बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङको उखुबारीमा भेटिएका दुई शव : हत्या गरिएको स्थल अझै अज्ञात !

काठमाडौं आयो डीएसपी नेतृत्वको अनुसन्धान टोली
बिहीबार, २० माघ २०७८, १४ : ४६
बिहीबार, २० माघ २०७८

मोरङको उखुबारीमा खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुईवटा शव अन्यत्र हत्या गरेर त्यहाँ ‘व्यवस्थापन’ गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।  धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट माघ १३ र १४ मा दुईवटा शव निकालिएको थियो ।

माघ १३ मा भेटिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको छ । अर्को शव सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव भेटिएसँगै जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म हत्या गरिएको घटनास्थल पत्ता लागेको छैन ।

‘घटनास्थल अझैसम्म पत्ता लागेन’ मोरङका एसपी जनार्दन जिसीले रातोपाटीसँग भने, ‘घटनास्थल पत्ता लगाउन हामी लागिरहेका छौं ।’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उखुबारीमा हत्या भएको प्रमाण फेला परेका छैन ।

मृतक चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका–४ का स्थानीय हुन् । उनी काठमाडौंको क्षेत्रपाटी बस्थे । जग्गा कारोबार र ठेक्कापट्टा गर्ने चौधरी काठमाडौंबाट ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठसँगै काठमाडौंबाट मोरङ गएका थिए । तर, राजेन्द्रका परिवारले चौधरीलाई कहिल्यै पनि सँगै हिँडेको नदेखेको प्रहरीलाई बताएका छन् । श्रेष्ठ पनि जग्गा कारोबारी हुन् । श्रेष्ठ र चौधरी काठमाडौंबाट सँगै एक महिनाअघि बिराटनगर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आर्थिक लेनदेन

मृत फेला परेका श्रेष्ठ र चौधरीको अन्य व्यक्तिहरुसँग आर्थिक लेनदेन देखिएको छ । ‘मृतक दुबैले केही व्यत्तिहरुसँग पैसा लिनुपर्ने र कसैलाई दिनुपर्ने देखिएको छ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले रातोपाटीसँग भने, ‘हत्याको मुख्य कारण लेनदेन नै भएको हाम्रो निष्कर्ष छ ।’

काठमाडौंबाट बिराटनगर जाँदा श्रेष्ठ र चौधरीसँगै अर्को एकजना पनि एउटै गाडीमा गएको देखिएको छ । सँगै गएका तेस्रो व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकहरुसँगै जग्गा कारोबार गर्ने अर्का एकजना फ्लाइटमा विराटनगर गएको खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार मृतक दुईजना बाहेक उनीहरुको समूहका थप दुईजनाको उपस्थिती मोरङमा देखिएको छ ।

राजेन्द्र कुमार श्रेष्ठ भक्तपुरको लोकन्थलीमा परिवारसँग बस्थे । ‘उहाँ एक महिनाअघि भक्तपुरबाट हिँडेको थाहा भएको छ’ मोरङका एसपी जनार्दन जिसीले रातोपाटीसँग भने–‘परिवारसँग एकमहिना अघिदेखि सम्पर्क भएको देखिँदैन ।’

राजेन्द्र कुमार श्रेष्ठ बेला–बेला हराइरहन्थे, ८–१० दिनमा घर जान्थे । ‘दुईचार दिन आउदिनँ’ भनेर हिँड्ने बानी भएको हुनाले परिवारले पनि लामो समय सम्पर्क नहुँदा चासो गरेनन् ।

डीएसपीको टोली काठमाडौंमा

घटना अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत डीएसपी मन्जिल मुकारुङ नेतृत्वको टोलीले काठमाडौंसम्म आएर अनुसन्धान गरेको बुझिएको छ । हत्यामा उपत्यकामा बस्ने व्यक्तिहरु नै संलग्न भएको निष्कर्षसहित टोलीले काठमाडौं आएको हो ।

‘गहन तरिकाले अनुसन्धान भइरहेको छ’ मोरङका एसपी जिसीले रातोपाटीसँग भने, ‘तर, सार्वजनिकरुपमा भन्नेगरि प्रगति भैसकेको छैन, अनुसन्धान जारी छ ।’ 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप