शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चैनपुर नगरपालिकामा अनियमितता भएको भन्दै चार दलले गरे कारबाहीको माग

शुक्रबार, २८ माघ २०७८, १३ : २६
शुक्रबार, २८ माघ २०७८

चैनपुर नगरपालिका आर्थिक अनियमितता भएको भन्दै संखुवासभाका चार दलले कारबाहीको माग गरेका छन् । चैनपुर नगरपालिका नगर प्रमुख भरतकुमार खत्रीसहित नगरपालिका नेतृत्वले चरम अनियमितता गरेको आरोप लागेको छ । नगरपालिकामा करोडौंको अनियमितता भएको भन्दै राजनीतिक दलहरू र नगरवासीले विरोध जनाएका छन् ।

चैनपुर नगरपालिकामा रहेका एमाले बाहेकका चार दलले महालेखा परीक्षकको प्रतिवेदन देखाउँदै विरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तथा स्थानीयले चैनपुरमा बिहीबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएका छन् । यथाशीघ्र बेरुजु रकम तिर्न दबाबका लागि पत्रकार सम्मेलन गरिएको उनीहरूले बताए ।

माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राईले चाँडै बेरुजु रकम फिर्ता गर्दै कानुनी कारबाही भोग्नुपर्ने बताएका छन् ।  नेपाली कांग्रेसका जिल्ला सचिव कुमारबाबु अधिकारीले जनप्रतिनिधि भएकाले नियमविपरीत रकम लिने अनि मलेपको प्रतिवेदनलाई नै बेवास्ता गरी फिर्ता नगर्ने प्रवृत्ति खराब रहेको बताए।

एकीकृत समाजवादीका नेता उमेशकुमार डाँगीले तीन वर्षको अवधिमा  नगरमा करोडौंको भ्रष्टाचार भइसकेको बताएका छन् । 

नगर प्रमुख खत्रीले व्यक्तिगत प्रयोजनका लागि लाखौं रकम पेस्की लिएको, चीन भ्रमणमा नियमविपरीतको रकम लिएको, अनुदान वितरण, खेलकुद कार्यक्रम सञ्चालन, नदीजन्य उत्खननबाट प्राप्त कर, ठेकेदार कम्पनीसँगको मिलेमतोमा रकम लिने गरेको आरोप लागेको छ ।

नगर प्रमुख खत्रीले प्रतिवेदन अध्ययन गरेर मात्रै जानकारी गराउने बताएका छन् । 

भ्रमणका नाममा स्वीकृतिविनै चार लाख भुक्तानी

नगर प्रमुख भरतकुमार खत्रीले चीन भ्रमणका नाममा निर्णयविनै करिब चार लाख रुपैयाँ भुक्तानी लिएका छन् । वैदेशिक भ्रमणमा जानुपूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने भए पनि प्रमुख खत्रीले स्वीकृति नलिई ४ असोज २०७५ मा चीन भ्रमणको नाममा तीन लाख ९९ हजार पाँच सय रुपैयाँ लिएका हुन् ।

आर्थिक वर्ष २०७५–७६ मा उनी चीन भ्रमण गएको भए पनि मन्त्रालयको स्वीकृति नलिई नै भ्रमण गरी भुक्तानी लिएका छन् । त्यस्तै सवारी साधनबापत वार्षिक ९६ हजार रुपैयाँ लिए पनि कार्यालयकै सवारी साधन प्रयोग गरी रकम लिएको उनीहरूको आरोप छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप