शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कहाँ चुक्दैछ नेपालको ब्याटिङ ?

आइतबार, ०६ चैत २०७८, २१ : ००
आइतबार, ०६ चैत २०७८

गत वर्ष अप्रिल १७ देखि २१ सम्म घरेलु भूमिमा भएको टी–ट्वान्टी त्रिदेशीय सिरिजमा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले रेकर्डको वर्षात गरे । टी–ट्वान्टी क्रिकेटको डेब्यू खेलमा नेपालका लागि अर्धशतक बनाउने पहिलो खेलाडी देखि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा लगातार तीन खेलमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड स्थापित गरे । 

उनीसँगै ओपनर आसिफ शेखले पनि नेपाली टोलीलाई धेरै आशा देखाए । लामो समय धरापमा परेको नेपाली टोलीको ब्याटिङमा सुधार आउने अपेक्षा सबैले गरे । उनै कुशल र आसिफले नेपालको आपेनिङको बागडोर सम्हाले । नेदरल्यान्ड्स र मलेसियासँगको उक्त सिरिजमा नेपालका ओपनर दुवैले आसा लाग्दो प्रदर्शन गरे । 

पुरै सिरिजमा पाँच खेल खेलेका कुशलले २७८ रन बनाउँदा आसिफ शेखले १७२ रन बनाए । जुन नेपाली ब्याट्सम्यानका लागि ठूलो सफलता थियो । त्यसले नेपालको ब्याटिङमा केही सुधार आएको भन्ने सबैले आँकलन गरे । तर, जब जब नेपालको महत्त्वपूर्ण खेल हुन्छ तब नेपाली ब्याट्सम्यानहरूले कमजोर प्रदर्शन गर्दछन् । 

त्यसको पछिल्लो उदाहरण हो आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत ग्लोबल छनोटको सेमिफाइनल खेल र विश्वकप क्रिकेट लिग टूको तेस्रो सिरिज । टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत अघिल्ला तीन खेलमा सहज जित निकालेको नेपालले सेमिफाइनलमा भने यूएईसँग पराजित हुँदै टी–ट्वान्टी विश्वकपबाट बाहिरिनु पर्‍यो । 

यूएईले दिएको १७६ रनको लक्ष्य नेपालले १८ ओभर ४ बल खेल्दै मात्र १०७ रन बनायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाउँदा ज्ञानेन्द्र मल्ल २० तथा आरिफ शेखले ११ रन बनाए । 

नेपालका आठ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । आईसीसी विश्वकप लिग टू अन्तर्गत आफ्नो तेस्रो सिरिजमा पनि नेपालको अवस्था उस्तै छ । 

पहिलो खेलमा पीएनजीमाथि दुई विकेटको जित निकालेको नेपाललाई २०५ रनको लक्ष्य भेटाउन ४९ ओभर २ बल कुर्नु पर्‍यो । उक्त खेलमा पनि नेपालका ओपनर चल्न सकेनन् । मध्यक्रममा आएका रोहित पौड्यल र आरिफ शेखले इनिङ्स सम्हाल्दा नेपालले जित निकाल्न सक्यो । उक्त खेलमा पनि नेपालका भरपर्दा ब्याट्सम्यान दिपेन्द्र र कुशल चल्न सकेनन् । त्यसपछि नेपालले आफ्नो दोस्रो खेलमा यूएईसँग लज्जास्पद हार ब्यहोर्नु पर्‍यो । 

यूएईले दिएको १६८ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन । नेपाल ३५ ओभर १ बलमा १२० रन बनाएर अलआउट भयो । यसरी कमजोर बनेको ब्याटिङ सुधार गर्नका लागि नेपाली टोली टिकेर खेल्नु पर्ने पुर्व प्रशिक्षक जगत टमाटा बताउँछन् ।

‘हाम्रो खेलाडीहरूसँग क्षमता नभएको होइन । उनीहरूले टिकेर खेल्न जरुरी छ । नेपाललाई लामो साझेदारीको आवश्यक छ । खेलाडीको मनोबल कमजोर छैन । तर, खेलाडीहरूले जिम्मेवार भएर खेल्दा अवश्य सुधार हुन्छ,’ टमाटाले रातोपाटीसँगको कुराकानीमा भने ।

साथै टमाटाले पिचको अवस्था खेलअघि नै जानकारी हुने भएकाले खेलाडीहरूले सोही अनुसारको मानसिकता बनाएर मैदान छिर्नु पर्ने बताए । 

‘खेलअघि नै खेलाडीहरूले ब्याटिङ–बलिङ कुनको लागि पिच आवश्यक छ भन्ने बुझेका हुन्छन् । सोही अनुसारको तयारी गरेर मैदान छिर्दा सहज हुन्छ,’ टमाटाले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप