सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

घाँसको बीउ उत्पादन

सोमबार, २२ असार २०८३, ११ : ०९
सोमबार, २२ असार २०८३

बाँके । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरेको छ ।

चालु आर्थिक वर्ष ०८२/८३ मा विभिन्न प्रजातिका घाँसको ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरिएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खिमानन्द खनालले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालयबाट उत्पादन भएको घाँसको बीउ १९ हजार २ सय २६ किलो किसानलाई बिक्रीवितरण गरिएको छ । कार्यालयमा एक हजार ७ सय ९० किलो खपत भई ११ हजार ४ सय ३ केजी घाँसको बीउ बाँकी रहेको छ ।

कार्यालयले बर्सिम, जै, भेच, टियोसेन्टी, ज्वाइन्ट भेच, स्टाइलो कुक्स, नेपियर लगायतको घाँस र बडहर, टाँकी, कोइरालो, इपिलइपिल, किम्बु, मेन्डोला लगायतको डालेघाँसको बीउ तथा बिरुवा उत्पादन गरी बिक्री वितरण गर्ने गरेको छ ।

चालु आर्थिक वर्षमा घाँसको बीउ तथा हरियो घाँस बिक्री गरेर रु. २० लाख ४७ हजार ७०४ आम्दानी गरेको छ । कार्यालयले विभिन्न जातका घाँसका बीउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधार अन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण हुँदै आएको वरिष्ठ पशु विकास अधिकृत डा. खनालले जानकारी दिए ।

खजुरा–२ गौघाटमा करिब ३४ दशमलव ४ हेक्टर क्षेत्रफलमा फैलिएको राष्ट्रिय पशु प्रजनन कार्यालयले व्यावसायिक रूपमा घाँसको बीउ खेती गरी किसानलाई बिक्री वितरण गर्दै आएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले बताए ।

अहिले घाँसको बीउ छर्ने र बिरुवा रोप्ने काम भइरहेको छ । वर्षा नभएका कारण यो वर्ष घाँसको बीउ छर्न र बिरुवा रोप्न केही ढिलाइ भएको जैसीले जानकारी दिए । राष्ट्रिय पशु प्रजनन कार्यालय २०३६ सालमा भैँसी फाराम (बुल सेन्टर) का रूपमा स्थापना भएपश्चात् विभिन्न चरण हुँदै ४७ औँ वर्ष प्रवेश गरेको छ ।

यो कार्यालयले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम गरी २५ जिल्लामा सेवा प्रवाह गरिरहेको छ । कार्यालयबाट विभिन्न जातका घाँसका बीउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधार अन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण गर्दै आएको जैसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप