सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
समाचार

नगर पक्षी खोज्दै पोखरा महानगर

सोमबार, २२ असार २०८३, ११ : ३०
सोमबार, २२ असार २०८३

पोखरा । जापानको टोकियोले ब्ल्याक–हेडेड गललाई नगर पक्षी घोषणा गरेको छ । अमेरिकाको सियाटलले ग्रेट ब्लु हेरोन र सिकागोले पेरेग्रिन फाल्कनलाई आफ्नो नगर पक्षी मानेका छन् । संसारका ३ दर्जनभन्दा बढी देशका सहरहरुले नगर पक्षी घोषणा गरेको तथ्याङ्क छ ।

नेपालकै लुम्बिनीले दुर्लभ र विश्वकै सबैभन्दा अग्लो उड्ने पक्षी सारसलाई आफ्नो पहिचान बनाएको छ भने पोखराकै वडा नम्बर २५ ले पनि लाटोकोसेरोलाई वडा पक्षीका रुपमा घोषणा गरेको छ ।

विश्वभर नगर पक्षी घोषणा गर्ने र चरा पर्यटनको विकास गर्ने अभ्यासन लामो समयदेखि चल्दै आएको हो । पोखरा महानगरपालिकाले पनि आफ्नो पहिचानको पक्षी खोजी थालेको छ । चालु आर्थिक वर्षभित्रै नगरपक्षी घोषणा गर्ने तयारी गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

‘विश्वभर चरा पर्यटन महँगो र राम्रो मानिँदो रहेछ । हाम्रोमा पनि यो पर्यटनको विकास धेरै पहिलेदेखि भइरहेको छ,’ उनले भने, ‘अब महानगरले आफ्नो पहिचानको एउटा पक्षी छानेर नगर पक्षी घोषणा गर्ने तयारी गरेका छौँ ।’

bird kaski (3)

सन् २०१९ मा पोखराका चराहरूको बारेमा पहिलो पुस्तक प्रकाशन गर्दा त्यतिबेलासम्म पोखरा उपत्यकामा कुल ४६७ प्रजातिका चरा अभिलेख गरिएका थिए । निरन्तरको अध्ययन र खोजका कारण अहिले त्यो सङ्ख्या बढेर ४९८ प्रजाति पुगिसकेको छ । नगर पक्षी घोषणका लागि चराका विज्ञहरु जङ्गल र ताल चहारिरहेका छन् । पोखरा आउने पर्यटकहरुको रोजाई हिमाल र ताल त हुँदै हो, अब चराका लागि पनि पर्यटक डाक्न आफ्नै पहिचान स्थापित गर्न लागिएको नगर प्रमुख आचार्यले सुनाए ।

पक्षी समाज पोखराको संयोजनमा विज्ञ तथा चरा अनुसन्धानकर्ताहरूले चरा खोजी अन्तिम चरणमा पुर्‍याएका उनले बताए । पछिल्लो पाँच दिनसम्म ५५ जना विज्ञ तथा सिटिजन साइन्टिस्टहरूको सहभागितामा पोखराका ताल, वन, सिमसार र पार्कहरूमा विस्तृत चरा सर्वेक्षण सम्पन्न गरेका हुन् ।

पक्षी समाज पोखराका सचिव तथा स्पेनको युनिभर्सिटी अफ ओभिएदोबाट चरा विज्ञानमा विद्यावारिधि गरिरहेका अनुसन्धानकर्ता हेमन्त ढकाल पोखराको अध्ययनका क्रममा १५४ प्रजातिका ८ हजार ४४६ वटा चरा गणना गरिएको बताउँछन् । ‘हामीले यो छोटो अवधिमा नै १५४ प्रजातिका चराहरूको अभिलेख राख्न सफल भयौँ, जसमा विश्वमै दुर्लभ मानिएका डंगर गिद्ध, सानो खैरे गिद्ध र इजिप्टसियन भल्चर जस्ता प्रजातिहरू पनि समावेश छन्,’ उनले भने, ‘पोखराको समग्र जैविक विविधताको वास्तविक चित्र उतार्न ५–१० दिनको अध्ययन मात्र पर्याप्त हुँदैन । यसका लागि महानगरपालिकाले वार्षिक रूपमै काम गर्नुपर्छ ।’

ढकालका अनुसार नेपालमा हाल ९०३ प्रजातिका चरा अभिलेख गरिएका छन् । यसमध्ये ४४ प्रजाति विश्वव्यापी रूपमा र १६८ प्रजाति नेपालमा राष्ट्रिय रूपमा सङ्कटापन्न अवस्थामा छन् ।

महानगरमा गरिएको अध्ययनबाट विश्वव्यापी रूपमा अति सङ्कटापन्न २ प्रजाति र सङ्कटापन्न १ प्रजातिका चरा फेला परेका छन् । त्यस्तै, राष्ट्रिय स्तरमा अति सङ्कटापन्न १ प्रजाति, सङ्कटापन्न ३ प्रजाति, संवेदनशील ६ प्रजाति र सङ्कटापन्नको नजिक रहेका ११ प्रजातिका चरा अभिलेख गरिएका छन् ।

सबैभन्दा बढी बकुल्ला प्रजातिका ७६६ वटा चरा गणना गरिएका छन् भने घर भँगेरा ५०८ वटा, गौंथली ३६८, जुरेली ३६५ तथा कालो चिल ३१८ वटा अध्यावधिक गरिएको छ ।
कालो चिल र कागको सङ्ख्या बढ्यो

अहिलेको सर्वेक्षणले पोखरा प्रदूषित बन्दै गएको निष्कर्ष पनि निकालेको छ । चराहरुको प्रजाति र तिनका सङ्ख्याले सहरको प्रदूषण प्राकृतिक रुपमै मापन गर्न सकिने विज्ञहरु बताउँछन् । विशेषगरी फोहरमैला र सिनो खाएर बाँच्ने कालो चिलको सङ्ख्यामा अस्वाभाविक वृद्धि भएको पक्षी समाज पोखराका निवर्तमान अध्यक्ष मनशान्त घिमिरेले सुनाए ।

विगत १५ वर्षदेखि पोखराको आकाशमा चरा नियालिरहेका उनले पोखराका सबै ३३ वटै वडामा २ हजारदेखि २५ सयको सङ्ख्यामा कालो चिल देखा परेको सुनाए । १० वर्षअघिसम्म कालो चिलको सङ्ख्या ३–४ सय हाराहारीमा मात्रै थिए । ‘विगतमा हामीले ३–४ सयको सङ्ख्यामा मात्र देख्ने गरेको कालो चिल अहिले निकै धेरै भइसकेका छन् । ठाउँठाउँमा फोहरमैला बढेका कारण त्यहाँ चिल र कागहरूको जमघट बढ्दो छ,’ उनले भने, ‘यो सङ्ख्या पोखरा सफा भएको सङ्केत होइन । यहाँ सहरी फोहर र प्रदूषण तीव्र छ भन्ने सङ्केत गरेको हाम्रो निष्कर्ष हो ।’

bird kaski (1)

चराहरूले प्राकृतिक रुपमा वातावरणीय अवस्थाको सूचना दिने उनको तर्क छ ।

पर्यटनको मात्रै होइन सिकारी चराको पनि राजधानी हो पोखरा
पोखरालाई गण्डकी प्रदेश सरकारले पर्यटनको राजधानीको रुपमा घोषणा गरेको छ । प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र विविध छटाहरुका कारण पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको हो ।

चरासँग उठबस गर्नेहरु चाहिँ पोखरालाई सिकारी चराको राजधानी मान्छन् । पूर्वी–पश्चिम बसाइ सराइ गर्ने सिकारी चराहरूको प्रमुख हवाई मार्ग पोखरा हो । पोखरामा मात्र करिब ३५ प्रजातिका सिकारी चराहरू अभिलेख गरिएका पक्षी समाज पोखराले जनाएको छ । यी चरा बुढीगण्डकी उपत्यकाभन्दा पूर्वतर्फ नगई पोखरा उपत्यका क्रस गर्दै कालीगण्डकी कोरिडोर हुँदै भारतीय उपमहाद्वीपका अन्य क्षेत्रतर्फ यात्रा गर्छन् ।

‘एक सिकारी चरा सामान्यतः ३० देखि ३५ वर्षसम्म बाँच्छ र उसले आफ्नो परम्परागत बस्ने र आहार खोज्ने ठाउँ दशकौँसम्म सम्झिरहन्छ,’ पूर्व अध्यक्ष घिमिरेले भने, ‘विमानस्थल निर्माण भए पनि चराहरूले आफ्नो पुरानो बाटो भुल्दैनन् । त्यसमाथि विजयपुर खोला कोरिडोर र सेती नदी आसपास पोखराका माथिल्ला वडाहरूको फोहरमैला र मृत जनावर फालिदिँदा चराहरू त्यतातर्फ आकर्षित भइरहेका छन् ।’

यही कारणले पोखरामा विभिन्न समय जहाजसँग चरा ठोक्किने गरेको छ । पोखरामा यहाँका रैथाने चरामात्रै छैनन्, हिउँद याममा बच्चा कोरल्नका लागि अफ्रिका र श्रीलंका तथा भारत लगायत देशहरुबाट पनि धेरै प्रजातिका चराहरु पोखरा आइपुग्छन् । फिरन्ते चराहरु यहाँ आएर फुल पार्छन्, बच्चा हुर्काउँछन् र याम सकिएपछि आफ्नै रैथाने मुलुक फर्कन्छन् ।

कुन चरा बन्दैछ नगर पक्षी ?
पोखरा महानगरपालिकाले कुन चरालाई नगर पक्षी घोषणा गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन । अध्ययन गरिएका तथ्याङ्कहरुका आधारमा कारणसहित पक्षी समाजले महानगरलाई सिफारिस गर्नेछ । सोही सिफारिसका आधारमा उपयुक्त चरालाई नगर पक्षी घोषणा गरिनेछ । यसका लागि मापदण्डमाथि विमर्श भइरहेको पक्षी समाज पोखराका अध्यक्ष शेषकान्त शर्माले बताए ।

bird kaski (2)

चराको सौन्दर्य, यसको दुर्लभता, सांस्कृतिक सम्बन्ध र स्थानीय पर्यावरणमा त्यसको भूमिकाका आधारमा नगर पक्षी छानिने अन्तर्राष्ट्रिय अभ्यास छ । शर्माका अनुसार पोखराका सबै ३३ वटै वडामा सजिलै पाइने सुन्दर चरा ‘चित्रकुट’ लाई सिधै घोषणा गर्न सकिने विकल्प पनि थियो ।

तर, पोखरा पर्यटकीय राजधानी भएकाले सबै पक्षलाई ध्यानपूर्वक अध्ययन गरेरमात्र निर्णय लिनुपर्ने उनी बताउँछन् ।

‘हतारमा जुनसुकै चरालाई पनि नगर पक्षी घोषणा गर्न हुँदैन । पोखराको वातावरणीय महत्त्व, अन्तर्राष्ट्रिय अभ्यास र संरक्षणको पाटोलाई केलाएर मात्र उपयुक्त चरा घोषणा गर्न सुझाव पेस गर्छौं,’ उनले भने, ‘हामी सिटिजन साइन्टिस्ट मात्रै हौँ । विज्ञहरूको परामर्शबाट विश्वकै उत्कृष्ट चरा पर्यटन गन्तव्य बनाउने गरी हाम्रो सिफारिस रहन्छ ।’

पोखरामा चरा हेर्न कति पर्यटक आउँछन् ?
पोखरामा चरा हेर्न कति पर्यटक आउँछन् भन्ने तथ्याङ्क पोखराले राखेको छैन, तर पोखरा आउने विदेशीमध्ये ५ प्रतिशत हाराहारी पर्यटक चराको अवलोकन र अनुसन्धानमा सामेल हुन्छन् । चराकै लागि आउनेहरुपनि दुईथरी छन् । एक चराको अवलोकन गर्न र अर्को तस्बिर खिच्न । सामान्य पर्यटक पोखरामा १ वा २ दिन बस्दा चरा पर्यटक र फोटोग्राफरहरू कम्तीमा ३ देखि ४ रातसम्म पोखरा र आसपासका ठाउँहरुमा बिताउँछन् ।

नगर पङ्क्षी समेत घोषणा गर्न सके यो खालको पर्यटनमा व्यापक सुधार हुने पक्षी समाजका सदस्यहरुको विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप