, होटल सिटी प्यालेलाई ‘केपीएफ इन्टरटेनमेन्ट’ र भैरहवास्थित होटल नान्सलाई ‘सिद्धार्थ गेमिङ जोन’ नामक क्यासिनो सञ्चालनका लागि अनुमति दिएका हुन् । 

यद्यपि, होटल नान्सको सिद्धार्थ गेमिङ जोन क्यासिनोलाई भने यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चालन अनुमति पत्र दिएका थिए । मन्त्री आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले गत असोज १५ गते भैरहवास्थित होटल नान्सस्थितलाई ‘क्यासिनो गेमिङ जोन’ सञ्चालनको लाइसेन्स दिएका थिए । यो समेत गरी शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिलेसम्म ६ वटा होटललाई क्यासिनो सञ्चालनको अनुमति दिएको छ । पाँचवटा अनुमति त आले मन्त्री भएर आएपछि नै दिइएको छ । 

कोभिड–१९ को महामारी फैलिएसँगै तत्कालका लागि क्यासिनो सञ्चालनमा रोक लगाइए पनि हालको गठबन्धन सरकारले धमाधम एकपछि अर्को क्यासिनोको लाइसेन्स बाँड्नुले प्रश्न उब्जाएको छ । ऐन बमोजिम नै प्रक्रिया पुगेका र क्यासिनो सञ्चालनको अनुमति मागेका होटल तथा कम्पनीहरूलाई मात्र लाइसेन्स दिएको सरकार जिकिर छ ।

थप लाइसेन्स बाँड्नु ठीक कि बेठिक ?

हाल नेपालमा साना/ठूला गरी कूल २२ वटा क्यासिनो सञ्चालनमा छन् । जसमध्ये आठवटा ठूला र बाँकी १४ वटा मध्यम वा मिनी (आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेल खेलाइने) क्यासिनोहरू हुन् । यो सङ्ख्या चालू आर्थिक वर्षभित्र अर्थात् शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि थपिएका क्यासिनोसहित हो । 

देउवा नेतृत्वको सरकार आएपछि बाँडिएका नयाँ ६ वटा क्यासिनोको लाइसेन्सहरू मध्ये पूर्व झापाको मेचीनगरस्थित होटल मेची क्राउनलाई दिइएको ‘क्यासिनो भेगास’ ठूलो क्यासिनो हो । बाँकी पाँचवटा मिनी अर्थात् आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेल खेलाइने क्यासिनो रहेको पर्यटन विभागका प्रवक्ता मोहन बहादुर जिसीले रातोपाटीलाई जानकारी दिए । 
२०७६ चैतपछि (कोभिड–१९ महामारीपछि) रोकिएको क्यासिनोको नयाँ लाइसेन्स वितरण तथा नवीकरणको कार्य हालैमात्र सरकारले खुला गरेको हो । तर, अहिलेको समयमा थप लाइसेन्स वितरण आवश्यक थियो कि थिएन, यो बहसको मुद्दा बनेको हो । 

कुन क्यासिनोलाई कहिले दिइयो लाइसेन्स ?
मिति कम्पनीको नाम होटलको नाम स्थान
२०७८ असोज १५ सिद्धार्थ गेमिङ जोन प्रालि होटल नान्स रूपन्देही, सिद्धार्थनगर
२०७८ कात्तिक २ भेगस रिक्रियसन नेपाल प्रालि होटल मेची क्राउन धुलाबारी झापा
२०७८ कात्तिक ९ बेलिज इन्टरटेनमेन्ट प्रालि होटल स्नेहा नेपालगञ्ज बाँके
२०७८ कात्तिक १२ भेन्यू रिक्रियसन प्रालि होटल स्टार बाँके
२०७८ पुस १४ सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी प्रालि होटल सिटी प्यालेस बाँके
२०७८ पुस १६ ओम त्रयम्बकम इन्टरटेनमेन्ट प्रालि कल्पतरू होटल बाँके
२०७८ माघ १३ वाल्डो डाइनास्टी इन्टरटेन्मेन्ट प्रालि होटल अलफ्ट काठमाडौं

यसबीच प्रति क्यासिनो एक करोड रुपैयाँका दरले सरकारले पाँच वटा मिनी क्यासिनोबाट दर्ता दस्तुरबापत पाँच करोड रुपैयाँ उठाएको छ । होटल मेची क्राउनमा ठूलो आकारको क्यासिनो खोल्न लाइसेन्स पाएको भेगस रिक्रियसन नेपाल प्रालिबाट चार करोड रुपैयाँ उठाएको छ । यसरी ६ वटा क्यासिनोलाई नयाँ अनुमति पत्र (लाइसेन्स) दिएर सरकारले कुल ११ करोड रुपैयाँ राजस्व उठाएको हो ।
यो बाहेक वार्षिक नवीकरण शुल्कबापत समेत सरकारले यी ६ वटा क्यासिनोबाट १० करोड रुपैयाँ उठाएको पर्यटन विभागले जानकारी दिएको छ ।
यता, पुराना १६ क्यासिनो कम्पनीबाट आर्थिक वर्ष २०७८/७९ मा नवीकरण शुल्कबापत सरकारलाई कूल १७ करोड रुपैयाँ आम्दानी भएको छ । यी मध्ये पाँचवटा कम्पनीले भने हालसम्म नवीकरण नगरेको विभागका अधिकारीहरूले जनाएका छन् ।

प्रक्रिया पुर्‍याएपछि लाइसेन्स पाउनुपर्छ : हान

नेपाल होटल संघ (हान) का अध्यक्ष सिर्जना राणा प्रक्रिया पुगेका सबै होटलले क्यासिनो सञ्चालनको लाइसेन्स पाउनुपर्ने बताउँछिन् । एउटै मुलुकभित्र, त्यो पनि एउटै ऐन/नियमभित्र बाँधिएका व्यवसायीमध्ये कसैले व्यवसाय अनुमति पाउने र कसैले नपाउने भन्ने सवाल नै नहुने उनको तर्क छ ।

‘कसले लाइसेन्स पायो कसले पाएन भन्दा पनि ऐन बमोजिम भयो कि भएन भन्ने विषय महत्त्वपूर्ण हो । यसमा यो वा त्यो भन्ने हुँदैन । कानुन बमोजिम, राखिएका प्रावधानहरू वा क्राइटेरिया पुरा गरेर आएका सबैले अनुमति पाउनुपर्छ,’ उनले भनिन् । नयाँ लाइसेन्स वितरण गरेकोमा विरोध गर्नेहरूप्रति प्रतिप्रश्न गर्दै राणाले भनिन्, ‘ऐन बमोजिम प्रक्रिया पुर्‍याएर आएकाले किन लाइसेन्स नपाउने ?’ 

पुरानो होटल अन्नपूर्णकी सञ्चालकसमेत रहेकी राणा आफैँले पनि होटल अन्नपूर्णमा क्यासिनो सञ्चालन गरिरहेकी छिन् । जुन क्यासिनो कोभिड–१९ कै बीच अहिले पनि सञ्चालनमा रहेको उनको भनाइ छ । तर, कोभिडपछि बन्द भएको होटलले भने अहिलेसम्म व्यावसायिक उचाइ लिन सकेको छैन ।

आर्थिक दृष्टिकोणले लाइसेन्स वितरण उचित : आचार्य

पर्यटन विभागकी पूर्वनिर्देशक समेत रहेकी क्यासिनो जानकार मीरा आचार्य आर्थिक उपार्जन तथा सरकारी राजस्व सङ्कलनको दायरा विस्तार निम्ति क्यासिनो सञ्चालनको नयाँ लाइसेन्स खुला गर्नु उपयुक्त रहेको बताउँछिन् । कोभिड–१९ पछि बन्द रहेको लाइसेन्स वितरण तथा नवीकरण प्रक्रिया खुला गरेर सरकारले राम्रो गरेको उनको तर्क छ । यसले सरकारी राजस्व बढ्नुका साथै विदेशी पर्यटक आकर्षित गर्न र रोजगारी सिर्जना गर्न समेत निकै सहयोग पुग्ने उनको दाबी छ । 

‘राजस्व सङ्कलनका हिसाबले त क्यासिनो सरकारको राम्रो आयस्रोतको क्षेत्र हो । एउटै क्यासिनोबाट सरकारले करोडौँ राजस्व सङ्कलन गर्नसक्छ । लाइसेन्स शुल्कदेखि धितो र करलगायत धेरै कुराहरू हुन्छन् । एउटै क्यासिनोबाट सरकारले ५–६ करोड रुपैयाँसम्म राजस्व पाउँछ । यस्तो राम्रो आम्दानी स्रोतलाई किन बन्द राख्ने ?’ आचार्यको भनाइ छ ।

क्यासिनो सञ्चालन गर्न दिनुको ध्येय राजस्व बढाउनु मात्र नभएर विदेशी पर्यटकलाई निम्ता दिनु समेत रहेको आचार्य बताउँछिन् । यसले मुलुकको पर्यटन प्रवर्द्धन हुनुका साथै हजारौँका लागि रोजगारीको सिर्जना समेत हुने उनको भनाइ छ । क्यासिनोलाई क्यासिनोको रूपमा मात्र नहेरेर पर्यटन व्यवसायको पूर्वाधारको रूपमा समेत हेरिनुपर्ने तर्क उनको छ ।

यस्तो छ क्यासिनो नियमावली 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप