ओली हटाउने पक्षमा गण्डकी एमाले
पोखरा । एमाले स्याङ्जा जिल्ला कमिटीका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) व्यक्ति केन्द्रित हुँदा पार्टीले गत चुनावमा ठूलो क्षति व्यहोरेको बताउँछन् । उनले भने, ‘निर्वाचनमा मत घट्नु र गण्डकीका विभिन्न क्षेत्रसहित देशभर ४९ स्थानमा जमानत जफत हुनु सामान्य विषय होइन । हामी नीति र विचारभन्दा सत्ताकेन्द्रित भयौं । पार्टीमा सामूहिकता हराएको छ र व्यक्ति–केन्द्रित हुँदा ठूलो क्षति भएको छ ।’
कुनै व्यक्तिलाई नेतृत्वमा टिकाइराख्न पटक पटक गरिएको विधान संशोधनबाटै गलत दिशा समातेको उनको तर्क छ । उनले पार्टी नेतृत्वमा ७० वर्षे उमेर हद र २ वर्षे कार्यकालको प्रावधान हटाउने निर्णय गलत भएको बताए । अब विशेष महाधिवेसन गरेर हालको संकट समाधान गर्नुपर्ने उनको सुझाव छ । ‘पार्टी सामुहिकतामा छैन । व्यक्ति केन्द्रीत भएर क्षति भएको छ । विशेष महाधिवेशन गरौं, छलफल गरौं,’ उनले भने ।
केही समयअघि बसेको एमाले गण्डकी प्रदेश कमिटीको समीक्षा बैठकमा नीति, नेतृत्व र कार्यशैलीमा व्यापक सुधार गर्दै पार्टी पुनर्गठन गर्नुपर्ने आवाज उठेको थियो । सोही बैठकको प्रतिवेदन अहिले एमालेले केन्द्रिय कमिटीमा पठाएको प्रदेश सचिव धनन्जय दवाडीले जानकारी दिए ।
उनले पनि बैठकमा पार्टीको बैचारिक अस्पष्टता बढेकोप्रति ध्यानाकर्षण गराए । ‘आठौं र नवौं महाधिवेशनमा हामीले जनक्रान्तिको कुरा गर्यौं, तर १०औं र ११औं महाधिवेशनमा आइपुग्दा क्रान्तिको स्पष्ट कार्यक्रम बन्न सकेन,’ अघि भने, ‘पार्टी बलियो बनाउन नेताहरूको देवत्वकरण गर्ने प्रवृत्ति अन्त्य गरी सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ ।’
यसका लागि धेरै ढिलो भैसकेकोले तुरुन्तै निर्णय लिनुपर्ने उनको सुझाव छ । प्रतिवेदन कार्यदलमा पेस हुनेछ र उक्त कार्यदलले निर्णय गरेपछि कार्यान्वयन हुनेछ ।
गोरखा जिल्लाका अध्यक्ष सुरेन्द्र थापाले पार्टीभित्रको आन्तरिक विभेद र चाकडी प्रथाको अन्त्य नभई पार्टीको पुनर्गठन सम्भव नहुने बताए ।
‘पार्टीमा भूगोलमा बसेर काम गर्ने इमानदार कार्यकर्ताको कुरा सुनिएन, नेताको निवास धाउनेहरूको मात्र सुनुवाइ भयो,’ उनी भन्छन्, ‘सत्तालिप्सा बढेकाले हामी रक्षात्मक अवस्थामा पुगेका छौं ।’
पछिल्लो महाधिवेसनबाटै केन्द्रीय सदस्य निर्वाचित भएका कृष्णप्रसाद अधिकारीले पहिलो पुस्ताको योगदानको कदर गर्दै अब नयाँ सोच र नयाँ पुस्ता आवश्यक रहेको बताए ।
‘पहिलो पुस्ताका नेताहरू नागरिक अधिकार प्राप्तिको लडाइँमा सफल हुनुभयो,’ उनले भने, ‘मुलुकको समृद्धि र विकासको नेतृत्व अब उहाँहरूबाट सम्भव देखिँदैन ।’ यसका लागि महाधिवेसन नै मुख्य समाधान हुने अधिकारीको भनाइ छ ।
बैठकमा उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ मुख्य अतिथि थिए भने उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज खगराज अधिकारी र सचिव पद्मा अर्याल नै उपस्थित थिए । बैठकमा सहभागी सबैजसो जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यहरूले पार्टीको सांगठनिक संरचना र कार्यशैलीमा गम्भीर विचलन आएको भन्दै सुधार्नुको विकल्प देखेनन् । केन्द्रीय सदस्य पदम गिरीले पार्टी संकटको घडीमा रहेको भन्दै अब सर्वपक्षीय संवाद जरुरी रहेको बताए । ‘हामी रक्षात्मक र संकटको डिलमा छौं । परिस्थिति बदलिँदा पनि नीति, नेतृत्व र कार्यशैलीमा संवाद नगर्ने हो भने हाम्रो अस्तित्व इतिहासमा मात्र सीमित हुनेछ,’ उनले भने ।
तनहुँ जिल्ला अध्यक्ष हरिराज कँडेलले फरक विचार बोकेका शक्तिहरूसँगको गठबन्धन प्रत्युत्पादक भएको तर्क गरेका छन् । ‘विगतमा गरिएका फरक प्रकृतिका गठबन्धनहरू घातक सावित भए,’ उनी भन्छन्, ‘पार्टीभित्रको आन्तरिक विभेद र असमझदारीलाई अन्त्य नगरेसम्म बाहिरी चुनौतीको सामना गर्न सकिँदैन ।’
बैठकले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमको पुनरावलोकन गरी भुइँतहदेखि नै सांगठनिक शुद्धीकरण अभियान चलाउनुपर्ने निष्कर्ष निकालेको छ । यस्तै, व्यक्ति केन्द्रित निर्णय प्रक्रिया सच्याउँदै आन्तरिक जनवादलाई सुदृढ गर्ने र गुटबन्दी अन्त्य गर्ने तथा सांगठानिक नेतृत्वमा दुई कार्यकाल र उमेर हदको मापदण्ड लागू गर्नुपर्ने सुझाव केन्द्रलाई दिएको छ ।
पार्टीभित्रका वैचारिक र सांगठानिक मतभेदहरूलाई निरूपण गर्न यथाशीघ्र विशेष महाधिवेशन वा विशेष सांगठनिक राष्ट्रिय भेला आयोजना गर्न माग गरिएको छ । प्रदेश इन्चार्ज खगराज अधिकारीले गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरू र नेतृत्वबाट आएका सुझावलाई पार्टी केन्द्रीय सचिवालयमा बुझाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘द स्माइलिङ असासिन’ : हालान्डले रचे नर्वेको फुटबल इतिहास
-
मन्त्रिपपरिषद्ले गर्यो १५ सहसचिवको सरुवा
-
नगर पक्षी खोज्दै पोखरा महानगर
-
कूल गार्हस्थ्य उत्पादनमा धानको योगदान दुई खर्ब, तर अझै आयातमै निर्भर नेपाल
-
पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला
-
रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण