सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मविरुद्ध षड्यन्त्र हुन थालेपछि एमालेबाट ब्याक भएर जसपा रोजेँ’

आइतबार, ०६ चैत २०७८, ०९ : ३८
आइतबार, ०६ चैत २०७८

२०४३ देखि नेविसंघबाट राजनीति सुरु गरेका राजेशमान सिंह २०५४ मा काँग्रेसबाट वीरगञ्जमा वडा सदस्य जितेका थिए । उनी २०५७ सालमा विमल श्रीवास्तव नेतृत्वको स्वतन्त्र समूहमा लागेका थिए । पछि सो समूह राप्रपामा विलय भएपछि उनी पनि राप्रपामा गए ।

तीन वर्षसम्म राप्रपामा रहेर राजनीति गरेका राजेशमान त्यहाँ पनि धेरै समय रहेनन् । उनी शरतसिंह भण्डारीले गठन गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीमा गए । त्यहाँबाट राजपा, जसपा हुँदै उनी लोसपासम्म पुगे । दोस्रो संविधानसभा चुनाव लडेका उनी तेस्रो स्थानमा रहे भने २०७४ को स्थानीय चुनावमा महानगरपालिकाको मेयरमा पनि उनले तेस्रो स्थान हासिल गरे । लोसपा त्याग गरेर एमाले रोजेका राजेशमान सिंह अहिले जसपामा प्रवेश गर्ने तयारीमा छन् । चैत ७ गते वीरगञ्जमा एउटा कार्यक्रममार्फत उनी जसपामा प्रवेश गर्दैछन् ।

लोसपा छाडेर एमाले रोजेका राजेशमानले पुनः किन जसपा रोजे भन्ने विषयमा धेरैलाई चासो पनि छ । मुख्यतः यही प्रश्न र समसामयिक राजनीतिका बारेमा केन्द्रित रहेर उनीसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, रातोपाटीका लागि एसके यादवले राजेशमान सिंहसँग गरेको कुराकानीको सम्पादित अंश :

लोसपाबाट एमालेमा प्रवेश गरेको एक महिना नपुग्दै फेरि त्यहाँबाट जसपामा जाँदै हुनुहुन्छ, किन ?

–पहिलो कुरा त म एमालेमा प्रवेश गरेको थिइनँ । लोसपा त्याग गरेर एमालेमा जाने घोषणा गर्न पत्रकार सम्मेलन गरेको थिएँ । फागुन १४ गते एमालेमा प्रवेश गर्ने तयारी थियो । त्यसका लागि डेट पनि फिक्स भएको थियो । तर एक्कासी त्यो मितिलाई २१ मा सारियो । त्यसपछि २१ बाट २६, फेरि २६ बाट २८ र २८ बाट चैत ६ र ६ बाट फेरि ८ गतेका लागि डेट फिक्स गरियो । मलाई शंका लाग्यो । मेरो हकमा डेटमाथि डेट तर वैवाहिक कार्यक्रममा एक्कासी एकजना भ्रष्ट मेयर (विजय सरावगी) लाई पार्टी प्रवेश गराउनु भयो । त्यसले म कन्फर्म भएँ कि ममाथि कुनै षड्यन्त्र भइरहेको छ । म सचेततापूर्वक एमालेमा प्रवेश गर्ने निर्णयबाट ब्याक भएँ ।

एमालेले त्यस्तो किन ग¥यो जस्तो लाग्छ तपाईलाई ?

–एमालेका अध्यक्ष केपी शर्मा ओलीमा कुनै दोष छैन । जिल्लाका स्थानीय नेताहरु मबाट भयभित भएका छन् । यो मान्छे एमालेमा आएपछि सबैलाई तनाव हुन्छ, सबैको भाग खोसिन्छ, भ्रष्टहरुको खैरियत रहने छैन भन्ने डर थियो । एमालेमा प्रवेश गर्ने निर्णय गरेसँगै एमालेका स्थानीय नेताहरु एक प्रकारले तनावमा थिए । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पार्टीमा प्रवेश गराउँदा मसँग कुनै सल्लाह भएन । मेयर विजय सरावगी भ्रष्ट मान्छे हुनुहुन्छ । उहाँले गरेको भ्रष्ट कार्यको जहिले पनि म विरोध गर्थेँ । आफ्नो भ्रष्टाचार लुकाउनका लागि उहाँ एमालेको ओत लाग्नु भएको हो । उहाँको भ्रष्टाचारका काममा एमालेका कतिपय नेताहरुको संलग्नता छ । म त्यो पार्टीमा गएर सबैको भण्डाफोर गर्छु भन्ने उहाँहरुलाई डर लाग्यो । ममाथि षड्यन्त्र गर्न थाले । त्यसपछि म त्यहाँबाट ‘ब्याक’ भएको हुँ ।

तपाईंले जसपा नै किन रोज्नु भयो ?

–म लामो समय मधेसको राजनीतिमा संलग्न रहेँ । मलाई मधेसी, आदिवासी जनजातिको मुद्दामा काम गर्न आनन्द आउँछ । म एमालेमा गएको भए पनि त्यहाँ मधेसकै कुरा उठाउँथे । जसपा नेपाल मधेसी, आदिवासी, जनजाति तथा पिछडिएका लागि काम गर्ने पार्टी हो । त्यही भएर त्यहाँ जान लागेको हुँ । अर्को मुख्य कुरा, म ग्रासरुटमा राजनीति गर्छु । वीरगञ्ज मेरो जन्मभूमि र कर्मभूमि पनि हो । मैले वीरगञ्जका लागि सोच्नैपर्ने हुन्छ ।

मधेसवादी दलका नेताहरुले मधेस प्रदेशको राजधानी वीरगञ्जलाई बनाउने प्रतिवद्धता गर्नुभएको थियो । तर त्यो प्रतिवद्धता पूरा भएन । वीरगञ्जलाई आर्थिक राजधानी बनाउने कुरा आउन थालेको छ । यो कुरा धेरै पहिलादेखि सुन्दै आएको हुँ । जसपाका नेता डा.बाबुराम भट्टराईसँग कुरा हुँदा उहाँले वीरगञ्जलाई आर्थिक राजधानीको रुपमा विकास गर्ने भन्नुभएको छ । यो कुरा भनेरमात्र हुँदैन, त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ र त्यसका लागि पूर्वाधारहरु बनाउन सुरु गर्नुपर्छ भनेको छु मैले । जसपा मधेस प्रदेश सरकारको नेतृत्वमा छ । उता, संघीय सरकारमा पनि छ । त्यही भएर अहिले गर्न चाह्यो भने वीरगञ्जका लागि धेरै काम गर्न सकिन्छ भनेर जसपाका नेताहरुलाई भनेको छु । अनि उहाँहरुले सबै काम हुने र वीरगञ्जका लागि जसपाले विशेष ध्यान दिने प्रतिवद्धता जनाउनु भएको छ । त्यही भएर म जसपामा जाने निर्णयमा पुगेँ ।

यदि प्रतिबद्धता जनाए अनुसार जसपाले तपाईको माग पूरा गरेन भने फेरि त्यहाँबाट ‘ब्याक’ हुनुहुन्छ ?

–वीरगञ्ज मेरो जन्मभूमि र कर्मभूमि दुवै हो । वीरगञ्जलाई धोका दिने कुरा मलाई सैह्य हुँदैन । त्यसका लागि जे पनि गर्न तयार छु । जसपाले वीरगञ्जका लागि गरेको प्रतिवद्धता पूरा गरेन भने त्यतिबेला सोच्न बाध्य हुन्छु । त्यतिबेला के गर्छु, त्यतिबेलै निर्णय गर्छु ।

जसपाले वीरगञ्ज महानगरका लागि मेयरको टिकट तपाईलाई दिने कन्फर्म गरेपछि एमालेबाट फर्किनु भएको हो भनिन्छ नि, कुरा सही हो ?

–होइन, यो विल्कुल गलत कुरा हो । मैले टिकटै पाएपछि मात्र आउँछु, नभए आउँदिनँ भनेको छैन । मैले एमालेमा जाँदा पनि महानगरपालिकाको मेयरका लागि मभन्दा योग्य उम्मेदवार कोही पाउनु भयो भने त्यसलाई टिकट दिनु होला, यदि मभन्दा योग्य व्यक्ति पाउनु भएन भने मलाई टिकट दिनु होला भनेको थिएँ ।

त्यही कुरा मैले जसपाका नेताहरुलाई पनि भनेको छु । महानगरजस्तो ठाउँमा योग्य व्यक्ति आउनुपर्छ भन्ने मेरो मान्यता हो । फेरि, विजय सरावगीजस्ता भ्रष्ट व्यापारी नआउन् । राजनीतिमा कुनै योगदान नै नभएका व्यक्ति एकाएक पैसाको बलमा पार्टीबाट टिकट लिन्छन् र पैसाकै बलमा चुनाव जित्छन् अनि पैसामात्र कमाउँछन् । त्यस्ता व्यक्ति महानगरका लागि चाहिँदैन । महानगरका लागि राजनीति बुझेको, जनतामा भिजेको, जनताको दुःखसुखमा साथमा दिएको तथा इमान्दार व्यक्ति चाहिन्छ । त्यस्ता व्यक्तिलाई मात्र टिकट दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

एमालेमा प्रवेशको घोषणा गर्ने दिन तपाईले मधेसवादी दल सत्ताका भोगी हुन्, आन्दोलनलाई सत्तासँग मोलमोलाई गर्छन् भन्नुभएको थियो । यो देशका सबभन्दा अनुभवी नेता केपी शर्मा ओली रहेको र उहाँसँग देश बनाउने भिजन भएको बताउनुभएको थियो । अहिले ओलीलाई छाडेर मधेसवादी दलमै फर्किनु भएको छ । तपाईले त्यो बेला भनेको कुरा र अहिले गरेको निर्णयको तालमेल मिलेन नि, किन ?

–राजनीति गरेपछि सबैलाई सत्ता चाहिन्छ । राजनीति नै सत्ताका लागि गरिन्छ । तर मधेसवादी दलले कहिल्यै दुई तिहाई ल्याउन सक्दैन । उसले जहिल्यै पनि काँग्रेस, माओवादी, एमालेसँग नै सहकार्य गर्नुपर्छ । ती दलहरुसँग मिलेर आफ्नो माग पूरा गराउनसक्छ । तर मधेसवादी दलमा कतिपय यस्ता नेता छन् जो सत्ताबिना बाँच्न सक्दैनन्, सत्ताका लागि जे पनि गर्न सक्छन् भन्ने कुरा मैले भनेकै हो । अहिले पनि त्यो कुरा भन्छु । सत्तामा गएपछि मधेसलाई बिर्सिनु हुँदैन । सहिदका लागि गरेका बाचा भुल्नु हुँदैन । जनतासँग गरेको प्रतिवद्धता भुल्नु हुँदैन । जुन कतिपय नेताहरुले बिर्सेका हुन्छन् ।

अर्को कुरा, केपी ओलीको बानी–व्यहोरा मलाई मन पर्छ । उहाँको राष्ट्रप्रति जुन सोच र अडान छ, त्यो सोच र अडान अरु नेतामा पाइँदैन । उहाँ पछिल्लो समय मधेसप्रति निकै सकारात्मक बन्नुभएको छ । मधेसको माग पूरा गराउन तयार हुनुभयो । केही माग पूरा पनि गर्नुभयो । त्यसले गर्दा म उहाँप्रति आकर्षित भएको थिएँ तर उहाँका पार्टीका स्थानीय नेताहरुले ममाथि नै षड्यन्त्र गरेपछि म केपी ओलीको साथ जान सकिनँ ।

एउटै एजेण्डा र एउटै मुद्दामा काम गर्ने जसपा र लोसपामध्ये तपाईले लोसपा छाडेर जसपा नै किन रोज्नुभयो ?

–म जिल्लामा काम गर्छु । तर जिल्लामा लोसपाका नेताहरु केन्द्रदेखि नै काखापाखा गर्छन् । जीवनमा कहिल्यै चुनाव नलडेका, प्रतिस्पर्धा नै नगरेका व्यक्तिलाई जिम्मेवारी दिन्छन् तर जो राजनीतिमा सक्रिय छन्, पटक पटक चुनाव लडेका छन्, त्यस्ता व्यक्तिलाई पाखा लगाएका छन् ।

लोसपामा माथिदेखि तलसम्म जातीवाद हावी छ । त्यही भएर त्यहाँ बस्न गाह्रो भयो । जसपामा त्यस्तो अवस्था छैन । म जसपामा पनि केही समय काम गरेको छु । अन्य पार्टीभन्दा यो पार्टी पक्कै फरक छ । जसपाबाट लोसपा विभाजन हुँदा म लोसपातिर लागेको थिएँ किनभने म सुरुदेखि जुन टिमसँग काम गरेको थिएँ, त्यो टिम लोसपातिर लाग्यो । त्यही भएर म पनि त्यतैतिर लागेँ । तर त्यहाँ राजनीतिक संस्कार नदेखेपछि म पुनः जसपामा फर्केँ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप